मंगलबार, असोज १५ गते २०८१    
images
images

कैलालीमा बीउ उत्पादन विस्तार गर्दै सहकारी

images
बुधबार, साउन २३ २०८१
images
images
कैलालीमा बीउ उत्पादन विस्तार गर्दै सहकारी

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीले धान, गहुँ, मकै, मसुरो र तोरीको बीउ उत्पादन गर्ने गरेको छ।

images
images

टीकापुर- कैलालीको जानकी-४ मुनुवास्थित बीजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादन विस्तार गर्दै गएको छ। सहकारीसँग अहिले सयौँ किसान बीउ उत्पादनका लागि आबद्ध छन्।

images
images
images

सहकारीका आफ्नै सेयर सदस्य किसान एक सय पाँच छन्। विगतमा सहकारीका सेयर सदस्य ६५ थिए। यसरी सहकारीमा आबद्ध किसानलाई आफ्नो उत्पादन बिक्री गर्न समस्या छैन। बीउ उत्पादनका लागि मेहनत गर्नुपरे पनि आम्दानी बढ्नाका साथै मूल्य पाउने भएपछि त्यस क्षेत्रका किसान बीउ उत्पादनमा जोडिन थालेको स्थानीयको भनाइ छ।

सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीले धान, गहुँ, मकै, मसुरो र तोरीको बीउ उत्पादन गर्ने गरेको छ। सहकारीसँग यस वर्ष तीन हजार क्विन्टल गहुँ, ६० क्विन्टल तोरी, ३० क्विन्टल मकै भण्डारण छ।

images

सहकारीले तीन हजार क्विन्टल धानको बीउ बिक्री गरेको थियो। सुरुमा पोका ल्याएर बीउ उत्पादन र बिक्री सुरु गरेको सहकारी बीउ उत्पादनमा नमूना सहकारीका रुपमा स्थापित भएको छ। सहकारीले गत वर्ष दुई हजार पाँच सय क्विन्टल धान, ३० क्विन्टल तोरी, १० क्विन्टल मकै र तीन हजार क्विन्टल गहुँको बीउ बिक्री गरेको थियो।

images

सहकारीले बीउ उत्पादनका लागि क्षेत्र विस्तार गरेको छ। स्थापनाकालमा जानकी-४ र ७ का किसान मात्र आबद्ध थिए। उनीहरुले उत्पादन गरेको बीउ देशका विभिन्न स्थानमा बिक्री हुन थालेपछि सहकारीले सेयर सदस्य मात्र नभई अन्य पालिकाका किसानलाई समेत बीउ उत्पादनमा समेटेको छ। जोशीपुर, भजनी, बर्दगोरिया गाउँपालिकाका किसानलाई समेत बीउ उपलब्ध गराउने र बीउ खरिद गर्ने गरेको छ।

सहकारीले सबैको बीउ बराबरी मूल्यमा खरिद गर्ने गरेको छ। व्यवस्थापक रावतले सहकारीले बजार दर वा सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल तीनसय रूपैयाँभन्दा बढीमा खरिद गर्ने गरेको बताए। 'सहकारीले बीउ बिक्री गर्दा पनि न्यूनतम मूल्यमा उपलब्ध गराउने गरेको छ', व्यवस्थापक रावतले भने, 'सहकारीले आफूले उत्पादन गरेको बाहेक प्रजनन बीउ धनुषा, भैरहवा र सर्लाहीबाट ल्याउने र किसानलाई वितरण समेत गर्ने गरेको छ।'

सहकारीमार्फत बीजवृद्धिमा लागेका किसान धान र गहुँखेतीमा बढी आकर्षित छन्। विसं २०६२ मा स्थापना भएको सहकारीमा आठजना कर्मचारी छन्। यहाँ उत्पादन भएको बीउ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, पहाडी जिल्ला, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका जिल्लामा समेत जाने गरेको छ।

सहकारीसँग पाँच भण्डारण घर छन्। दुई सय र एक सय आठ मेट्रिक टन क्षमता भएका एक/एकवटा, ५० मेट्रिक टन क्षमता भएको दुईवटा गरी चारवटा बीउ भण्डारण घर छन् भने एउटा ५० मेट्रिक टनको मल राख्ने गोदामघर छ। बीउ प्रशोधन गर्ने दुईवटा ग्रेडिङ मेसिनसमेत छन्। प्रतिघण्टा तीन मेट्रिक टन क्षमताको एक र अर्को एक मेट्रिक टन क्षमताको मेसिनबाट बीउ प्रशोधन गर्ने गरिएको छ।

विगतमा उत्पादनको उचित मूल्य पाउन समस्या भएका किसान सहकारीले थप मूल्य दिन थालेपछि खुसी भएका छन्।

किसान कमल कठरियाले उत्पादनको बजार खोज्न नपर्ने र उचित मूल्य पाइने गरेको बताए। 'सरकारी निकायले पनि प्रविधिमा सहकारीलाई सघाएको छ', कठरियाले भने, 'सहकारीमा थप किसान समेट्न आवश्यक छ।'

२०५१ सालमा २५ जना किसानले बाली विकास समूह गठन गरी कृषि कार्यको सुरुआत गरेका हुन्। २०५३ सालमा अर्को एउटा सघनबाली विकास समूह गठन भयो। यी दुई समूह एकीकृत भएर २०६२ सालमा बीजवृद्धि कृषक सहकारीका रुपमा काम थालेको हो। सहकारीले बीउ उत्पादन भने २०५७ सालबाटै सुरु गरेको थियो। एक सय पाँचजना सेयर सदस्य रहेको सहकारीमा ३२ महिला र ७३ पुरुष किसान छन्। सहकारीमा एक सय ५० जना बीउ उत्पादक किसान आबद्ध छन्।

सहकारीले बीजवृद्धिसँगै बचत संकलनसमेत गर्ने गरेको छ। १९ लाख ९८ हजार पाँचसय रूपैयाँ सेयर पुँजी रहेको सहकारीको बचत संकलन १२ लाख २९ हजार नौ सय ५० रूपैयाँ रहेको छ।

सहकारीका अध्यक्ष रामफल बडायकले स्थानीय स्तरमा बालीहरुको गुणस्तरीय बीउ उत्पादन गर्ने, उन्नत बीउको माध्यमबाट बालीहरुको उत्पादकत्व बढाउने उद्देश्यअनुरुप सहकारीले काम गरिरहेको बताए। 'बीउ प्रशोधन, प्रमाणीकरण, भण्डारण तथा  बजारीकरण गरिरहेका छौँ', उनले भने, 'जसले सदस्यहरुको आर्थिक एवं सामाजिक स्तर उठाउन सहयोग गरेको छ। गुणस्तरीय बीउ उत्पादनमार्फत खाद्य सुरक्षामा वृद्धि गरिरहेको र आपतमा परेको बेला सहकारी सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरिएको छ।'

सहकारीले बीजवृद्धिमा धान, गहुँ, मकै, मसुरो, तोरी, भिण्डी र आलुको बीउ उत्पादन गर्ने गरेको छ। यसका साथै बचत संकलन, बीउ उत्पादक कृषकहरुलाई ऋण प्रदान, रासायनिक मल बिक्री वितरण र विभिन्न बालीको बीउ उत्पादन तथा बिक्री वितरण गरिरहेको छ। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend