सोमबार, असोज १४ गते २०८१    
images
images

झोलुंगे पुलले बढाए पर्यटक

images
आइतबार, साउन २७ २०८१
images
images
झोलुंगे पुलले बढाए पर्यटक

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्षअगाडि निर्माण भएको लामो झोलुंगे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ।

images
images

बागलुङ- झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन्। झोलुंगे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ। जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन्।

images
images
images

आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ वटा झोलुंगे निर्माण भएका हुन्। पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ। बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुंगे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन्।

विसं २०७७ देखि बागलुङ नगरपालिका-१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका-१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभइ बाह्य पर्यटक तान्न थालेको छ।

‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ। गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका-४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका-८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो। यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन्। जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

images

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुंगे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ। बजारसम्म मात्रै नभइ यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुर्‍याउन मद्दत पुर्‍याएको छ। पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए।

पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ। 'पुलले बागलुङको पहिचानलाई उँचो बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवर्द्धन सुरु गरेको छ',  खड्काले भने, 'पुलले टाढा-टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ।'

बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुंगे पुल छन्। एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका-२ का नरबहादुर विकले बताए। यसैवर्ष तमानखोलाको भयरबोंगामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उनको भनाइ छ। यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनले सुनाए।

विकले भने, 'यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरु घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ।'

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्षअगाडि निर्माण भएको लामो झोलुंगे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ। पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिए।

तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो। पुलमा दैनिक दुईसयभन्दा बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन्।

बुर्तिबाङ-बोंगादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उनले बताए। पुल दुई सय ४३ मिटर लामो छ। पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ। पुल निर्माणपछि ढोरपाटन नगरपालिका-३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend