सोमबार, भदौ २४ गते २०८१    
images
images

१७० वर्षको इतिहास बोकेको खेतान समूह एकपछि अर्को सेयर बिक्री गरेर बाहिरिँदै

images
आइतबार, साउन २० २०८१
images
images
१७० वर्षको इतिहास बोकेको खेतान समूह एकपछि अर्को सेयर बिक्री गरेर बाहिरिँदै

खेतान समूहले नेपाली व्यवसायमा हात नहालेको क्षेत्र सायदै कुनै थियो। मायोज चाउचाउ त अझ निकै चर्चित थियो। त्यसलाई समेत खेतान समूहले टिकाउन सकेन। खेतान समूहले नेपालमा जग हालेको १७० वर्ष हुँदै गर्दा अहिले अधिकांश व्यवसाय 'सिफ्ट'को चरणमा लगेकाे छ।

images
images

काठमाडौं- नेपालमा कुनै समय खेतान समूहको जगजगी नै थियो। उत्पादनदेखि बैंक वित्त र इन्स्योरेन्समात्रै होइन नेपालको पहिलो निजी वायुसेवा कम्पनी खोल्नेसम्मको काम खेतान समूहले गरेको थियो। 

images
images
images

खेतान समूहले नेपाली व्यवसायमा हात नहालेको क्षेत्र सायदै कुनै थियो। मायोज चाउचाउ त अझ निकै चर्चित थियो। त्यसलाई समेत खेतान समूहले टिकाउन सकेन। खेतान समूहले नेपालमा जग हालेको १७० वर्ष हुँदै गर्दा अहिले अधिकांश व्यवसाय 'सिफ्ट'को चरणमा लगेकाे छ। 

कतिपय व्यवसाय बन्द भए त कतिपयको सेयर बिक्री गर्ने चरणमा छन्। यसले खेतान समूह अब नेपालमा व्यवसाय विस्तारभन्दा पनि भएको लगानी र प्रतिफल लिएर नेपालबाहिर व्यवसाय विस्तारमा केन्द्रित भएको देखिन्छ।

खेतान समूहको जग बसाल्नमा राजेन्द्र खेतानका हजुरबुबाका बुबा किशुनराम खेतानलाई जस जान्छ। उनै किशुनराम नेपाली व्यवसायमा खेतानको पहिलो पुस्ता हुन्।

images

चौथो पुस्तामा आइपुग्दा व्यवसाय विस्तारसँगै अहिले प्रायत: बन्दको चरणमा पुगेको छ। चौथो पुस्ताले पनि राम्रै विस्तार गरेता पनि तीब्रता कायम राख्न भने सकेन। जसका कारण धेरै आर्थिक संकटले बन्द भए भने चलेका र नाफा कमाएका कम्पनीको सेयर पनि एकपछि अर्को बिक्री गर्ने क्रम खेतान समूहको चौथो पुस्ताले जारी राखेको छ।

खेतान समूहको जग करिब १७० वर्षअघि सन् १८५५-१८५६ को नेपाल-तिब्बत युद्धका बेला किशुनराम खेतान (राजेन्द्र खेतानका हजुरबुवाका बुबा) ले राखेका थिए। उनले नेपाली सेनालाई चामल र नुन उपलब्ध गराउँथे।

युद्धपछि भने खेतानले व्यापार व्यवसायको रूपमा आफ्नो उद्यम जारी राखे। स्थानीय व्यापारका अलावा खेतान परिवारले सन् १९१० मा भारतबाट कपडा आयात गर्न थाल्यो। खेतान समूह स्थापना गर्ने किशुनरामका छोरा पूर्णमल बिहारीलाल खेतान थिए। सन् १९३७ मा खेतानहरूले आफ्नो फर्म दर्ता गरे। नेपालमा दर्ता भएका पहिलो ३२ वटा दर्ता कम्पनीहरूमध्ये 'खेतान समूह' पनि पर्दछ। 

पूर्णमल बिहारीलाल खेतानका छोरा मोहन गोपाल खेतानले विभिन्न औद्योगिक र व्यवसायिक क्षेत्रमा पाइला टेकेर पारिवारिक व्यवसायलाई नयाँ युगमा पुर्‍याए।

सन् १९७० मा खेतान समूहले जुट र दाल निर्यात गरेर आफ्नो पहिलो व्यापार विविधीकरण सुरु गरेको थियो। सन् १९७० को दशकको मध्येमा उक्त समूहले बोटलर्स नेपाल लिमिटेड स्थापना गरी नेपालमा कोकाकोलाको बोटलिङ र आपूर्ति सुरु गर्‍यो। सन् १९८९ मा डेनिस बहुराष्ट्रिय कम्पनी काल्सबर्ग ब्रुअरीसँगको संयुक्त लगानीमा स्थापना भएको समूहको लागि अर्को कोशेढुंगा गोर्खा ब्रुअरी हो।

सन् १९९० मा गोर्खा ब्रुअरीद्वारा टुबोर्ग बियरको सुरुवातले नेपालमा उत्पादन भएको पहिलो अन्तर्राष्ट्रिय बियर ब्रान्डको रूपमा चिनियो। काल्सबर्गको उत्पादन १९९५ मा सुरु भयो। कम्पनीले २००४ देखि माउन्ट एभरेस्ट ब्रुअरी अधिग्रहण गरेर फिलिपिनो बियर ब्रान्ड सानमिगुएल बियरको उत्पादन र मार्केटिङ गर्दै आएको थियो। खेतान समूह सन् १९९० र २००० को दशकमा नेपालमा बैंक वित्तीय क्षेत्रलाई बढावा दिने व्यापारिक घरानाहरूमध्ये एक हो।

सन् १९९३ मा हिमालयन बैंक लिमिटेडको स्थापना यस सन्दर्भमा एउटा उदाहरण हो। जहाँ समूहले अन्य नेपाली व्यवसायिक घरानाहरू र पाकिस्तानको हबिब बैंकसँग साझेदारी गरी संयुक्त उद्यम स्थापना गरेको थियो। त्यस्तै समूहले सन् १९९४ मा एभरेष्ट इन्स्योरेन्स कम्पनीको स्थापनासँगै बीमा बजारमा पनि प्रवेश गरेको थियो।

समूहको अर्को प्रमुख बैंकिङ उद्यम सन् २००२ मा लक्ष्मी बैंक लिमिटेडको रूपमा आयो जुन देशको १६औँ वाणिज्य बैंकको रूपमा स्थापित भएको थियो। जुन अहिले लक्ष्मी सनराइज बैंकको रुपमा सञ्चालनमा रहेको छ। सन् २००७ मा खेतान समूहले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी सुरु गर्‍यो।

त्यसअघि खेतान ग्रुपले उड्डयन क्षेत्रमा पनि लगानी गरेको थियो। यसले नेपाल एयर चार्टर सेवा स्थापना गरिएको थियो, जुन नेपालको पहिलो निजी क्षेत्रको वायुसेवा हो। 

सन् १९९२ मा समूहले एभरेष्ट एयरको सुरुवात गर्‍यो जुन १९९० को प्रारम्भिक र मध्येमा प्रमुख आन्तरिक एयरलाइनहरूमध्ये एक थियो।

सन् २००० मा समूहले थाई प्रेसिडेन्ट्स फुड्ससँगको संयुक्त उद्यममा हिमालयन स्न्याक्स एण्ड नूडल्स कम्पनी स्थापना गरेर स्न्याक्स उत्पादनमा प्रवेश गरेको थियो।

खेतान समूहको अहिले आधिकांश बिजनेस भने नेपालमा छैन। लक्ष्मी सनराइज बैंकमा बाहेक प्रत्यक्ष देखिने लगानी छैन। बिक्री गरिएका अधिकांश रकम नेपालबाट लगेर सीपी खेतान अर्थात राजेन्द्र खेतानका भाइले सिंगापुरमा लगानी गरेका छन्। सीपी खेतान सिंगापुरकै गैह्रआवासीय नेपालीसमेत हुन्। उनकै जोडबलमा एकपछि अर्काे कम्पनीको सेयर बिक्री गरेर नेपालबाट खेतान समूह बाहिरिँदै छ।

नेपालमा सन् १९९० मा सुरु भएको टुबोर्ग आज नेपालमा सबैभन्दा बढी बिक्री हुने र सबैभन्दा रुचाइएको अन्तर्राष्ट्रिय ठूला ब्रान्ड हो। जसलाई नेपाल भित्र्याउने श्रेय भने राजेन्द्र खेतानलाई जान्छ। 

विश्वकै चर्चित कम्पनी नेपाल ल्याएका खेतान समूह अहिले भने बाहिरिएको छ। जसले बाँकी रहेको अन्तिम सेयर एक खर्बमा बिक्री गरेर बाहिरिएको छ। नेपालको खेतान समूहका सदस्यसमेत रहेको काल्सबर्ग साउथ एसियाले कार्ल्सबर्ग इन्डिया र नेपालको गोर्खा ब्रुअरीमा रहेको सेयर बिक्री गरेको छ। डेनिस कम्पनी काल्सबर्गले नै नेपाल र भारतको स्वामित्व करिब/करिब पूर्णतः आफैमा लिएको छ।

काल्सबर्ग साउथ एसियाले भारतको कार्ल्सबर्गमा ३३.३३ प्रतिशत र नेपालमा खेतान समूहका राजेन्द्रकुमार खेतानको नाममा रहेको ९.९४ प्रतिशत सेयर बिक्री गर्ने सम्झौता गरेको हो। त्यस्तै सिंगापुरमा रहेको खेतान समूहको कम्पनीको पनि पनि अप्रत्यक्ष होल्डिङ गोर्खा ब्रुअरीमा रहेको थियो। 

डेनिश कम्पनी कार्ल्सबर्गले यो सेयर खरिदका लागि ७४ करोड ४० लाख अमेरिकी डलर तिर्ने सम्झौता भएको उल्लेख गरेको छ। सन् २०२४ भित्रै सेयर खरिद बिक्री सेटल हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

योसँगै भारतमा कार्ल्सबर्गको शतप्रतिशत स्वामित्व हुनेछ भने नेपालमा ९९.९४ प्रतिशत हुनेछ। नेपालमा सानो हिस्सा अरु व्यक्तिमा पनि रहेको छ। सीपी खेतान नेपाली मूलका सिंगापुर आवासी हुन्। उनले एउटै कारोबारबाट एक खर्ब रुपैयाँ कमाउने भएका छन्।

नेपाली व्यवसायमा खेतानको पहिलो पुस्ता किशुनराम खेतान हुन् भने दोस्रो पुस्ता पूर्णमल बिहारीलाल खेतान हुन्। उनीहरूको तेस्रो पुस्ता मोहन गोपाल खेतान हुन् भने चौथो पुस्तामा राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान र चन्द्र प्रकाश (सीपी) खेतान छन्। यति लामो समयदेखिको विरासत बोकेको समूह अब भने नेपाली व्यावसायिक जगतबाट ओझेल पर्दै छ।


प्रकाशित : आइतबार, साउन २० २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend