शुक्रबार, भदौ ३ गते २०७९

उदाहरणीय कौसी खेती

images
विजनेस न्युज
उदाहरणीय कौसी खेती

काठमाडौं- काठमाडौं तारकेश्वर नगरपालिका-४ मा बस्ने ४७ वर्षीय पुरुषोत्तम अधिकारी कौसी खेतीमा उदाहरणीय बनिरहेका छन्। 

images
images
images

आजभोलि कौसी खेती अधिकांशका लागि नयाँ लाग्न सक्छ। कोभिड-१९ का कारण लकडाउन (बन्दाबन्दी) का समयमा धेरै मानिसले समयको सदुपयोग गर्न कौसी खेती गर्न थाले पनि अधिकारीका लागि भने यो खेती नयाँ होइन्।

नुवाकोट जिल्लाको साबिक तारुका गाउँ विकास समिति (हाल तारकेश्वर गाउँपालिका-२) मा जन्मिएका उनी सानैदेखि कृषि पेशामै होमिए। कृषिबाटै व्यावसायिक बन्न सकिन्छ भन्ने जानकारी पाएपछि अधिकारीले २०५८ सालबाट आफ्नै लगानीमा व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गरेका थिए।

गाउँमै रहँदा उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेपछि २०६५ सालमा काठमाडौं आएर स्नातक तहमा इतिहास पढ्न थाले। पारिवारिक  व्यवहारको दायित्व आफैँमाथि बढेकाले अधिकारीले  स्नातकभन्दा माथि पढाइलाई निरन्तरता कठिन भएपछि  सँगै नोकरी पनि गरे तर  कृषि पेसा भने  केही समयका लागि छाडे।

काठमाडौं आइसकेपछि उनले अर्बन एग्रिकल्चर (कौसी खेती)का बारेमा केही जानकारी पाए पनि आफ्नै घर नहुँदासम्म त्यसलाई उपयोग गर्न सकेका थिएनन्। विसं २०७१ मा तारकेश्वर नगरपालिका-१० मा आफ्नै घर बनाउन सुरु गरिसकेपछि भने अधिकारीले कौसी खेती गर्ने सोच बनाए।

उनले भने, 'कौसी खेती गर्नका लागि साथीमार्फत थाहा पाएर छतलाई सुरुमा नै वाटरप्रुफ बनाएँ।'

विसं२०७२को भूकम्पअघि कौसी खेतीका लागि अधिकारीले छतमा माटो भरिसकेका थिए। छतमा माटो भर्दा उनले विभिन्न व्यक्तिबाट विभिन्न कुराहरू सुने। धेरैको भनाइ थियो, ‘छतमा माटो भर्दा घरले धान्दैन।’ तर उनले कसैको पनि कुरा सुनेनन्। लगत्तै भूकम्प गए पनि घरलाई खासै क्षति पुर्‍याएन। 

भूकम्पपछि भने आफूले कौसी खेतीलाई निरन्तरता दिन थालेको जानकारी दिँदै अधिकारीले भने, 'कौसीमा उत्पादन गरिएको तरकारीले आठजनाको परिवारलाई मज्जाले पुगेको छ, आफूसँग धेरै भयो भने साथीहरूलाई पनि बाँड्ने गरेको छु।'

अन्य तरकारीभन्दा च्याउ बढी उत्पादन हुने भएकाले आफूले बिक्री पनि गर्ने गरेको उनले बताए। ओरेगानो पनि कौसीमा नै उत्पादन गरिएको छ। जुन पिज्जा बनाउन प्रयोग हुने र  बिक्री पनि सहजै हुँदै आएको छ। त्यसैगरी फलफूललगायत बिरुवा पनि आफूले उत्पादन गरेर बिक्री गर्दै आइएको अधिकारीले जानकारी दिए। सामान्य खेतीभन्दा कौसी खेतीको लागत बढी हुने भएकाले बजारीकरण गर्दा लागत मूल्य पनि नउठ्ने उनको भनाइ थियो। बिस्तारै काठमाडौं उपत्यकाका कौसी खेती गर्ने कृषकलाई जोडेर एउटा स्टलकै रुपमा तरकारी बिक्री गर्ने योजना बनाएको पनि अधिकारीले बताए।

कौसी खेतीले रासायनिक तरकारी विस्थापन गर्ने विश्वासमा रहनुभएका उनले कौसी खेतीका लागि तापक्रमअनुसार कुन मौसममा कुन तरकारी लगाउन सकिन्छ भन्ने जानकारी पहिले नै लिनु आवश्यक रहेको जानकारी दिए। 'कौसीमा तरकारी खेती गर्न कोकोपिट, माटो र कम्पोस्ट मलको उपयोग मिलाएर मात्र लगाउनु उपयुक्त मानिन्छ', अधिकारीले जोड दिए, 'तरकारीका लागि आवश्यक कम्पोस्ट मल आफैँले घरमै उत्पादन गर्न सकिन्छ, त्योे पनि सुरुमा कसरी बनाउने भन्ने जानकारी लिनु आवश्यक छ।'

हाल उपत्यकाका सयौँ रोपनी जग्गा खाली (कौसीको क्षेत्र) रहेको उनको आङ्कलन थियो। कौसीलाई मात्र उपयोग गर्न सके उपत्यकामा पर्याप्त मात्रामा प्राङ्गारिक तरकारीे बजारीकरण गर्न सकिने अधिकारीले बताए। काठमाडौं उपत्यकाको तापक्रम तरकारी खेतीका लागि उपयुक्त भएकाले कौसी खेती यहाँका बासिन्दालाई स्वरोजगारको बलियो माध्यम हुने पनि उनको जिकिर थियो।

हिजोआज उपत्यकामा कौसी खेतीको लहर नै चलेको छ तर त्यसलाई व्यावसायिकरुपमा थोरैले मात्र अगाडि बढाएका छन्। राम्रोसँग खट्न सके कौसी खेतीबाटै मासिक ५० हजारभन्दा बढी आम्दानी गर्न सकिनेमा विश्वस्त अधिकारीले भने, 'छतलाई नै व्यवस्थित बनाएर विभिन्न खालका फलफूलका बिरुवाहरू जस्तै : ड्रागन फ्रुट, ओरिगानो, पपितो मेलनलगायत बिरुवाहरू बिक्री गर्न सके श्रम गर्न विदेश नै जानुपर्छ भन्ने छैन।'

कौसी खेतीमा पोख्त भइसकेका उनले हालसम्म तालिम भने सञ्चालन नगरे पनि  कौसी खेती गर्न चाहने साथीभाइहरूलाई जाने जति सिकाउनाका साथै आवश्यक परेमा आफूले तालिम पनि दिने सोचाइ बनाएका छन्। कौसी खेतीलाई प्रोत्साहन गर्न नेपाल सरकारले समेत अनुदान उपलब्ध गराउँदै आए पनि त्यसको उपयोग टाठाबाठा मानिसहरूले मात्र गरेको गुनासो गरेका अधिकारीले भने, 'कौसी खेतीका लागि त्यति धेरै लागत नपर्ने भएकाले  आफ्नै लगानीमा पनि सुरु गर्न सकिन्छ।'

'कौसी खेती परिवारमा खुसियाली साटासाट गर्ने बलियो माध्यम पनि बनेको छ,' उनले भने, 'ठूलो फर्सी फले पनि घरमा खुसियाली छाएको छ। त्यस्तै, ठूलो पातको साग अनि घिरौँला फले पनि त्यसले परिवारमा खुसी बढाएको छ।'

काठमाडौं उपत्यकामा हरियाली वातावरण देख्न धेरै मुस्किल हुने गरेकामा आफ्नै कौसी खेतीले त्यो वातावरणको अनुभूत घरमै गर्न पाइएको बताएका अधिकारीले गरेको कौसी खेती हेर्न धेरै मानिस पुग्ने गरेका र यसबाट घर फोहोर हुने भए पनि त्यसले छुट्टै खालको आनन्द दिने बताए।

काठमाडौं उपत्यकामा हरियालीका लागि स्थानीय सरकारले कौसी खेतीको अवधारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका उनले घर बनाउँदादेखि नै मानिसहरूले कौसी खेतीका योजना बनाउनुपर्ने र यस्ता व्यक्तिलाई सरकारले आवश्यक व्यवस्था मिलाइदिने व्यवस्था भए आयातीत तरकारीबाट छुटकारा पाइन्थ्यो भने।

हाल अधिकारीले  कौसीमा विभिन्न थरीका साग, ब्रोकाउली, बन्दा, लसुन, ड्रागन फ्रुट, पपितो मेलन, आलुलगायत नगदेबाली लगाउनाका साथै  मलका लागि केही कुखुरा पनि पाल्दै आएका छन्। कौसी खेती गर्ने किसान तथा उद्यमशील जो कोहीलाई जैविक मल तथा मूल बीउ निःशुल्क वितरण कार्यक्रम छिट्टै सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए। जैविक मल एकपटक तयार बनाएपछि वर्षाैंसम्म जीवित रहने हुँदा किसानमा रासायनिक मलखादमा हुने खर्च बचत र जैविक खेतीबाट मानव स्वास्थ्यलाई फाइदा हुने देखिन्छ। रासस 

images

प्रकाशित : मंगलबार, पुस २० २०७८०४:०७
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ