शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

माया मारिसकेको सुन्तलाले दियो आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २१ २०७८
images
माया मारिसकेको सुन्तलाले दियो आम्दानी
images
images

बलेवा- एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला?’

images
images
images

रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए। बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए। फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन। झरेको भए व्यापारीले लाने थिएनन्। संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन। किसान उत्साहित छन्।

images
images

रोग, वर्षा र हिमपातबाट जोगाएको सुन्तला टिप्न यतिबेला काठेखोला गाउँपालिका-६, बिहुँका किसानलाई भ्याइनभ्याई छ। किसानकै सक्रियतामा खुलेको बिहुँकोट साना किसान कृषि सहकारी संस्थाले बगानमा रहेको एक तिहाइ सुन्तला गर्मीयामका लागि भण्डारण गर्दैछ। बिहुँकोटमा रहेको शीतभण्डारमा भण्डार गर्ने सुन्तला किसानले पहिलो चरणमा टिप्दैछन्। ३० टन क्षमताको शीतभण्डार भरिएपछि व्यापारीले सुन्तला खरिद गर्न पाउने किसान बालानन्द कँडेलले बताए।

images
images

'किसानहरुको सक्रियतामा चलेको सहकारी पहिलो प्राथमिकतामा छ, त्यसपछि हामी व्यापारीलाई सुन्तला बगान दिन्छौँ', उनले भने, 'अब फुल्ने बेला हुनै लाग्यो, सबै सुन्तलाका बोट खाली गर्नुपर्छ।' बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो। कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन्।

बिहुँबाट बर्सेनि करोडौँको सुन्तला निर्यात हुन्छ। यहाँका किसानले करिब ३० हेक्टर जमिनमा सुन्तला लगाएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताए।

यो वर्ष पनि एक मेट्रिक टन सुन्तला फलेको किसानको अनुमान छ। सहकारीले प्रतिकिलो ५० का रूपैयाँ दरले किसानको सुन्तला खरिद गरेको छ। एक मेट्रिक टन सुन्तला बजार पुग्दा पाँच करोड रूपैयाँ बिहुँमा भित्रिने किसानको आशा छ। 'प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,' किसान कँडेलले भने, 'उत्पादक किसानकै सहकारी भएकाले गर्मीयाममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै दामासाहीले पाउँछन्।'

सहकारीलाई केही सस्तो मूल्यमा बिक्री गरेका किसानले व्यापारीलाई भने केही मूल्य बढाएर बिक्री गर्ने योजना बनाएका छन्। काठमाडौँ, धादिङ, पोखरा र भैरहवाबाट आएका व्यापारीले बिहुँमै बसेर सुन्तला कुरेको किसान बलानन्द कँडेलले बताए। बिहुँको सुन्तला अन्य ठाउँको भन्दा रसिलो हुने भएकाले व्यवसायीले यहाँको सुन्तलामा बढी चासो दिने गरेको अनुभव किसानको छ।

यहाँका किसानले खेतबारीमा रहेका रूखहरु फँडानी गरेर सुन्तलाको बगान थप व्यवस्थित बनाएका छन्। बगानमै पुग्ने डोके व्यापारीले यहाँको सुन्तला मङ्सिरदेखि नै सडक छेउमा राखेर बिक्री गर्दै आएका छन्। उनीहरुले समेत बगानबाट प्रतिकिलो ५० रूपैयाँमा उठाएको सुन्तला बजारमा १०० रूपैयाँका दरले बिक्री गर्ने गरेका छन्। परम्परागत खेती छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका किसानले पुराना बिरुवाको कलमी र नयाँ बिरुवा रोप्ने कामलाई समेत निरन्तरता दिएको वडाअध्यक्ष कँडेलले बताए।

काठेखोला गाउँपालिकाले बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गर्दै आएको छ। 'हामीले एक वडा एक उत्पादनअन्तर्गत बिहुँमा सुन्तला उत्पादनलाई प्रोत्साहन गरेका छौँ, बिहुँको सुन्तला पनि हाम्रो गाउँपालिकामा आम्दानीका स्रोतमध्येको एक हो,' गाउँपालिकाका अध्यक्ष अमर थापाले भने, 'किसानलाई बिरुवा, मल, प्रविधि र कीटनाशक औषधिमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ।' रासस


प्रकाशित : बुधबार, पुस २१ २०७८०७:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend