सोमबार, असोज १४ गते २०८१    
images
images

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

images
आइतबार, साउन २७ २०८१
images
images
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

अब चुहावटलाई एकल अंकमा झार्ने लक्ष्य राखेर विद्युत प्राधिकरणले काम अगाडि बढाएको छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ।

images
images
images

आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको छ। विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ। आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो।

विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत र २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो।

आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो। त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो।

images

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा सफलता हासिल गरेको बताए। कार्यकारी निर्देशक घिसिङले ‘लोडसेडिङ’ अन्त्य भइ नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।

'प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रुपमा अर्बौँ रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटी यो अनुपात छिमेकी देशहरुभन्दा कम भएको छ', कार्यकारी निर्देशक घिसिङले भने।

चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रूपैयाँ थप आम्दानी भएको छ। नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेको प्राधिकरणको भनाइ छ। अब चुहावटलाई एकल अंक (सिंगल डिजिट)मा झार्ने लक्ष्य राखेर काम अगाडि बढाइएको छ।

आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा एक अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाएको थियो। त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रूपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रूपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित नाफामा पुगेको छ।

ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो।

घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ।

प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिइ सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend