काठमाडौं- 'धरान डे' उद्घाटनका लागि धरानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले टेम्पो चढेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा धरान उपमहानगरपालिका-६, पानमारामा फोहोरमैला प्रशोधन गरी उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गरेका हुन्।
प्रधानमन्त्री देउवा मंगलबार नै हेलिकप्टरमार्फत धरान पुगेका थिए। उनले पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरे।
फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो। यो योजना सुरूमा २४ करोडमा निर्माण सक्ने भने पनि कोरोनाका कारण लागत २६ करोड पुगेको थियो।