शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा बागलुङका चिस्यान केन्द्र

images
बुधबार, साउन ३० २०८१
images
images
किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा बागलुङका चिस्यान केन्द्र

सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महँगो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ। चिस्यान केन्द्रले फाइदाभन्दा बढी घाटा पुर्‍याएको किसानको गुनासो छ।

images
images

बागलुङ- सुन्तला र आलुको मूल्य दोबर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन्।

images
images
images

तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए। ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा पुगेका हुन्।

images

बागलुङ नगरपालिका-८ सिगाना र काठेखोला गाउँपालिका-६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका-३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन्।

images

प्राविधिक ज्ञानबिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताए। सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महँगो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ।

तीन वर्षअघि गण्डकी प्रदेशको २१ लाख रूपैयाँ र गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको १० लाख रूपैयाँ लागत गरी ३१ लाख रूपैयाँमा बागलुङ-८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेका छैनन्।

सुन्तलालाई बेमौसममा महँगो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो। सहकारीमा आबद्ध किसानले हालसम्म दुई लाख रूपैयाँ विद्युत् महसुलमात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका किसान खड्काले बताए। पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छोडेको उनले उल्लेख गरे। 

चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक तीन हजार रूपैयाँ विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएका जानकारी दिए।

'किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारीमार्फत किसानले लगानी गरेका थिए। अहिले लगानी खेर जाने अवस्था आएको छ, विद्युत् महसुल तिर्दै केन्द्र सञ्चालन गरिराख्न आर्थिक अभाव भएपछि विद्युतको मिटर निकालियो', अध्यक्ष खड्काले भने, 'किसानलाई नाफा होला भनेर स्थापान गरेको केन्द्रबाट नोक्सानी मात्र भयो। अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रुपमा तापक्रम मिलाउन सिकाइएको छैन। यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ।'

उनले चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निराश बनेका बताए। बिस टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि दुई वर्षयता केन्द्र सञ्चालन नगरिएको अध्यक्ष खड्काले बताए। केन्द्रको हालै विद्युत् काट्न किसान बाध्य भएका उनले जानकारी दिए।

यस्तै, काठेखोला गाउँपालिका-६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ। पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशंकर कँडेलले जानकारी दिए। उनले चिस्यान केन्द्र निर्माणमा सात लाख रूपैयाँको जग्गा खरिद गरी तारबार गरेको बताउँदै रु ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी दिए। 

'पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए। विद्युतको महसुल मात्रै ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्षदेखि सुन्तला राख्न छोडेका छौँ। अहिले सहकारीले मासिक रु तीन हजार विद्युत् महसुल तिर्दै आएको छ', कँडेलले भने, 'किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युतको रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ।'

अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गरे। चिस्यान केन्द्र बागलुङमा मात्रै नभइ अन्य स्थानमा पनि सफल नभएको अध्ययन/अवलोकनका क्रममा पाएको उनले बताए।

काठेखोला गाउँपालिका-३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युतको महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले बताए। एक वर्ष विद्युत् महसुल काठेखोला गाउँपालिकाले तिरे पनि दुई वर्षदेखि सहकारीले महसुल तिर्दै आएको उनले जानकारी दिए।

आलु राख्दा मासिक ४० हजार रूपैयाँसम्म विद्युतको रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु भण्डारण गरी राख्दा नोक्सानी भएको काठेखोला-३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताए। पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउ मात्रै भण्डारण गर्न थालेका उनले जानकारी दिए। खाने आलु बिग्रिएपछि बीउका लागि भण्डारण गरिएको बताउँदै परिमाण कम भएकाले विद्युत् महसुल तिर्न समस्या भएको विकले बताए।

जिल्लामा रहेका तीनवटै चिस्यान केन्द्रमा आलु र सुन्तला भण्डारण गर्दा सुरक्षित नभएको, विद्युतको रकम बढी भएकोलगायत अवस्था आएको किसानले गुनासो गरेका छन्। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८११३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend