बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

निर्माण व्यवसायीको फोर्स लोनलाई भाका नाघेको अवधिका आधारमा कर्जा नोक्सानी गर्न पाउने, बैंकहरूको नाफा बढ्ने

शुक्रबार, साउन १८ २०८१
निर्माण व्यवसायीको फोर्स लोनलाई भाका नाघेको अवधिका आधारमा कर्जा नोक्सानी गर्न पाउने, बैंकहरूको नाफा बढ्ने

भाका नाघेका आधारमा बैंक वित्तीय संस्थाले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कर्जा नोक्सानी कायम गर्न पाउने भएका छन्।

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूको खराब कर्जा घटाउने गरी अर्को सर्कुलर जारी गरेको छ। सबैभन्दा बढी खराब कर्जा रहेका निर्माण व्यवसायीलाई सहज हुने गरी र बैंकहरूको खराब कर्जा घट्ने गरी थप सर्कुलर जारी गरेको हो। 

निर्माण व्यवसायीले ९० दिनका लागि लिन पाउने फोर्स लोनको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंक लचक भएको हो। निर्माण व्यवसायीले बैंक वित्तीय संस्थाहरूबाट पाउने फोर्स लोन तीन महिना अवधिमा भुक्तानी गरिसक्नु पर्छ। 

३० महिनामा भुक्तानी नभएमा अवधिका आधारमा कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै साउन मसान्तसम्म खराब कर्जामा परिणत भइ नसकेका तर भाका नाघेका कर्जालाई भाका नाघेको अवधिका आधारमा कर्जा नोक्सानी गर्न पाउने व्यवस्था गरेको छ। भाका नाघेका आधारमा बैंक वित्तीय संस्थाले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म कर्जा नोक्सानी कायम गर्न पाउने भएका छन्।

विगतमा यस्तो व्यवस्था नभएकाले भाखा नाघेका कर्जालाई खराब कर्जा मानेर शतप्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने व्यवस्था रहेको थियो। यस व्यवस्थाले यस्तो कर्जा दिने बैंकहरूको खराब कर्जा घटाउन, नाफा बढाउन र पुँजीकोषको दबाब घटाउन मद्दत गर्नेछ। 

बैंक वित्तीय संस्थाहरूले सोमबार जारी गर्ने वित्तीय वितरणलाई यस व्यवस्थाले सहजीकरण गर्ने देखिन्छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साउन मसान्तसम्मको उठ्ने गत वर्षको कर्जालाई गत आर्थिक वर्षको वित्तीय विवरणमा समावेश गर्न दिने व्यवस्था गरिसकेको छ। 

यस्तै असल कर्जा नोक्सानी व्यवस्था र कर्जा तिरेको ६ महिनासम्म सुक्ष्म निगरानीमा राखेर कर्जा नोक्सानी गर्न दिने व्यवस्थाले बैंक वित्तीय संस्थाहरूको खराब कर्जा घटाउन सहयोग गरेको छ। 

राष्ट्र बैंकको यस्तो व्यवस्थाले बैंक वित्तीय संस्थाहरूको खराब कर्जा घटाउन, नाफा बढाउन र पुँजीकोषको दबाब कम गराउन मद्दत गर्ने देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो सर्कुलरले नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई विशेष राहात पुर्‍याउने देखिन्छ। यी दुई बैंकले निर्माण व्यवसायीले सबैभन्दा धेरै फोर्स लोन दिएका छन्।


प्रकाशित : शुक्रबार, साउन १८ २०८११७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend