सोमबार, असोज १४ गते २०८१    
images
images

सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा?

images
मंगलबार, साउन २२ २०८१
images
images
सेयर बजार गणितमात्र होइन मनोविज्ञान पनि : बुलतर्फ लागेको हो? कसरी लिने फाइदा?

ट्रेडिङको दौरान कम्पनीहरूको सेयर मूल्यमा बढ्ने क्रम र घट्ने क्रम चलिरहन्छ। त्यस्तोमा बुल मार्केट कुनै सानो समयरेखामा समेटिन्छ भन्ने छैन। यसमा समयको एउटा चक्रभित्र उचाइतर्फ देखिएको मूल्यलाई विचार गर्नुपर्छ। बुल विस्तारित अवधिको हुन्छ। बुल मार्केट केही महिना या केही वर्षसम्मै पनि रहन सक्छ।

images
images

काठमाडौं- साँढेले सिङ उध्याएर हल्लाउँदै टाउको माथितर्फ फर्काएर जुधेको वा कसैलाई आक्रमण गरेको त देख्नुभएकै होला। अनि भालुले आक्रमण गर्दा पञ्जा तलतिर गाडेर तानेको हुन्छ। यो प्रकृतिको प्रतीकलाई पुँजी बजारमा देखिने उतारचढावमा समेत प्रयोग गरिन्छ, बुलिस र बियरिसका रुपमा।   

images
images
images

नेपाली सेयर बजारमा अहिले साँढेको त्यस्तै धङधङी पुन: सुरु भएको छ। बाहिरी विश्वमा १८औँ शताब्दीतिर नै लगानीकर्ताहरूले पुँजी बजारमा देखिएको वृद्धिलाई संकेत गर्न ‘बुल मार्केट’ वाक्यांशको प्रयोग गर्न थालेका हुन्। उनीहरूले यसलाई यति प्रयोगमा ल्याए कि न्यूयोर्क सिटीमा वाल स्ट्रिटनजिक त साँढेको मूर्तिसमेत बनाइयो। अहिले प्राय सबैतिर त्यसलाई पछ्याइएको छ। 

बुल मार्केट समयको एउटा यस्तो अवधि हो जसमा सेयर बजारका प्रमुख सूचकांकहरूमा निरन्तर सुधार देखिँदै जान थाल्छ। सुधारको बाटो समातेको सूचकांकले अन्तत: नयाँ उचाइ लिन्छ। हुन त विज्ञहरूले यसलाई एउटै अवधारणा र परिभाषामा समेट्न खोज्दैनन् तर यसको प्रमुख विषय नै उचाइको बाटो हो। 

बुल मार्केट सुरु भएको हो भन्ने यकीन गर्न भने त्यति सहज भने छैन। कतिपयले पछिल्लोपटकको तल्लो बिन्दुबाट २० प्रतिशतले बढेपछि नै त्यसलाई बुल मार्केटको रुपमा अर्थ्याउन थाल्छन् भने कतिपय विद्वानहरू त्यसलाई निश्चित सटिक अंकको सीमाभित्र राख्न चाहँदैनन्। उनीहरू वृद्धिको श्रृंखलालाई क्रमागत जोडेर हेर्छन्। 

images

प्रायत: सेयर बजारमा उछाल आउँदा अर्थतन्त्रका अन्य अवयवहरूले पनि साथ दिइरहेको हुन्छ। अन्य आर्थिक सूचकहरूकै आधारमा पुँजी बजारको सूचक चल्ने अर्थशास्त्रीय परिघटना भने नेपाली सेयर बजारसँग ठ्याक्क नमिल्न पनि सक्छ। तर पनि बजारमा देखिएको खुलापन र केन्द्रीय बैंकको नीतिले यसलाई डोर्‍याउने गर्छ नै। यसमा गणितमात्र होइन मनोविज्ञान पनि सामेल हुन्छ। 

ट्रेडिङको दौरान कम्पनीहरूको सेयर मूल्यमा बढ्ने क्रम र घट्ने क्रम चलिरहन्छ। त्यस्तोमा बुल मार्केट कुनै सानो समयरेखामा समेटिन्छ भन्ने छैन। यसमा समयको एउटा चक्रभित्र उचाइतर्फ देखिएको मूल्यलाई विचार गर्नुपर्छ। बुल विस्तारित अवधिको हुन्छ। बुल मार्केट केही महिना या केही वर्षसम्मै पनि रहन सक्छ। 

बुल मार्केट लगानीकर्ताहरूको आशा, लगानीप्रतिको विश्वास र विस्तारित समयसम्मका लागि बलियो परिणामको अपेक्षा रहन्छ। बजारको प्रवृत्ति कहिले परिवर्तन हुन्छ भनेर यकीन भविष्यवाणी गर्न त सकिँदैन तर यसमा गणितीय अनुमान गर्न भने सकिन्छ। तर कहिलेकाहिँ देखिने मनोवैज्ञानिक प्रभावका कारण पनि अनुमानको ठूलो भूमिकाले साथ नदिन पनि सक्छ।   

बुल मार्केटको समय निश्चित गर्न गाह्रो हुने भए पनि त्यस्तो बुल सुरु भएपछि भने सबै एकैपटक होमिने हतारो गर्न थाल्छन्। बुल मार्केट सुरु भएपछि भने सबैले देख्नेगरीको उचाइतर्फ लागि नै हाल्छ। नेपाली पुँजी बजारको इतिहासमा पनि त्यस्ता केही बुल मार्केटहरू देखिइसकेको छ। 

नेपालमा विस २०३३ सालमा सेक्युरिटिज खरिद-बिक्री केन्द्र स्थापना गरेर सरकारी ऋणपत्र (बोन्ड) को दैनिक खरिद-बिक्रीको व्यवस्था गरिएको थियो। धितोपत्र खरिदबिक्री ऐन, २०४० लाई २०४९ मा संशोधन गरी २०५० सालमा उक्त केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज लि (नेप्से) मा रूपान्तरण गरिएको थियो। 

२०५७ साल कात्तिकमा नेप्से परिसूचक ५०२.८५ को बिन्दुमा रहेको थियो। २०६१ बैशाखमा १९५.१४ को बिन्दुमा झरेको बजार २०६५ को साउनमा कीर्तिमानी ११७५.३८ को बिन्दुमा पुगेको थियो। पुन: २०६९ बैशाखमा २९९.३४ को बिन्दुमा झरेको नेप्से २०७३ को साउनमा १८८०.७९ को उच्चतम बिन्दुमा पुग्यो। २०७६ कात्तिकमा १०८९.४४ मा झरेको बजार पुन: २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च ३१९९ को बिन्दुसम्म पुग्यो। घटेर १८०० को बिन्दुतिर पुगेको बजारले अहिले पुन: उचाइको गति लिँदै छ। 

सेयर कारोबारमा कृत्रिम र अस्वभाविक भन्ने हुँदैन। यी सबै भ्रम र हल्लामात्रै हुन्। तर हाम्रो कारोबार प्रणालीको कमजोरीका कारण माग र आपूर्ति भने गहिरिएर बुझ्नुपर्ने सेयर विश्लेषकहरू बताउँछन्। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा सेयर बजार लगातार वृद्धितर्फ नै देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि त अझ संगठित लगानीकर्ताहरू थप उत्साहित देखिएका छन्। जसले बजारमा निरन्तर उछाल नै देखिएको छ। यस्तोमा साना लगानीकर्ता र नवप्रवेशीहरू अलमलिन सक्छन्।   

बुल मार्केटबाट कसरी फाइदा लिने?

बुल मार्केटबाट फाइदा लिन चाहने लगानीकर्ताहरूले बढ्दो मूल्यको फाइदा उठाउन सकेसम्म चाँडो किन्ने र उपयुक्त उचाइको बिन्दुमा पुग्नासाथ बिक्री गर्ने सामान्य सिद्धान्त अपनाउनुपर्ने सुझाव विश्लेषकहरू दिन्छन्। 

तर यसमा कुनै कम्पनीको मूल्य कुन उचाइसम्‍म जान्छ भन्ने यकीन गर्न मुस्किल हुने हुँदा आफूलाई उपयुक्त लागेको बिन्दुमा नै किनबेच गर्नुपर्छ। त्यसका लागि बजारको प्रवृत्ति भने अनुमान गर्नुपर्छ। कुनै पनि कम्पनीको मूल्य एक्कासी माथि वा एक्कासी तल झर्ने होइन, त्यसले एउटा क्रम समातेको हुन्छ। यसमा खरिदकर्ताको आत्मविश्वासको ठूलो महत्व हुन्छ। 

आफूले सेयर किन्ने कम्पनीको अन्य वित्तीय अवस्थाका बारेमा ज्ञान राख्नु पनि उपयुक्त हुन्छ। कतिपय अवस्थामा कम्पनीको अन्य अवस्था र मार्केटमा देखिएको मूल्यमा समानता नहुन पनि सक्दछ। त्यस्तोमा बजारको प्रवृत्तिलाई हेरेर नै पाइला चाल्नुपर्ने हुन्छ। 

अर्को त आफूलाई फाइदा हुनसक्ने कम्पनीको सेयर संख्या बढाउने र त्यसलाई केही समय ‘होल्ड’ गर्न सक्ने प्रवृत्ति पनि महत्वपूर्ण हुन्छ। कुनै कम्पनीको सेयर संख्या बढाउँदै किन्ने र होल्ड गर्ने रणनीतिमा अतिरिक्त जोखिम भने हुन्छ। पूर्वनिर्धारित वृद्धिले साथ दिइरहेको छ भने आफूले त्यसमा सेयर कित्ता थप्दै जानु दीर्घकालीन सोचअन्तर्गत पनि पर्दछ। 

कुनै समय माथि चढिरहेको मूल्य केही दिन तल झर्न पनि सक्छ। त्यस्तोमा बजारको प्रवृत्ति हेरेर अतालिनु भने हुँदैन। बुल मार्केटको समयमा पनि केही दिन वृद्धि रोकिने र केही दिन तल झर्ने हुनसक्छ। त्यसमा ठूला संगठित लगानीकर्ताहरूले खेल्ने ठाउँसमेत रहन्छ।

समग्र बजारको प्रवृत्ति माथितिर नै जाने देखिएको छ भने कुनै दिनको सामान्य ओरालोबाट तर्सिन नहुने विश्लेषकहरू बताउँछन्। बरू बढ्दो क्रममा देखिएको कुनै कम्पनीको सेयर मूल्य छोटो समयका लागिमात्र पनि घट्छ भने त्यसमा थप किन्न डराउन नहुने उनीहरूको भनाइ छ। 

बुल मार्केटमा फाइदा लिनका लागि अर्को अवस्था ‘फूल स्वीङ ट्रेडिङ’ पनि हो। लगानीकर्ताहरू यसमा छोटो समयका लागि सेयर किनबेच गर्छन्। लामो समयसम्म चल्ने बुल मार्केटमा साना-साना कुरा विचार गरेर किन्ने-बेच्ने गरिरहन सक्दा निकै फाइदा लिन सकिन्छ। 

बुल बजारमा उत्साह धेरै हुन्छ जसले केही लगानीकर्ताहरू थप आक्रामक रुपमा अघि बढ्न थाल्छन्। बजारले देखाइरहेको प्रलोभन र सत्यता बुझ्न नसक्दा समस्या निम्तिन सक्दछ। त्यसैले कुनै पनि निर्णय लिनुअघि लगानीको आफ्नो योजनाको पुन: परीक्षण गरेर सेयर खरिद गर्न चाहेको कम्पनीबारे बुझ्नु र त्यसको प्रवृत्ति अनुमान गर्नु उपयुक्त हुन्छ।  

जब सेयर बजारमा नयाँ उचाइ देखिन थाल्छ तब घट्दो क्रममा लाग्ने डर पनि रहिरहन्छ। त्यसैले आफ्नो लगानीको प्रतिफल लिएर बाहिरिने समय यकीन गर्न सक्नु सबैभन्दा महत्वपूर्ण खुबी हो।

हुन त बुल मार्केट वर्षौंसम्म रहिदिएका उदाहरणहरू पनि छन्। त्यस्तोमा बुलको दौरान हरेक दिन कीर्तिमान बनिरहन्छन्। लगातारको हरियालीमा आफूले सेयर किनेको कम्पनी नै पनि प्रत्येकपटक नयाँ उचाइमा पुग्ने सम्भावना रहिरहन्छ। लक्ष्यमा पुग्नुअघि आफ्नो लगानीको प्रतिफल लिइसक्दा सम्भावित वृद्धि भने गुम्न सक्छ।

त्यस्तोमा आफूले समग्र बजारको लक्ष्यमा होइन आफ्नै लक्ष्यमा विचार गर्नुपर्ने हुन्छ। आफ्नै एउटा नियम र परिधि बनाउनुहोस् र त्यसमा अनुशासित हुनुहोस्।


प्रकाशित : मंगलबार, साउन २२ २०८१०६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend