बिहीबार , असोज ३ गते २०८१    
images
images
विद्युतीय बस खरिदमा इटहरी उपमहानगरको बदमासी

एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला

images
मंगलबार, साउन २९ २०८१
images
images
एजेन्ट कम्पनी खडा गरेर ४ वटा विद्युतीय बसमा १ करोड ४० लाख घोटाला

उक्त विद्युतीय बस भन्सार चाँजपासअघिको मूल्य (सीआईएफ भ्यालू) ५ लाख ५० हजार ३ सय ८० चिनियाँ युआन अर्थात १ करोड १ लाख ८२ हजार ३० रुपैयाँ रहेको छ।

images
images

इटहरी- इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको पाइएको छ।

images
images
images

उपमहानगरले गएको कात्तिक २३ गते चारवटा ठूला विद्युतीय बस खरिद गर्न भन्दै टेन्डर गरेको थियो। उक्त टेन्डरमार्फत प्रक्रिया सुरु गरेर चारवटा विद्युतीय बस हालै नेपाल भित्रिएको हो। 

झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस खरिदको टेण्डर नेसनल फायर सेफ प्रालिले पाएको थियो। नेपालको अटोमोबाइल व्यवसायमा यो कम्पनीको यसअघि कतै सहभागिता रहेको देखिँदैन। स्पेसिफिकेसन बनाउँदादेखि नै इटहरी उपमहानगर र उक्त कम्पनीबीच सेटिङ रहेको देखिएको छ। 

इटहरी उपमहानगरले किनेको चारवटा विद्युतीय बसको आधिकारिक आयातकर्ता भने स्पार्क अटोमोटिभ्स प्रालि रहेको भन्सारमा पेश गरेको कागजातमा उल्लेख छ। स्पार्क अटोमोटिभ्सले आफै विद्युतीय बसको टेण्डरमा सहभागी नभएर तेस्रो कम्पनी खडा गरेको देखिन्छ। यसले गर्दा इटहरी उपमहानगर र गाडी आपूर्तिकर्ताबीच सुरुदेखि नै ‘मिल्नेगरी’ काम गर्ने सहमति भएको प्रष्टै हुन्छ। 

images

स्पार्क अटोमोटिभ्सले नेसनल फायर सेफ प्रालिमार्फत इटहरी उपमहानगरका लागि ल्याएको २५ सिट क्षमताको विद्युतीय बस प्रतिबस ५ लाख ५० हजार ३ सय ८० चिनियाँ युआन अर्थात १ करोड १ लाख ८२ हजार ३० रुपैयाँमा खरिद गरेको छ। उक्त बस इटहरी उपमहानगरपालिकालाई १ करोड ५९ लाख २१ हजार ७ सय रुपैयाँमा बिक्री गरेको छ। उपमहानगरले भ्याटसहित प्रतिबस १ करोड ५९ लाख २१ हजार ७ सय रुपैयाँमा नेसनल फायर सेफ प्रालीसँग खरिद सम्झौता गरेको थियो। 

उक्त विद्युतीय बस भन्सार चाँजपासअघिको मूल्य (सीआईएफ भ्यालू) ५ लाख ५० हजार ३ सय ८० चिनियाँ युआन अर्थात १ करोड १ लाख ८२ हजार ३० रुपैयाँ रहेको छ। 

सरकारले ठूला विद्युतीय बसमा न्यून भन्सार दर लाग्ने व्यवस्था गरेको छ। मास ट्रान्सपोर्ट (ठूला सार्वजनिक सवारी)लाई प्रवर्द्धन गर्ने नीति लिएकाले यस्ता सवारीमा कम कर लगाउँदै आएको छ। सोहीकारण ठूला विद्युतीय बसमा एक प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक सम्भार दस्तुरमात्र लाग्ने व्यवस्था छ। 

सोहीअनुसार इटहरी उपमहानगरपालिकाले खरिद गरेको र स्पार्क अटोमोटिभ्सले आयात गरेको सो विद्युतीय बसमा पनि एक प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक सम्भार दस्तुरमात्र लाग्छ। यो बसमा अन्तःशुल्क लाग्दैन। १ प्रतिशत भन्सार शुल्क बापत सो बसमा १ लाख १ हजार ८ सय २० रुपैयाँ सरकारलाई कर लाग्छ। भन्सारपछि उक्त बसको मूल्य १ करोड २ लाख ८३ हजार ८ सय ५० रुपैयाँ हुन्छ। 

यो मूल्यमा १३ प्रतिशत भ्याट लाग्दा भ्याटबापत १३ लाख ३६ हजार ९ सय रुपैयाँ पर्छ। भ्याटपछि उक्त बसको मूल्य १ करोड १६ लाख २० हजार ७ सय ७० रुपैयाँ र यसमा सडक मर्मत दस्तुर ५ लाख ८१ हजार ३७ रुपैयाँ पर्छ। सबै कर तिरिसक्दा एउटा विद्युतीय बसको मूल्य १ करोड २२ लाख १ हजार ८ सय ७ रुपैयाँ हुन्छ। 

स्पार्क अटोमोटिभ्सले आयात गरेर इटहरी उपमहानगरले किनेको दुईवटा विद्युतीय बसको खरिद प्रक्रियामा नेसनल फायर सेफ प्रालि ‘एजेन्ट कम्पनी’का रुपमा मात्र खडारिएको देखिन्छ। सो एजेन्ट कम्पनी नेसनल फायर सेफ प्रालिले इटहरी महानगरपालिकाले उक्त बस भ्याटसहित १ करोड ५९ लाख २१ हजार ७ सय रुपैयाँमा बिक्री गरेको छ।

एजेन्ट कम्पनीले इटहरी उपमहानगरलाई बिक्री गरेको गाडीमा प्रतिविद्युतीय बस ३७ लाख रुपैयाँ धेरै राखेको छ। यसमा कम्पनीको केही लाख रुपैयाँ खर्च लागेपनि नेसनल फायर सेफ प्रालिले प्रतिविद्युतीय बस ३५ लाख रुपैयाँभन्दा बढी नाफा असुल गरेको छ। 

हालसम्म नेपालमा भएका सबै गाडी खरिद टेण्डरमा न्यून मूल्यमै पर्ने गरेको छ। तर इटहरी उपमहानगरपालिकाले गरेको टेण्डरमा भने अधिक नाफा राखिएको पाइएको हो। उपमहानगरले नगरबासीलाई सेवा दिन भनेर ल्याएको बसमा नगरबासीकै करको रकममा ठूलो घोटाला भएको छ। 

इटहरी उपमहानगरले २०८० कात्तिक ३ मा टेण्डर आह्वान गरेको र माघ १९ मा नेसनल फायर सेफ प्रालिलाई टेण्डर दिएर सम्झौताको लागि बोलाएको थियो। कम्पनीले फागुन २ गते सम्झौता गरिपाउँ भनी उपमहानगरमा निवेदन दिएको थियो। २०८० फागुन ८ गते इटहरी उपमहानगरपालिका र नेसनल फायर सेफ प्रालिबीच सम्झौता भएको इटहरी उपमहानगरको सार्वजनिक सूचना निकालेको मेसिनरी औजार व्यवस्थापन शाखाका प्रमुख गणेश भट्टराईले बताए।

चारवटा २५ सिट क्षमताको विद्युतीय बस खरिद गर्न भ्याटबाहेक ६ करोड ८ लाख ८४ हजार ९ सय ५५ रुपैयाँमा टेण्डर भएको र भ्याटसहित ६ करोड ३६ लाख ८६ हजार ८ सय रुपैयाँमा ४ वटा विद्युतीय बस किनिएको हो। उक्त टेन्डरमा एनईभी नेपाल प्रालि, नेसनल फायर सेफ प्रालिलगायत तीन कम्पनी प्रतिस्पर्धामा थिए।

स्थानीयलाई सार्वजनिक यातायातको सुविधा बढाउनको लागि विद्युतीय सवारी खरिद गरेको उपमहानगरपालिका प्रशासनले उल्लेख गरेको छ। पेट्रोलियम सवारीमा दैनिक सञ्चालन खर्च बढी आउने भएपछि विद्युतीय गाडी खरिद गरिएको हो। 

उपमहानगरपालिकाले चार्जिङ स्टेसनको निर्माणलगायतको तयारी गरिरहेको छ। गाडी गुडाउने रुट तयार पार्न एक समिति नै गठन गरेको उपमहानगरपालिकाले असोज १ गतेदेखि चारवटा विद्युतीय नगरबस चलाउने तयारी गरेको छ। 


प्रकाशित : मंगलबार, साउन २९ २०८१०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend