बिहीबार , असोज १७ गते २०८१    
images
images

४०० केभी नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग तीन करोड ८८ लाख डलरको ठेक्का सम्झौता

images
बुधबार, साउन १६ २०८१
images
images
४०० केभी नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग तीन करोड ८८ लाख डलरको ठेक्का सम्झौता

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

images
images

काठमाडौं- एमसीए-नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ठेक्का सम्झौता गरेको छ। 

images
images
images

बुधबार सो कम्पनीसँग ३ करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता भएको हो। बुधबार आयोजित एक समारोहमा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ। निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ। उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए नेपालले जनाएको छ।

images

सम्झौतासम्बन्धी कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे।

images

सो समारोहमा अर्थ मन्त्रालयका सचिव एवं एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले भने, 'यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए-नेपालले गरेका निरन्तर प्रयासहरूको राम्रो संकेत हो। नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ।'

यस्तै अमेरिकी राजदूत थम्प्सनले यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि सबैले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे। 'समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्दैछ', उनले भने।

एमसीए-नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु महत्वपूर्ण कोशेढुंगा भएको बताए।

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ। अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ।

एमसीए-नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ। त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ। एमसीए-नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।


प्रकाशित : बुधबार, साउन १६ २०८११५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend