बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

भारततर्फको आयात-निर्यात घट्दा चीनतर्फ वृद्धि, चीनतर्फ निर्यात ४६.६ प्रतिशतले र आयात ३४.२ प्रतिशतले बढ्यो

आइतबार, भदौ २ २०८१
भारततर्फको आयात-निर्यात घट्दा चीनतर्फ वृद्धि, चीनतर्फ निर्यात ४६.६ प्रतिशतले र आयात ३४.२ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल वस्तु निर्यातमा तीन प्रतिशतले कमी आइ १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ। 

समीक्षा वर्षमा कुल वस्तु आयात १.२ प्रतिशतले कमी आइ १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.० प्रतिशत र १७.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.२ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, अन्य मेशिनरी तथा पार्टस लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ।  

निर्याततर्फ भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।

आयाततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।  

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १.० प्रतिशतले कमी आइ १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १५.५ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा निर्यात-आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो। 

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ५१ अर्ब ७६ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात १ खर्ब ५४ अर्ब ४२ करोड बराबरको भएको थियो। 

वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४२.९ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.७ प्रतिशत रहेको छ।

अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुुपात क्रमशः ५४.७ प्रतिशत, ०.७ प्रतिशत र ४४.६ प्रतिशत रहेको थियो।  

समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.८ प्रतिशत, पुँजीगत वस्तुको ९.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ५३.२ प्रतिशत, ८.४ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए।


प्रकाशित : आइतबार, भदौ २ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend