सोमबार, असोज १४ गते २०८१    
images
images

वन्यजन्तु आतंकले काभ्रेका किसानलाई बाली जोगाउनै मुस्किल

images
मंगलबार, साउन २९ २०८१
images
images
वन्यजन्तु आतंकले काभ्रेका किसानलाई बाली जोगाउनै मुस्किल

हाल भुम्लु गाउँपालिकाको १, २, ३, ४, ९ र १० वडाका खेतबारीमा बँदेल पसेर अन्नबालीमा क्षति पुर्‍याइरहेको स्थानीयवासीको भनाइ छ ।

images
images

काभ्रेपलाञ्चोक- वन्यजन्तुले बालीमा क्षति पुर्‍याएपछि यहाँको भुम्लु गाउँपालिका-९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन्। बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन्।

images
images
images

वन्यजन्तुबाट अन्नबालीमा मात्र नभइ मानिसलाई समेत खतरा भएपछि उनीहरु वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन्। वडाध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताए। 'विशेषगरी साँझ-बिहान स्यालको आतंकले एक्लै हिँड्नै गाह्रो हुँदै गएको छ', उनले भने।

उनका अनुसार बाँदर, स्याल, दुम्सी र बँदेलको समस्या धेरै देखिएको छ। कोशी पूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकामा मकैबालीमा बाँदरको आतंक धेरै छ। स्यालको सङ्ख्या पछिल्लो समय वृद्धि भएकाले समस्या समाधान गर्न नसकिएको तामाङले बताए। उनले यस विषयमा गाउँपालिकामा निवेदन दिएको र गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने आश्वासन प्राप्त गरेको जानकारी दिए।

केही वर्षअघिसम्म प्लास्टिकको बन्दुक पड्काएर बाँदरलगायत वन्यजन्तु भगाउने गरिएकामा हाल सोही खालका बन्दुक पड्काउँदा पनि बाँदर अटेर गर्ने गरेको स्थानीय रमेश खरेलले बताए। तत्काल वन्यजन्तु समस्याको समाधान खोज्नुपर्ने उनी बताउँछन्। हाल भुम्लु गाउँपालिकाको १, २, ३, ४, ९ र १० वडाका खेतबारीमा बँदेल पसेर अन्नबालीमा क्षति पुर्‍याइरहेको स्थानीयवासीको भनाइ छ । 

images

गत चैतमा काभ्रेपलाञ्चोककै पनौती नगरपालिका-५ सुब्बा गाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पुर्‍याएपछि स्थानीयले राति खेतमै बास बसेर कुरेको स्थानीय बुद्धिबहादुर थापाले बताए। मल र बीउको अभावमा रोपिएको आलु क्षति हुँदा यहाँका किसान मारमा छन्।

गतवर्ष पनौती नगरको कुशादेवी क्षेत्रमा बाँदरले स्थानीयलाई दुःख दिएको थियो। विसं २०८० असारमा मण्डनदेउपुर नगरपालिका-९ स्थित रायोबारीमा चितुवाले योग गंगा वाइल्ड एण्ड च्याटल फार्मका तीन सय ५० कालिज मारेको थियो। सोही समयमा नगरको १ नं वडास्थित नगरकोट हलेदेमा बँदेलले सयौँ रोपनी जमिनको मकै सखाप पारेको थियो। बँदेलबाट अन्नबाली जोगाउन स्थानीय रातभरी आलोपालो कुरुवासमेत बस्ने गरेका छन्। स्थानीय दीपक बस्ताकोटीका अनुसार बँदेल आतंकले गाउँलेसमेत घरमा बस्न डराउँछन्।

अघिल्लो वर्ष नगरको १२ वडामध्ये ८ र ९ बाहेक सबै वडामा बाँदरले अन्नबालीमा क्षति पुर्‍याएको थियो। त्यसवर्ष नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयलाई बाँदर धपाउने १५ थान यन्त्र उपलब्ध गराएको थियो। पाँचखाल नपा-१३ कोशीदेखाका बासिन्दा पाँच वर्षदेखि बँदेल र बाँदर आतंकबाट आजित छन्। स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको बताए।

स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोखे पनि समाधानको उपायबारे सहयोग नपाएको थपलियाको गुनासो छ। बनेपा नपा-३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जंगली जनावर बढ्दै गएको बताउँछन्। उनी भन्छन्, 'वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन्।'

स्थानीय शिक्षक तुलाप्रसाद दाहाल बँदेल भगाउन बारीमा रेडियो बजाएर राखेको अनुभव सुनाउँछन्। धुलिखेल नगरपालिका-१ देवीटारकी किसान सरस्वती घोरासैनी दुम्सीको क्षतिबाट हैरान छन्। 'दुम्सीले बारीको काँक्रो र तरकारीका बोटनै सखापै पार्छ, अहिले पनि बालीमा क्षति पुर्‍याउँछ कि भन्ने जोखिम छ', उनले भने।

डिभिजन वन कार्यालय धुलिखेलका अधिकृत न्हुच्छे श्रेष्ठले जिल्लाका अधिकांश वनभित्र बँदेलको सङ्ख्या वृद्धि भएकाले किसानसँगद्वन्द्व बढेको बताए। उनले भने, 'नीतिमै परिवर्तन नगरेसम्म जंगली जनावरको आतंक न्यूनीकरण गर्न सकिँदैन।' 

उनका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नभएपनि क्षतिपूर्ति दिने काम भइरहेको छ। गएको १४ वर्षमा जिल्लामा जंगली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र छ जना घाइते भएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend