आइतबार, असोज १३ गते २०८१    
images
images

गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल

images
बिहीबार , साउन ३१ २०८१
images
images
गण्डकीमा १७ सय हेक्टरले खुम्चियो रोपाइँको क्षेत्रफल

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ।

images
images

गण्डकी- गत वर्ष गण्डकी प्रदेशमा कुल ९७ हजार सात सय ६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। यस वर्ष भने बर्खे धान खेतीको क्षेत्रफल घटेर ९६ हजार ५३ हेक्टरमा समेटिएको छ।

images
images
images

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म हालसम्म ९७ दसमलव ५० शून्य प्रतिशत रोपाइँ सकिएको छ।

९३ हजार छ सय ५१ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। म्याग्दी र लमजुङमा रोपाइँ सकिएको र बाँकी जिल्लामा अन्तिम चरणमा रहेको उनको भनाइ छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ।

निर्देशनालयका प्रमुख रेग्मीले धान बालीको क्षेत्रफल बर्सेनि घट्दै आएको बताए। प्रदेशको कुल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको उनको भनाइ छ। नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ।

images

निर्देशनालयको तथ्यांकअनुसार नवलपुरमा १८ हजार सात सय १६, कास्कीमा १६ हजार दुई सय २०, लमजुङमा ११ हजार आठ सय ७५, गोरखामा १० हजार एक सय ४०, तनहुँमा सात हजार छ सय ७४ हेक्टरमा क्षेत्रफलमा यस वर्ष बर्खे धान लगाइएको छ। यस्तै स्याङ्जामा १४ हजार तीन सय ९०, पवर्तमा सात हजार पाँच सय २५, बागलुङमा पाँच हजार सात सय सात र म्याग्दीमा तीन हजार आठ सय छ हेक्टर क्षेत्रफल धान खेतीले समेटेको छ।

धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको निर्देशनालयले जनाएको छ। गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन्।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ। गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ।

अघिल्लो वर्षको तुलनामा धान खेतीको क्षेत्रफल घटेपनि गत वर्ष धानको उत्पादकत्व भने बढेको निर्देशनालयका प्रमुख रेग्मीले बताए। दुई वर्षअघि प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ।

समयमै बर्सात र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्नत बिउबीजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको उनले बताए। प्रतिकूल मौसम, मल अभाव, कमसल बिउबीजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको छ।

धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको निर्देशनालयका प्रमुख रेग्मीले भनाइ छ। जग्गा बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमिनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए।  

'सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले थोरै क्षेत्रफलमा पनि धेरै धान फलाउन सक्छन्', निर्देशनालयका प्रमुख रेग्मीले भने। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend