बुधबार, असोज १६ गते २०८१    
images
images

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

images
सोमबार, साउन २१ २०८१
images
images
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

२०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर बिक्री गर्न थालेको हो।

images
images

बागलुङ- उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जंगलमा पाइने बाँकोलाई ब्रान्डिङ गर्न थालिएको छ। यहाँको जैमिनी नगरपालिका-३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो। 

images
images
images

जंगलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ।

एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले 'गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी' दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिइन्। 

images

'गाउँ तथा जंगलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पुर्‍याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौँ, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आय आर्जन सघाउ पुग्नेछ,' छन्त्यालले भनिन्, 'अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न रु सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ।'

images

एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुईलाखको बिक्री भएको छन्त्यालले जानकारी दिइन्। अहिले आलु चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पुर्‍याउने छन्त्यालको भनाइ छ। विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर बिक्री गर्न थालेको हो। 

जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ। विसं २०७१ मा रु १० लाख शेयरपूँजीबाट सुरु भएको सहकारीको अहिले वार्षिक कारोबार दुई करोड ५० लाख रूपैयाँ नाघेको छ। अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डिङका लागि २१ महिला सक्रिय रहेका छन्।

महिला सदस्यलाई मात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ। ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो।

अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। नगरपालिकाले महिला उद्यमशिलताका लागि हालसम्म १० लाख रूपैयाँभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उनले जानकारी दिए। 

'किसानले आलु मात्रै बिक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ', उपप्रमुख शर्माले भने 'औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पुर्‍याउन सकिने सम्भावना छ।' रासस


प्रकाशित : सोमबार, साउन २१ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend