आइतबार, असोज १३ गते २०८१    
images
images

एक अर्ब १३ करोड लागतको ढल्केबर-लोहारपट्टी प्रसारण लाइन सञ्चालनमा

images
बिहीबार , साउन ३१ २०८१
images
images
एक अर्ब १३ करोड लागतको ढल्केबर-लोहारपट्टी प्रसारण लाइन सञ्चालनमा

१३२ केभी क्षमताको प्रसारण लाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो।

images
images

काठमाडौं- धनुषा, महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ।

images
images
images

धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। ढल्केबर-लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याइएको छ।

धनुषा र महोत्तरीको विद्युत् आपूर्ति प्रणाली सुधार, बढ्दो विद्युत् माग व्यवस्थापन र विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब एक अर्ब १३ करोड लगानीमा आयोजना निर्माण गरिएको हो। डबल सर्किट प्रसारण लाइनको लम्बाइ २३ किलोमिटर छ। प्रसारण लाइनका लागि ९१ टावर निर्माण भएका छन्।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई थान पावर ट्रान्सफर्मर थान र १३२/११ केभी, २२ दशमलव पाँच एमभीए क्षमताको एक थान ट्रान्सफर्मर छन्। समग्रमा सबस्टेसनको क्षमता ८२ दशमलव पाँच एमभीए छ। 

images

सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि मुख्यरुपमा जनकपुर, जलेश्वर, गौशाला र यदुकुवा वितरण केन्द्रअन्तर्गतका करिब डेढ लाख ग्राहक लाभान्वित हुनेछन्। अब त्यस क्षेत्रको चुहावट कम हुने, न्यून भोल्टेज तथा छिनछिनमा विद्युत् विच्छेद (ट्रिपिङ) लगायतका समस्या समाधान भइ समग्रमा विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने प्राधिकरण मधेस प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले बताए।

यसअघि उक्त क्षेत्रमा ढल्केबरबाट जनकपुरको मुजलिया हुँदै विद्युत् आपूर्ति हुँदै आएको थियो। लाइन लामो र क्षमताले नधान्दा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थिए। 

स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका चार फिडर निकाल्न सक्नेगरी संरचना तयार गरिएको छ। यस्तै ३३ केभीका दुई फिडर जलेश्वर, एक गौशाला र एक जनकपुर क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्रयोग गरिनेछ। यसमध्ये जनकपुरतर्फको एक फिडर निर्माण सम्पन्न गरी चालु गरिएको छ। 

लोहारपट्टी सबस्टेसन वरपरका क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर लाइन निकाल्नसक्ने व्यवस्था गरिएको छ। त्यसमध्ये दुई फिडर निर्माण सम्पन्नगरी सञ्चालनमा ल्याइएको छ।

प्रसारण लाइन आयोजना करिब तीन वर्षअघि सुरु गरिएको थियो। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend