बुधबार, असोज १६ गते २०८१    
images
images

म्याग्दीको रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण

images
शनिबार, साउन १९ २०८१
images
images
म्याग्दीको रत्नेचौर र उपल्लाचौरमा सिँचाइ आयोजना पुनःनिर्माण

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको २०२३ र उपल्लाचौरको २००४ साले सिँचाइ आयोजना पुनःनिर्माण भएको छ। पहिरोले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर बनाएर सिँचाइ आयोजना पुनःनिर्माण गरिएको हो।

images
images
images

विसं २००४ मा निर्माण भएको नहरलाई चार साले र २०२३ मा निर्माण भएको आयोजनालाई २३ साले सिँचाइ आयोजना नामकरण गरिएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा छुट्टाछुट्टै उपभोक्ता समितिमार्फत आयोजना पुनःनिर्माण भएको हो।

उपल्लाचौर जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापाले पछिल्लो तीन आर्थिक वर्षमा ६० लाख रूपैयाँ बजेटबाट तीन सय ८० मिटर नहर र एक हजार ८२ मिटर पाइपलाइन जडान भएको बताए।

images

'विसं २०४८ मा बनाइएको पक्की नहर मुहाननजिकै पहिरोले भासिएको र उपल्लाचौरमा रत्नेचौर-अर्जम-भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो', उनले भने, 'भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर पुनःनिर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ।'

images

एकसय ५० घरधुरी कृषकको करिब पाँचसय रोपनी जमिनमा १२ महिना सिँचाइ सुविधा पुगेको छ। चालु आर्थिक वर्षमा विनियोजन भएको २२ लाख बजेटबाट एक हजार पाँच सय ७४ मिटर पाइपलाइन जडान, मुहानमा दुईवटा इन्टेक र ३० थान ग्यावीयन पर्खाल बनाएर २३ साले सिँचाइ आयोजनाको पुनःनिर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ।

समितिका सचिव ओम रोकाले पाइपलाइन जडान गरेपछि बर्खाको समयमा नहर बगाउने समस्या हटेको बताए। रत्नेचौरको २५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले बताए।

२३ साले सिँचाइ आयोजना मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहजरुपमा आएपछि रत्नेचौरका किसानले असार महिनाभित्रमै धान रोपाइँ सकेका स्थानीय शकंर महतले बताए।

'पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काएपछि यसअघिको दुई वर्ष आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो', उनले भने, 'ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानलाई सहज भएको छ।' रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend