शनिबार, असोज १२ गते २०८१    
images
images

चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासन कार्यालय रामपुरको भवन

images
शनिबार, भदौ १ २०८१
images
images
चार करोड ५६ लाखमा बन्यो इलाका प्रशासन कार्यालय रामपुरको भवन

यस आर्थिक वर्षदेखि नयाँ भवनबाट कार्यालयको सेवा दिन थालिएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले जानकारी दिए।

images
images

पाल्पा- भाडाको घरबाट सेवा दिँदै आएको इलाका प्रशासन कार्यालय रामपुरले अहिले आफ्नै भवनबाट सेवा दिन थालेको छ। कार्यालयको सुविधासम्पन्न भवन निर्माण भएपछि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको छ। 

images
images
images

रामपुर नगरपालिका-५ स्थित बेझाड बजार (बजारदेखि माथिको भागमा अवस्थित) मा आधुनिक प्रविधिबाट निर्माण भएको अपांगमैत्री कार्यालय भवनसँगै पाले घर, चमेनागृह तथा कम्पाउण्ड निर्माण गरिएको छ।

यस आर्थिक वर्षदेखि नयाँ भवनबाट कार्यालयको सेवा दिन थालिएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार १४ कोठासहितको साढे दुई तलाको भवन निर्माण गरिएको छ।

'भाडाको घरमा कार्यालय सञ्चालन गर्न समस्या परिरहेको थियो, अब आफ्नै भवन बनेसँगै कार्यालयको कामकाज तथा सेवा विस्तार हुनेछ, राष्ट्रिय परिचयपत्र र राहदानी सेवा प्रदानका लागि प्रयास भइरहेको छ', प्रमुख कार्कीले भने।

images

बाँसुरी मोबाइल जेभि रामपुर-४ पाल्पाले भ्याटसहित रु चार करोड ६८ लाख ६८ हजार आठ सय ५३ बराबरको लागतमा २०८० पुस २२ भित्र सम्पन्न गर्ने गरी २०७९ असार २२ मा सम्झौता गरी थालनी गरेको थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि छ महिना म्याद थप गरी गत असारमा भवन निर्माणको काम सम्पन्न भएको हो।

सम्झौताअनुसार समयमै निर्माणको काम सम्पन्न गर्ने गरी काम भए पनि गृह मन्त्रालयबाट समयमा नै बजेट नआउँदा ६ महिना समय थप गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ। कार्यालयबाट नेपाली नागरिकता, नाबालक परिचयपत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको छ। पछिल्लो समय औसतमा दैनिक ६० नेपाली नागरिकता जारी हुने गरेको कार्यालय प्रमुख कार्की बताउँछन्।

प्रशासन कार्यालय रामपुरमा सुरु भएपछि पूर्वी पाल्पाका नागरिकले सजिलोसँग भनेकै समयमा सेवा पाइएको स्थानीय महेश पौडेलले बताए। 'भाडाको घरमा कार्यालय सञ्चाल नहुँदा साँघुरिएर भए पनि कर्मचारीले राम्रो सेवा दिनुभयो, कार्यालयको भवन व्यवस्थित बनेको छ, नयाँ भवनबाट सेवा प्रवाह थालनी भएको छ, यो देख्दा खुसी लागेको छ, पूर्वाधार व्यवस्थित बनेपछि हामी नागरिक थप सेवा पाउने छौँ भन्ने आशामा छौँ', उनले भने।

रामपुरमा प्रशासन कार्यालय नहुँदा स्थानीयले नागरिकता बनाउन, विभिन्न कामका लागि सदरमुकाम तानसेन गएर सेवा लिन चार/पाँच घण्टाको बाटो गाडीमा यात्रा गरेर सेवा लिन बाध्य थिए। गाउँको बाटो सहज नहुँदा कहिले काँही बासै बसेर काम सकाएर फर्कदा धेरै खर्चिलो र झमेला बेहोर्नुपर्ने अवस्था थियो।

पहाडको बाटो पानी पर्दा हिलाम्य सडक, ठाउँ ठाउँमा पहिरो खस्ने, सवारी साधन कमै मात्रामा तानसेनका लागि गुड्दथे । तानसेनमा होटलमा बास नबसी भरसक काम सकाएर एकै दिनमा फर्कन अप्ठ्यारो हुन्थ्यो। पहाडको यात्रा सडक व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम मोल्दै विभिन्न समस्या र बाध्यतालाई छिचोल्दै जानुपर्ने समस्या सदाका लागि पूर्वी पाल्पावासीलाई अन्त्य भएको छ।

नागरिकता बनाउन सदरमुकाम आउनजानको झन्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ।

पूर्वी पाल्पाका स्थानीयलाई सेवादिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालयको उद्घाटन गरी रामपुरमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएको हो।

कार्यालय स्थापना भएपछि भाडाको घरबाट सेवा दिँदै आएको थियो। अहिले आफ्नै भवनबाट सेवा दिन थालेपछि सहज भएको कर्मचारी बताउँछन्। यस कार्यालयबाट पूर्वी पाल्पाका रामपुर नगरपालिकासँगै पूर्वखोला गाउँपालिकाको वडा नं १ र निस्दी गाउँपालिकाको वडा नं १ देखि ६ सम्म वडाका नागरिकले सेवा लिँदै आएका छन्। रासस


प्रकाशित : शनिबार, भदौ १ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend