शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुंगे पुल सञ्चालनमा

images
आइतबार, साउन २७ २०८१
images
मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुंगे पुल सञ्चालनमा

झोलुंगे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको छ।

images
images

गण्डकी- पोखरा महानगरपालिका-३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुंगे पुल सञ्चालनमा आएको छ। 

images
images
images

वर्षौँदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ। मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो।

images
images

पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताए। झोलुंगे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको उनले जानकारी दिए।

images
images

गण्डकी प्रदेश सरकारको एक करोड सात लाख रूपैयाँको लागतमा उक्त झोलुंगे पुल निर्माण भएको पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए। पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयको आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज भएको उनको भनाइ छ।

मर्मत नहुँदाको सास्ती

दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुंगे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन्। 

उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताए। नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो।

संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गरे। यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उनले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिए।

पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताए।

पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा-३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट ३२ लाख रूपैयाँ बजेट विनियोजन भएको जानकारी दिए। पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend