काठमाडौं- उदार अर्थतन्त्रमा विशेषत: दुई प्रकारका कम्पनी हुन्छन्। बाटो बनाउने र हिँड्ने। एकथरीले उद्योग व्यवसायमा नयाँ प्रयोग गर्दै व्यवसायको भविष्य देखाउँछन् भने अर्कोथरी सोही बाटोमा हिँड्छन्।
कोष व्यवस्थापनको क्षेत्रमा एनआइएमबि एस क्यापिटल बाटो बनाउने वर्गमा पर्छ। स्थापनाको १२ वर्षमा यसले प्रत्येक बिन्दुमा कीर्तिमानसँगै यात्रा पार गरेको छ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले पहिलोपटक सन् २०१३ मा ६९ करोड ९० लाख रुपैयाँको मेगा बैंकको आईपीओ संयुक्त रुपमा व्यवस्थापन गरेको थियो।
सन् २०१४ मा यस कम्पनीले एक अर्ब रुपैयाँ योजनाको आकार रहेको बन्दमुखी योजना (क्लोज इन्डेड म्युचुअल) जारी गरेको थियो। त्यस्तै २०१५ मा यसले नेपालकै ठूलो एफपीओ ३३ करोड २० लाख रुपैयाँको जारी गरेको थियो। त्यस्तै सन् २०१६ मा नेपालमा विभिन्न प्रकारका म्युचअल फण्ड जारी गर्ने क्यापिटल बनेको थियो।
सन् २०१७ मा यसले आफ्नो सेवा विस्तार गर्दै शाखा खोलेको थियो, नेपालमै पहिलोपटक यसले सञ्जाल विस्तार गरेको थियो। २०१८ मा यो मर्चेन्ट बैंकिङमा नेपालमै पहिलोपटक एस क्यापिटलसँग मर्ज भएको थियो। यो मर्जर आफैमा अन्य कम्पनीका लागि प्रेरणादायी थियो।
२०२१ मा यसले नेपालकै सबैभन्दा ठूलो आईपीओ प्रबन्धन गरेको थियो। नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) को ८ अर्ब रुपैयाँको आईपीओ यसले जारी गरेको थियो।
सन् २०२२ सम्म पुग्दा एसेट म्यानेजमेन्ट र म्युचुअल फण्ड म्यानेजमेन्टमा यसले अर्को रेकर्ड बनायो। सन् २०२३ मा यसले मेगा क्यापिटललाई अक्वाएर गरेर नेपालकै ठूलो क्यापिटल बन्यो।
धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ।
हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्न सफल रहेको जनाएको छ।
हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरेको एनआइएमबिले ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै दुईसयभन्दा बढी आईपीओ/एफपीओ जारी गर्न सफल रहेको जनाएको छ।
एनआइएमबि एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ।
यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड-एनआईबीएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्छ। एनआइएमबिका अनुसार हालसम्म एनआईबीएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ।