बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धरानमा खानेपानी महसुल अत्यधिक वृद्धि भएको भन्दै विरोध, एउटा धारा जोड्नै एक लाख लाग्ने

पहिले खानेपानीको महसुल घटाउन आन्दोलन गर्ने साम्पाङ पदमा पुगेपछि आफैले बढाए

आइतबार, साउन २० २०८१
धरानमा खानेपानी महसुल अत्यधिक वृद्धि भएको भन्दै विरोध, एउटा धारा जोड्नै एक लाख लाग्ने

विगतमा शुल्क घटाउनुपर्छ, धरानलाई निःशुल्क पानी खुवाउनुपर्छ भनेर आन्दोलन गरेका साम्पाङले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेका छन्।

इटहरी- धरान उपमहानगरपालिकामा खानेपानी महसुलमा अत्यधिक वृद्धि भएपछि स्थानीय नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले उपमहानगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्। 

खानेपानी बोर्डका अध्यक्षसमेत रहेका साम्पाङले एकल रूपमा महसुल वृद्धि गरेपछि धरान अशान्त बनेको हो।  

यसअघि २५ हजार रुपैयाँमा जोडिने दुई इन्चको खानेपानी धाराको महसुल एक लाख रुपैयाँ पुगेको छ। त्यससँगै मृतकको नामबाट नामसारी गर्दा ९ हजार ९ सय प्रतिशतले महसुल वृद्धि भएको छ। २ सय रुपैयाँ रहेको महसुल बढाएर साम्पाङले १९ हजार ८ सय पुर्‍याएका हुन्।

उपप्रमुख आइन्द्र विक्रम बेघाले मेयरले एकल रूपमा निर्णय गरेको र बोर्डको अध्यक्ष स्वयम् प्रमुख हुने प्रावधान भएको कारण आफूहरू केही बोल्न नसक्ने बताए। गलत अभ्यास भइरहेको बताउँदै उनले जनताको हितमा काम गर्न आग्रह गरेपनि सुनुवाइ नभएको भन्दै निरीहता प्रस्तुत गरे। 

खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले प्रकाशित गरेको सूचनाअनुसार सम्पूर्ण विषयमा शुल्क वृद्धि भएको छ। खानेपानी महसुलमा ११ प्रतिशतदेखि ९ हजार प्रतिशतसम्म अस्वाभाविक वृद्धि भएको स्थानीयले बताएका छन्। 

खानेपानी जडान, होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ३ सयदेखि ९ सय प्रतिशतसम्म महसुल वृद्धि भएको छ। १५ हजार रुपैयाँ लाग्ने १/२ इन्चको पाइप जडानको शुल्क २० हजार पुगेको छ। ४/३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ।

१ इन्चको पाइपको १५ हजार तिर्दै आएका स्थानीय उपभोक्ताले ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। १/२ इन्च पाइपको धारा जडान बापत २० हजारबाट बढाएर ७५ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै २ इन्चको पाइप जडान शुल्क ७५ हजारबाट बढेर १ लाख रुपैयाँ पुगेको हो।

होल चेन्जको दस्तुर दर २ हजारबाट बढेर ५ हजार रुपैयाँ पुगेको छ। ४/३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार र १ इन्चको पाइपमा ४ हजारबाट बढाएर १० हजार पुर्‍याइएको हो। १.१/२ इन्चको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट १५ हजार र २ इन्च शुल्क ६ हजारबाट २० हजार रुपैयाँ भएको छ। 

त्यस्तै नामसारी शुल्कमा पनि २ सयबाट ५ हजार रुपैयाँ पुगेको छ। इन्चको आधारमा विभिन्न शुल्क निर्धारण गरिएको हो। यसअघि सबै इन्चको धारा मर्मत तथा चेक शुल्क ५ सय रुपैयाँ रहेकोमा बढाएर १० हजार रुपैयाँसम्म पुर्‍याइएको छ। १ हजारदेखि ५ हजारसम्मको मर्मत शुल्क तोकिएको छ। 

यसअघि उपमहानगर प्रमुख हुनुअघि साम्पाङले आफै शुल्क वृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए। तत्कालीन प्रमुख तिलक राईले १५ रुपैयाँमात्र महसुल घटाएको विरोधमा ४० रुपैयाँसम्म घटाउनुपर्ने माग राख्दै साम्पाङले आन्दोलन गरेका थिए। अभियन्ताको रूपमा आन्दोलनको नेतृत्व गरेका उनी सोही आन्दोलनको मार्फतबाट धरानको प्रमुखमा निर्वाचित भएका हुन्। 

२०७७ मा धरानको खानेपानी संस्थान र खानेपानी बोर्ड मर्ज भएर खानेपानी व्यवस्थापन बोर्ड गठन भएको हो। बोर्डको अध्यक्ष प्रमुख स्वयम् रहने कानूनी व्यवस्था छ। 

प्रमुखले मनोमानी हिसाबमा महसुल वृद्धि गरेको भन्दै विभिन्न ७ राजनीतिक दलले विरोध जनाइरहेका छन्। उनीहरूले आज आइतबारसम्मको अल्टिमेटम दिएका थिए। सोहीअनुसार स्थानीय नागरिक र राजनीतिक दलले खानेपानी बोर्डको कार्यालय घेराउ गरेका हुन्। 

विगतमा शुल्क घटाउनुपर्छ, धरानलाई निःशुल्क पानी खुवाउनुपर्छ भनेर आन्दोलन गरेका साम्पाङले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेको कांग्रेस नगर सभापति श्याम पोखरेलले बताए। बढाउनै पर्ने भए समिति गठन गरेर अध्ययनपछि बढाउनुपर्ने बताउँदै उनले यो तरीका अव्यवहारिक र अपरिपक्व भएको टिप्पणी गरे। शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिएका छन्।  

mahasul.jpg
कति बढ्यो महसुल?


प्रकाशित : आइतबार, साउन २० २०८११८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend