शनिबार, असोज ५ गते २०८१    
images
images

छलफल बिनै अघि बढाइएको खाद्य स्वच्छता तथा गुणस्तर कानून संशोधन भए उद्योग व्यवसाय चल्दैन : महासंघ 

images
बुधबार, पुस २१ २०७८
images
images
छलफल बिनै अघि बढाइएको खाद्य स्वच्छता तथा गुणस्तर कानून संशोधन भए उद्योग व्यवसाय चल्दैन : महासंघ 

राष्ट्रिय सभामा दर्ता रहेको उक्त ऐनका विषयमा महासंघले गएको असोज १२ गते सरोकारवाला र सरकारी निकायका पदाधिकारीहरुको समेत सहभागितामा वृहद छलफल आयोजना गरेको थियो।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानून संशोधनमा आफ्नो सुझाव दिएको छ। आइतबार महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वको  प्रतिनिधिमण्डलले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङ भेटी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ का सम्बन्धमा महासंघको तर्फबाट तयार पारिएको सुझाव पेश गरेको हो।  

images
images
images

साथै महासंघले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई मंगलबार उक्त सुझाव पेश गरेको थियो। कृषि मन्त्रीसँगको भेटवार्तामा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको पनि उपस्थिति थियो। 

महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरुमा उपाध्यक्ष अन्जन श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु भरतराज आचार्य, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, खाद्यसँग सम्बन्धित महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरु र महासंघ सचिवालयका वरिष्ठ अधिकारीहरु गएका थिए।  

महासंघकातर्फबाट सुझाव पेश गर्दै गोल्छाले विधेयकका सम्बन्धमा निजी क्षेत्र खासगरी खाद्यसंग सम्बन्धित उद्यमी व्यवसायीमा व्यापक चासो र चिन्ता भएको बताए। ‘यस ऐनलाई पुन निजी क्षेत्रसँग छलफलमा लैजान अनुरोध गर्दछु,’ उनले भने, ‘निजी क्षेत्रसँगको छलफल विनानै अगाडि बढाएको यो ऐन जस्ताको तस्तै पारित हुने हो भने मुलुकभित्र खाद्यसंग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन सक्दैन।’ 

images

राष्ट्रिय सभामा दर्ता रहेको उक्त ऐनका विषयमा महासंघले गएको असोज १२ गते सरोकारवाला र सरकारी निकायका पदाधिकारीहरुको समेत सहभागितामा वृहद छलफल आयोजना गरेको थियो। सोही कार्यक्रमबाट आएका सुझाव समेतलाई समेटेर महासंघले उक्त सुझाव तयार पारेको हो। 

महासंघले पेश गरेका सुझावमा मुलत अन्तराष्ट्रिय अभ्याससमेतका आधारमा फुड ह्याण्डलर प्रोटोकल्स एण्ड फुड सेफ्टी रुल्स उल्लेख भएका प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति लेवलमा खुलाउन पाउने कानूनी व्यवस्था गरिनु पर्ने, बस्तुगत आधार बेगर शंकाको आधारमा खाद्य पदार्थ बिक्री वितरणमा रोक लगाएको कारणबाट निर्दोष बिक्रेतालाई पर्न जाने आर्थिक नोक्सानीको निमित्त क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्ने, सार्वजनिक रुपमा सूचना प्रकाशित गरी त्रुटिपूर्ण वा न्यून गुणस्तरको कुनै ब्याच वा एक लटको खाद्य पदार्थ फिर्ता माग गर्ने व्यवस्था गर्दा खाद्य व्यवसायीले उत्पादन वा प्रशोधन गरेको अन्य ब्याच वा लटको खाद्य पदार्थको बिक्री वितरणसमेत गंभीररुपमा प्रभावित हुने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी फिर्ता माग गर्ने व्यवस्था हटाउनु पर्ने सुझाव दिएको छ। 

त्यसैगरी विविध प्राविधिक गडवडिको कारणबाट प्रयोगशालाको प्रतिवेदन रिर्पोटमा एक रुपता नहुने हुँदा सो रिर्पोटको आधारमा जारी हुने आदेश उपर पुनरावलोकनको व्यवस्था गरिनु पर्ने, दूषित खाद्य पदार्थ/न्यूनस्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद तथा अत्याधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकोले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनु पर्ने, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी ऐन बमोजिमको कसुरलाई फौजदारी कसुर अन्तर्गत राखी यस ऐन बमोजिमका आरोपमा उद्यमी, व्यवसायी एवं व्यापारीहरुलाई पक्री थुनामा राख्ने एवं मुद्दा चलिरहेको पुरा अवधिसम्म थुनामा राखिने व्यवस्था हटाइनु पर्ने रहेको छ।

खाद्य सम्बन्धमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विशेष ऐन भएकाले यस ऐनको विशिष्टता कायम गर्न यस ऐनमा उल्लेखित कसुरको सम्बन्धमा यस ऐन बमोजिम मात्र कारवाही चलाउने व्यवस्था गरिनु पर्ने, यस ऐन बमोजिमको कसुरमा अन्य ऐन/कानून बमोजिम मुद्दा चलाउने व्यवस्था हटाइनु पर्ने, दूषित खाद्य पदार्थ/न्यूनस्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद तथा अत्याधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकोले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनु पर्ने सुझाव महासंघको छ।  

सो अवसरमा सभापति गुुरुङ, श्रीवास्तव र कृषि मन्त्री यादवबाट महासंघले पेश गरेका सुझावहरू अत्यन्त महत्वपूर्ण रहेकोले प्राप्त सुझावलाई ऐनमा समावेश गराउने प्रतिवद्धता जनाएका थिए। ऐनको मस्यौदा तयारीदेखिकै छलफलमा सरोकारवाला निजी क्षेत्रलाई सहभागी गराइनुुपर्नेमा त्यसो हुन नसकेको र अझै पनि ऐन छलफलकै चरणमा रहेकाले आवश्यक पर्दाका वखत महासंघसहित निजी क्षेत्रका सरोकारवालाहरूसंग बसेर छलफल गरी यसलाई अन्तिमरुप दिने प्रतिवद्धता समेत जनाएका हुन्। 


प्रकाशित : बुधबार, पुस २१ २०७८११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend