शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

डोरी बेचेरै परिवारको जीविका चलाउँछन् ८० वर्षीय बन्धु राना

images
बिहीबार , साउन २४ २०८१
images
डोरी बेचेरै परिवारको जीविका चलाउँछन् ८० वर्षीय बन्धु राना

उनले परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ३० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ। उनले परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ३० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

images
images
images

बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने(बनाउने) गरेका छन्। डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन्।

images
images

एउटै डोरी दुई सयदेखि पाँचसय रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। 'घरमै बसेर डोरी तयार गर्छौँ', उनले भने, 'तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुर्‍याएर बिक्री गर्दै आएको छु।'

images
images

दैनिक एक हजार रूपैयाँजतिको डोरी बिक्री हुने गरेको उनी बताउँछन्। डोरी बेच्नकै लागि विहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेरमात्रै घर फर्कने गर्दछन्। डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथलगायत बनाउने गर्दछन्। सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ।

गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताए। डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन्। 'धेरै परिवार हँदा आर्थिक अभाव सधैँ भइरहन्थ्यो', उनले भने, 'त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हँदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके। पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो। खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे। जबदेखि बजारमा प्लाष्टिकका डोरी आए त्यसपछि किसानले जुट र सनपाटको खेती गर्न छाडे।'

जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिकका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनी बताउँछन्। व्यावसायिकरुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उनको भनाइ रहेको छ।

घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन्। बिवाह गरेको दुई वर्षमै श्रीमतीको देहावसान भएपछि रानाले दोस्रो बिवाह भने गरेका छैनन्। जेठो दाजुको घरमा उनी बस्दै आएका छन्।

डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन्। 'मोटरसाइकल किन्न थोरै रकम मैले जुटाएँ', डुठ्ठा रानाले भने, 'दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे।'

परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ। 'घरमा ठुलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनुहुन्छ', उनले भने, 'स-सानो काममा भने पैसा दिन कञ्जुस्याइँ गर्नुहुन्छ। उमेर छँदा डोरी बेचेर महिनामै ५०/६० हजार रूपैयाँसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाइ पनि घटेको छ।'

घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएका छन्। आफूलाई चाहिने खर्च अरुसँग मागेको अहिले सम्म नदेखेको डुठ्ठा बताउँछन्।

'हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ। उहाँले अहिले सम्म हामीसँग पैसा माग्नु भएको छैन', उनले भने।

पूर्व वडाध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउँछन्। उनी भन्छन्, ,'व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नुपर्ने हुन्छ।' रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८१११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend