पर्सा- वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा वीरगञ्ज नाका हुँदै २ हजार १ सय ८६ वटा चारपांग्रे र २ हजार ६ सय १३ वटा दुईपांग्रे सवारी साधन आयात भएको छ।
वीरगञ्ज नाका हुँदै गतआवमा १ हजार ४ सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ। सोही अवधिमा यो नाका हुँदै ५ सय ११ वटा विद्युतीय सवारी आयात भएको देखिएको छ।
वीरगञ्ज भन्सार कार्यालय हुँदै गत आवमा २ अर्ब १९ करोड ८९ लाख ९९ हजार बराबरका इनधनबाट चल्ने १ हजार ४ सय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले ४ अर्ब ९६ करोड ९२ लाख १८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।
आव २०७९/८० मा भने यो कार्यालय हुँदै १ अर्ब ७८ करोड ८७ लाख ६७ हजार मूल्य बराबरको १ हजार १ सय ४९ वटा जीप, कार र भ्यानहरु आयात भएका थिए। ती सवारीसाधन आयात हुँदा राज्यले ४ अर्ब ९ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा २ सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा सवारीसाधनको आयात घट्दा पनि लक्ष्य अनुसारको राजस्व पछ्याउन नसकिएको बताए। 'गत आवमा आर्थिक मन्दी र सवारीसाधनको आयातमा कमी हुँदा राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ', उनले भने।
आव २०८०/८१ मा एक अर्ब १४ करोड ५० लाख ६७ हजार मूल्य पर्ने ५ सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधन आयात हुँदा कार्यालयले ५८ करोड १३ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालय काअनुसार आव २०७९/८० मा यो भन्सार कार्यालय हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने तीन सय ९६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए। सो आवमा यो कार्यालयले भन्सारवापत ६० करोड ८८ लाख ६२ हजार संकलन गरेको थियो।
आव २०८०/८१ मा ३५ करोड ३८ लाख ४० हजार मूल्य पर्ने २ सय ४० वटा डबल क्याव पीकअप सवारी आयात भएको थियो। सो गाडी आयात हुँदा ५९ करोड ८४ लाख ४१ हजार राजस्व संकलन भएको थियो। आव २०७९/८० मा भने एक अर्ब १० करोड १३ लाख मूल्य पर्ने ७ सय ७५ वटा डबल क्याव पीकअप गाडी आयात भएको थियो। ती गाडी आयात हुँदा राजस्व भने एक अर्ब ५५ करोड ४३ लाख १९ हजार संकलन भएको थियो।
आव २०८०/८१ मा २७ करोड ४४ लाख ८९ हजार मूल्य पर्ने २ हजार ६ सय १३ वटा दुईपांग्रे सवारी आयात भएको थियो। जसबाट ३४ करोड ५४ लाख १० हजार राजस्व संकलन भएको छ। आव २०७९/८० मा भने ८३ करोड १९ लाख दुई हजार मूल्य पर्ने आठ हजार सय ९५ थान दुईपांग्रे आयात हुँदा एक अर्ब १८ लाख राजस्व संकलन भयो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा दुईपांग्रेका सङ्ख्याको आधारमा ६९ दशमलव ९५ प्रतिशत र राजस्वको आधारमा ६५ दशमलव ५२ प्रतिशतले घटेको छ।
आव २०८०/८१ मा ९९ करोड ८४ लाख २३ हजार मूल्य पर्ने ४ सय ७८ वटा ट्रक/मिनिट्रक आयात हुँदा ५७ करोड नौ लाख २४ हजार राजस्व संकलन भएको छ। आव २०७९/८० मा भने ८३ करोड ७४ लाख ६९ हजार मूल्यका तीन सय ५४ वटा ट्रक, मिनि ट्रकको आयात हुँदा राज्यले ४८ करोड ३२ लाख नौ हजार राजस्व संकलन गरेको थियो।
आव २०७९/८० को तुलनामा सङ्ख्यात्मक रुपमा ती गाडीको आयात ३५ दशमलव ३ प्रतिशतले बढेको छ भने सोही अवधिमा राजस्व पनि १८ दशमलव १५ प्रतिशतले बढेको छ। गत आवमा आयात भएका सवारीसाधन र सवारीसाधनसँग सम्बन्धित पार्टसले कुल राजस्व संकलनमा आठ दशमलव २८ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ। रासस