मंगलबार, असोज १५ गते २०८१    
images
images

कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी

images
बुधबार, साउन २३ २०८१
images
images
कुल्फी बेचेर मासिक एक लाखसम्म आम्दानी

आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झँदै मिथलेशले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए।

images
images

सर्लाही- काम कहिले पनि सानो ठूलो हुँदैन। मेहनत गरे जुनसुकै कामबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सर्लाहीको लालबन्दी नगरपालिका-२, निवासी ४६ वर्षीय मिथलेश सहनी।

images
images
images

सहनीले कुल्फी बेचेर मनग्य आम्दानी गरिरहेका सहनीले पाँचजनाको परिवारको आनन्दसँग पालनपोषण गरिरहेका छन्। उनका एक छोरा केही समयदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका छन्।

उनले दुई छोरा घर नजिकैको विद्यालयमा पढाएका छन्। सहनी आफू भने दैनिक ६० किलोमिटरसम्म साइकलमा डुलेर कुल्फी बेच्छन्। फागुन महिनाको पहिलो हप्तादेखि सुरु हुने उनको कुल्फीको व्यापार मङ्सिर महिनासम्म चल्छ। चर्को घाम, पुरानो साइकल केरियरमा बाँधेको कुल्फीको ड्रम गाउँ गाउँसम्म पुग्ने निरन्तरको यात्रा उनको दैनिकी हो।

images

'अत्यधिक गर्मी वा बर्सातको समयमा कुल्फी उत्तिसारो बिक्दैन', उनले भने, 'मानिसहरु घरबाट बाहिर निस्किँदैनन्, मौसम ठिक्क भएमात्र व्यापार राम्रो हुन्छ।' सम्पत्तिको नाममा तीन धुर घडेरीमा बनेको काठको भुइँतले घरबाहेक उनीसँग अरु केही छैन। सहनीले दैनिक ज्याला मजदुरी, कहिले खोलामा बालुवा चाल्ने त कहिले गिट्टी कुट्ने गरेर परिवारको लालनपालन गर्दै आएका थिए। समयमा धान काट्न उनी भारतको पञ्जाबसम्म पुगेका छन्।

images

झन्डै १५ वर्ष पहिला उनले यसैगरी अन्न (मकै) सँग बरफ साट्ने काम गरेका थिए। आम्दानी राम्रो नभएपछि लगभग तीन वर्ष काम गरेर छाडे। विगत तीन वर्षबाट फेरि उनले कुल्फी बेच्न सुरु गरेका हुन्। उनी हरेक दिन बिहान नजिकैको उद्योगबाट बरफको डल्ला किनेर ल्याउँछन् र त्यसपछि बट्टाबट्टामा राख्छन्। 

खाना खाइसकेपछि बिहान १० बजेदेखि उनको व्यापार सुरु हुन्छ। सहनी घरबाट विभिन्न गाउँ हुँदै सर्लाही र रौतहटको सीमाक्षेत्र नुनथर, बागमती नगरपालिकास्थित भरत तालसम्म पुग्छन्। साँझ घाम डुबेपछि भने उनी सिधै घर हानिन्छन्। 'घाम डुबेपछि गाउँ पस्दिन', उनले भने, 'जति व्यापार भए पनि सिधै घर पुग्छु।'

दिनको कम्तीमा पाँच हजारको सामान ड्रममा राखेर व्यापारका लागि निस्कने गरेको उनको भनाइ छ। 'कुनै दिन अपराह्न २ बजे नै सबै बेचेर भ्याउँछु', उनले भने, 'कहिले फिर्ता पनि लानुपर्छ, ३६ घण्टासम्म बिग्रिँदैन।' पूरै बिक्री गर्दा दुई हजार पाँचसय फाइदा हुने उनको भनाइ छ। कुल्फी १० देखि ५० रूपैयाँ सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ।

कुल्फी बेचेर महिनाको एक लाखसम्म कमाइ हुने गरेको उनले बताए। केही भएन भने पनि मेहनत गर्न सक्दा उनका अनुसार कडा मेहनत पर्ने भएकाले यो पेसा सबैले मन पराउँदैनन्। 'मेहनत कडा छ', उनले भने, 'दैनिक हिँड्न सक्नुपर्‍यो, भारीसहितको साइकल ५०/६० किलोमिटर ठेल्नुपर्छ।'

कुल्फीका लागि आवश्यक सामग्री ल्याएर आफैले घरमै कुल्फी बनाउँदा फाइदा धेरै हुने गरेको उनको अनुभव छ। बरफबाहेक सबै कुरा आफै बनाउने उनले सुनाए। आर्थिक उपार्जनको दिगो व्यवस्था नहुँदा विगतमा निकै हण्डर खाएको सम्झँदै सहनीले कुल्फीको व्यापारपछि पछाडि फर्किएर हेर्नुनपरेको सुनाए।

कुल्फी व्यापारपछि सहनीले पाँच कट्ठा धान फल्ने खेतसमेत किनेको बताए। वर्षदिन पुग्न धान आफ्नै खेतमा फल्ने गरेको उनको भनाइ छ। धेरैजसो गर्मीको मौसम रहने तराईको ठाउँमा बरफ, कुल्फी लगायतको बिक्री निकै राम्रो हुने गरेको छ। यसको व्यापारबाट धेरै स्थानीय स्वरोजगार समेत बनेर मनग्य आम्दानी समेत गरिरहेका छन्। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend