मंगलबार, असोज १५ गते २०८१    
images
images

वर्ष ५१, कक्षा ९ : पढाइ छाडेको २९ वर्षपछि विद्यालय टेकेका नवीनको चिकित्सक बन्ने धोको

images
बिहीबार , साउन २४ २०८१
images
images
वर्ष ५१, कक्षा ९ : पढाइ छाडेको २९ वर्षपछि विद्यालय टेकेका नवीनको चिकित्सक बन्ने धोको

एसएलसीमा फेल भएपछि पढाइ छाडेका नवीनले करिब २९ वर्षपछि पुन: पढाइ थालेका हुन्। चिकित्सक बनेर सबैको सेवा गर्ने उनको धोको छ।

images
images

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिका-२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुगे। दुई छोरा र एक छोरीलाई हुर्काइसकेका नवीनको अब छोराछोरीको कमाइ खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन।

images
images
images

पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसकेका उनलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना भएका छन्।

पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका-६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना भएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थालेका हुन्।

images

'अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,' उनले भने, 'शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ।' सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उनलाई दुःख लाग्ने गरेको छ।

images

बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताए तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उनको भनाइ छ।

'जसले जे-जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ', उनले भने, 'अनुशासित भएर पढ्छु र राम्रोसँग एसईई पास गरेर प्लस टुमा साइन्स र सकेदेखि ब्याचलरमा एमबीबीएस पढ्छु भन्ने लागेको छ।' विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छाडेका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थालेका हुन्।

कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ छ। 'गएको बैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भने, 'बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ।'

कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै संगत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उनी बताउँछन्। 'नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबीबीएस पूरा गर्छु', उनले भने, 'त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ।'

उनलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ। 'मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्दैछ,' उनले भने, 'इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ।' विद्यालय र कक्षाकोठामा सहपाठीले अंकल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउँछन्।

घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन्।

विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए।

'विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,' प्रधानाध्यापक आर्चायले भने, 'उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ।'

कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend