काठमाडौं- २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुन:निर्माण सकिँदा घर पाउनेहरूले खुशी भएका छन्। आवास पुन:निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा बारपाकका स्थानीयहरू ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा जनधनको ठूलो क्षति भएको थियो। अहिले जग्गाहीनहरूले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन्।
भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुन:निर्माण सम्पन्न भएको छ। अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरूको पुन:निर्माण गर्न सके गोरखाको मुहार फेरिने स्थानीयहरूको भनाइ छ। तीन लाखमा सरकारले बनाइदिएको घरमा अहिले सहज नै भइरहेको उनीहरू बताउँछन्।
गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरू सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरू बाँकी रहेको बताए। उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरू पुन:निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे।
‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरू भएका छन्। अधिकांश विद्यालयहरू बनिसकेका छन्। बन्न बाँकी भनेको धार्मिक संरचनाहरू, मठ, मन्दिरहरू छन्। धेरै स्वास्थ्यचौकी र विद्यालयहरू बनिसकेका छन्। तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन', खनालले भने, '३ लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ। स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरूको दौडधुपले गर्दा केही नर्मल भयो। भुक्तानि दिने प्रक्रिया पनि अलि छिटो भयो। एक वर्ष यता नर्मल तरिकाबाट धेरै घरहरू बनिसकेपछि सामान्य बन्दै गएको छ। अहिले बनेका घरहरू जति बन्दैछन्, ती घरहरू भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ।’
आवास पुन:निर्माणपछि स्थानीयहरू रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन्। यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरूबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन्।
उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरूको भनाइ छ। आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्छन्।
‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिती भएन। त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरू सहयोग गरेर काम गर्नुभयो। एउटा घर जसरी भएपनि बनाउनु पर्ने भनेर सहयोग गर्नुभयो। यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद । त्यस्तो गर्दागर्दै पनि अहिलेको अवस्थामा केही घरहरू रोकिरहेको छ। रोकिएको घरहरूलाई सहजीकरण भनेर अन्तिम अवस्थामा हामीले आफैँ एनएस लागि परेर सहजीकरण गर्यौँ’ उनले भने।
त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा.लि.का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरूलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरूमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए। उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरू निर्माण गरेको बताए।
‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ। हामीले नेपालमा आवास निर्माण साथीहरूलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरूमा सहयोग गरेका छौँ। यसमा हामी धेरै नै खुशी छौँ। हामीले सकेसम्म सुरक्षित घरहरू निर्माण गरेका छौँ’ उनले भने।
त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताए। उनले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुन:निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताए।
‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ। यूएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुन:निर्माण गरिएको छ। २०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरूको पुन:निर्माण गर्न पाउँदा हामी धेरै ने खुशी भएका छौँ। हामीले आवास क्षेत्रको पुन:निर्माण पूरा रुपमा सकेका छौँ। भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ। यी तीन क्षेत्रमा करिव २ सय प्रोजेक्ट गरेका छौँ। भारत नेपालको लागि विकासको साथी हो’ उनले भने।
त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुन:निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताए। उनले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए।
उपप्रतिनिधि बुर्नान्डोले भने, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुन:निर्माणको काम हामीले सकेका छौँ। भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ। यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौँ।’
उपप्रतिनिधि बेर्नान्डोले पुन:निर्माणका काममा आफूहरू हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गरे। उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।