शनिबार, असोज १२ गते २०८१    
images
images

सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

images
आइतबार, भदौ २ २०८१
images
images
सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला
फाइल तस्बिर

बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन्।

images
images

दाङ- पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन्। जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन्।

images
images
images

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन्। बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन्।

दाङको राप्ती गाउँपालिका-५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध भएकी राप्ती-८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो। कृषिसम्बन्धी बीउ, मल पाउँदा उनी खुशी छिन्। उनले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएकी छिन्।

उनी सहकारीमार्फत सहुलियतमा ऋण लगेर लगानी गरेको बताउँछिन्। यस वर्षमात्र घरमा खाएर बचेको चार-पाँच क्विन्टल आलु बेच्ने गरेको उनले बताइन्। आफ्नो तर्फबाट धेरै महिला दिदीबहिनीलाई पनि सहकारीमा जोड्न सफल भएको उनले बताइन्।

images

संस्थामा आबद्ध भएपछि थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले बताए। 'संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ', उनले भने। सहकारी संस्थामा मासिक पाँचसय रूपैयाँ बचत गर्दै आएको उनी बताउँछन्।

उनीजस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका-८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुशी छिन्। आवश्यक परेको बेला मल, बीउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उनी बताउँछन्। अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको उनी बताउँछिन्।

चौधरीले भनिन्, 'दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ।' दुई-चार रुपैयाँ आवश्यक परेको बेला अरुसँग हात थाप्नुभन्दा आफै कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उनले बताइन्।

उनले भनिन्, 'खाली समयमा घरमा बस्नुभन्दा कृषि पेसा आम्दानीको राम्रो स्रोत भएको छ।' उनले कृषि पेसाबाटै मासिक १०-१५ हजार रूपैयाँ बचत गर्ने गरेको बताइन्। चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेसा-व्यवसायमा जोडिन आग्रह गर्छिन्।

सोही ठाउँका सुनिताकुमारी चौधरी पनि नौ महिनादेखि सहकारीमा आबद्ध छिन्। सिसहनिया साना किसान कृषि सहकारी संस्थाबाट समयमा मल पाउने हुँदा उनले १८ कठ्ठामा मकैखेती र १४ कठ्ठमा आलुखेती गरेकी छिन् भने मकै लगाउन मेसिन, मकैको बीउ  पनि ५० प्रतिशत अनुदानमा प्राप्त गर्दै आएकी छिन्।

सिसहनिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरुङले विगत सात वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्र आबद्ध हुँदै आएको बताए। हाल संस्थामा आठ सय ४० सदस्य छन्। सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोग प्राप्त गर्दै आएको उनले बताए।

सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए। सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेसा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उनी बताउँछन्। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend