आइतबार, कात्तिक ११ गते २०८१    
images
images

जनतालाई मालिक बनाउने अर्को पहलस्वरुप आईएमई छिटै पब्लिकमा लैजाँदैछौँ

images
बुधबार, साउन ३० २०८१
images
images
जनतालाई मालिक बनाउने अर्को पहलस्वरुप आईएमई छिटै पब्लिकमा लैजाँदैछौँ
images
images

आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ हुने आजको यस विशेष क्षणमा आईएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु। सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आईएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन। सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन।

images
images
images

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो। 

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म हुन पुगेको हो। 

images

नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आईएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ। त्यतिमात्र होइन आईएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ। पैसा पठाउने भनेको आईएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ। हाम्रा लागि योभन्दा खुसीको कुरा अर्काे के होला?  

images

हामीले आईएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन। डलर कारोबारको अनुमति सहज थिएन। सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रुपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो।

निस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आईएमईले पुष्टि गरि सकेको थियो। 

मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य तीनवटा सूत्र छन्।

पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय। दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रुपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ।

त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ। यही विश्वास र यही सूत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ। हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्‍भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्व छ। 

एक करोड चुक्ता पुँजीको आईएमई अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ। यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जनभन्दा बढी क्षेत्रमा लगानी विस्तार गरेको छ। रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ।

आईएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केबलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन्।

आईएमई सुरुवातको समय करिब २० प्रतिशतमात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आईएमईको योगदान अवश्य धेरै नै छ। नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ।

हामीले आईएमई सुरु गर्दा वार्षिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ। अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ।अहिले आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू हुनुहुन्छ। लाखौँ सेवाग्राही हुनुहुन्छ। 

हामीले आईएमईलाई चाडै नै पब्लिकमा लैजाँदैछौँ। जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो। 

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरूको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ। अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ। राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस्। यी नीतिहरूको कार्यान्वयनमा हामी सदैव पहिलो पक्तिमै उभिने गरेका छौँ। यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ।

त्यसको फलस्वरुप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूको संगमसहित नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक बनेको छ। अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ। त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ। 

हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीहरूबिच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ। हामीलाई विश्वास छ आगामि दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ। 

रेमिट्यान्सको आकार बढेको छ। डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ। यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छौँ। यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ। 

(आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ समारोहमा आईएमई ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राखेको मन्तव्य)


प्रकाशित : बुधबार, साउन ३० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend