बिहीबार , असोज १७ गते २०८१    
images
images

ट्रान्सफर्मर मर्मतपछि खार्मीमा विद्युत सेवा सञ्चालनमा

images
शनिबार, साउन १९ २०८१
images
images
ट्रान्सफर्मर मर्मतपछि खार्मीमा विद्युत सेवा सञ्चालनमा

नयाँ ट्रान्सफर्मर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।

images
images

खोटाङ- चट्याङले ट्रान्सफर्मर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफर्मर फेरेपछि सञ्चालनमा ल्याइएको छ। यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफर्मर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो।

images
images
images

उक्त स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ। खार्मीस्थित सोतीमा रहेको ट्रान्सफर्मर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर एक सय २५ रूपैयाँका दरले रकम संकलन गरेर १० हजार रूपैयाँमा ट्रान्सफर्मर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए।

images

'उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ। अहिले उपभोक्ताले रकम संकलन गरी ट्रान्सफर्मर ढुवानी गर्न प्राविकरणलाई सहयोग गरेका छौँ', राईले भने, 'दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफर्मर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन्।'

images

ट्रान्सफर्मर जलेर विद्युत् सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत् मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन्।

अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो। 

साउन १५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युतको ट्रान्सफर्मर जलेको थियो। ट्रान्सफर्मर मर्मत नहुँदा सो क्षेत्रका स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन्। दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा यसअघि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो। लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत नगर्दा उपभोक्तालाई सास्ती भइरहेको स्थानीय राईले बताए।

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउने/जाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन्। लामो दुरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने समस्याले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ। 

ट्रान्सफर्मर जलेर अवरुद्ध भएका स्थानमा नियमित विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए। 'चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफर्मर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ। खार्मीमा उपभोक्ता आफैँले ढुवानी गरेर काम सहज बनाइदिनुभयो। ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ', उनले भने, 'बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफर्मर पठाइसकेका छौँ। सम्भवतः आज बेलुकासम्ममा नियमित विद्युत् सञ्चालन हुन्छ।'

पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युतमा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए। बर्सातको समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर सरसफाइ गरी व्यवस्थापकीय काम थालिएको उनले उल्लेख गरे।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा पुगेको पुगेको छ। बर्सातको समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्म लगाउने गरेको छ। जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेसनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुंगा र सोलुखुम्बुसम्म विस्तार गरिएको छ। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend