बुधबार, असोज १६ गते २०८१    
images
images

वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

images
मंगलबार, साउन २२ २०८१
images
images
वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भइ भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ।

images
images

काठमाडौं- गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन्। वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ।

images
images
images

सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ। रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ। पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ। अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन्।

वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौंका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। उनका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ।

images

सवारीसाधनको जाम पनि हटेको छ। विशेषगरी करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।

images

लगातारको झरीले काठमाडौंका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। विशेषगरी काठमाडौंको कलंकी, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ बानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुईपाङ्ग्रे सवारीसाधनका यात्रु बढी मर्कामा परेका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भइ भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ।

अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend