बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नबिल बैंकले बोलायो विशेष साधारणसभा, अग्राधिकार सेयर जारी गर्ने

सोमबार, साउन २८ २०८१
नबिल बैंकले बोलायो विशेष साधारणसभा, अग्राधिकार सेयर जारी गर्ने

बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

काठमाडौं- नबिल बैंक लिमिटेडले अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रमुख एजेण्डासहित विशेष साधारण सभा डाकेको हो।

बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो। बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।  

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका एजेण्डाहरु पारित गर्ने छ।

राष्ट्र बैंकले पुँजीकोषमाथिको दबाब कम गर्न भन्दै गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको हो। 

नबिल बैंकले गत चैतमा नै अग्राधिकार सेयर जारी गर्नका लागि राष्ट्र बैंकसँग अनुमति माग गरेको थियो। तर अग्राधिकार सेयर सम्बन्धि पर्याप्त व्यवस्था नभएको भन्दै राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत अग्राधिकार सेयर जारी गर्न बैंक वित्तीय संस्थाहरुलाई अनुमति दिएको थियो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि अग्राधिकार सेयर लगायत पुँजीकोष बढाउने बैकल्पिक उपकरण जारी गर्न प्रोत्साहन गरिने उल्लेख छ। अग्राधिकार सेयर जारी गर्दा हुनसक्ने कानुनी जटिलता हटाउँदै सेयर जारी गर्नका लागि नबिल बैंकले विशेष साधारणसभा आव्हान गरेको हो। 

अग्राधिकार सेयर जारी गर्दा लाभांश वितरण गर्ने वा नगर्ने भन्ने अधिकार सम्बन्धित बैंक वित्तीय संस्थाहरुका लागि हुने र लाभांशको दर विवतरणपत्रमा स्पष्टरुपमा खुलाउनुपर्ने परिपत्र राष्ट्र बैंकले जारी गरिसकेको छ। 

साथै अग्राधिकार सेयर लगानीकर्तालाई सम्बन्धित वर्षको नाफाबाट मात्रै लाभांश वितरण गर्नुपर्ने, घाटा भएको वर्ष लाभांश वितरण गर्न नपाइने र संस्थाको सञ्चित कोष वा कुनै पनि कोषबाट लाभांश वितरणमा रोक लगाइएको छ। 

राष्ट्र बैंकले अग्राधिकार सेयरलाई प्राथमिक पुँजीकोषमा समायोजन गर्न दिने व्यवस्था गरेको छ। तर यसका लागि ५.१२५ प्रतिशतको ट्रिगर बिन्दु तोकेको छ।

बैंकहरुको प्राथमिक पुँजीकोष घटेर ट्रिगर पोइन्ट ५.१२५ प्रतिशत बिन्दुभन्दा कम भएमा जारी अग्राधिकार सेयरलाई प्राथमिक पुँजीमा समायोजन गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ।

इजाजतपत्र संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा निहित जोखिम तथा ट्रिगर बिन्दुपश्चात हुने अपेक्षित परिणामबारे प्रष्टरुपमा खुलाएर रिक्स डिसक्लोजर स्टेटमेन्ट तयार पार्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

यस्तै संस्था खारेजी परेको अवस्थामा  अग्राधिकार सेयर लगानीकर्ताको भुक्तानी साधारण सेयरभन्दा अगाडि भएपनि पुरक पुँजीकोषमा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं साधारण साहुको दायित्वपछि मात्रै हुने प्रष्ट व्यवस्था गरेको छ। 

अग्राधिकार सेयर जारी गर्ने अनुमति  क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१४ लागु भएका इजाजतपत्र प्राप्त संस्थाले मात्रै पाउने  व्यवस्था गरिएको छ। अग्राधिकार सेयरनागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष, बीमा कम्पनीहरु र सैनिक कल्याणकारी कोष लगायतले बैंकको अग्राधिकार सेयर खरिद पाउने छन्। सर्वसाधारण लगानीकर्तालाई खरिद गर्न भने वञ्चित गरिएको छ। 


प्रकाशित : सोमबार, साउन २८ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend