शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

हवाई दुर्घटनासँग कसरी जोडिन्छ एयरलाइन्सको वित्तीय अवस्था?

images
शुक्रबार, साउन १८ २०८१
images
images
हवाई दुर्घटनासँग कसरी जोडिन्छ एयरलाइन्सको वित्तीय अवस्था?

एयरलाइन्सको व्यापारमा सबैभन्दा पहिलो प्राथमिकता नै सेफ्टी हो। सेफ्टीका लागि एयरलाइन्स कम्पनी वित्तीय रुपमा मजबुत हुन आवश्यक छ।

images
images

काठमाडौं- २०८० को जेठ १० गते आन्तरिक हवाई सेवा दिँदै आएको सौर्य एयरलाइन्सले कर्मचारी कटौतीको सूचना जारी गर्‍यो। ८ वर्षदेखि सीआरजे जहाजमार्फत हवाई सेवा प्रदान गर्दै आएकोमा विगत ढेड वर्षदेखि नोक्सानी ब्यहोर्दै आएको विषय एयरलाइन्सले नै जारी गरेको सूचनामा उल्लेख थियो।

images
images
images

सौर्य एयरलाइन्सले सीआरजे जहाज उडानमा खर्च बढी भएका कारण एटीआर ७२-५०० जहाज भित्र्याउँदै सीआरजे जहाज उडान नगर्ने उद्घोष गरेको थियो।

एयरलाइन्सका महाप्रबन्धक गोपाल भट्टराईले जारी गरेको सूचनामा एटीआर ७२-५०० जहाज भित्र्याउने र भइरहेका सीआरजे जहाज बेच्न केही समय लाग्ने हुँदा एटीआर जहाज नभित्र्याउँदासम्म नागरिक उड्डयन ऐन २०५३ को अधिनमा रहि तथा सेफ्टी स्टार्न्डर्डलाई बरकरार राख्दै कम्पनी मितव्यही ढंगबाट सञ्चालन गर्ने निर्णय भएको उल्लेख थियो। 

images

यो सूचनाबाट के सन्देश दिइएको थियो भने सौर्य एयरलाइन्स चरम आर्थिक संकटमा छ। आर्थिक संकट टार्न नसकेपछि कर्मचारी कटौती मात्रै नभए एयरलाइन्सको एओसी जोगाइराख्न केही गन्तव्यमा दिनको एक/एक वटामात्रै उडान गर्ने गरेको थियो। २०८० को जेठमा नै सौर्य एयरसँग रहेका तीनवटा जहाजमात्रै उडान योग्य रहेकोमा दुईवटा जहाजको उडान आवर तीनसय घण्टाभन्दा कममात्रै थियो।

images

सोही कारणले २०८० को पुससम्ममा एटीआर जहाज ल्याउने र त्यो बेलासम्म कमभन्दा कम उडान गरिरहने संकेत एयरलाइन्सले गरेको थियो। उडान आवर सकिनै लाग्दा एयरलाइन्सले जहाजलाई नियमित गर्नु पर्ने सी-चेकमा समेत नलैजाने विषय प्राधिकरणलाई मौखिक रुपमा जानकारी गराएको थियो। 

आर्थिक रुपमा संकट भोगिरहेको सौर्यले नयाँ एटीआर जहाज भने भित्र्याउन सकेन। सौर्यमा लगानी गरिरहेको भारतको कुबेर ग्रुपले समेत एटीआर जहाज खरिदमा लगानी गर्न आनाकानी गरेपछि जहाज खरिद हुन नसकेको स्रोतको दाबी छ। एटीआर जहाज ल्याउन नसकेपछि कम्पनीले फेरि सीआरजे जहाजलाई सी-चेकमा पठाउने निर्णय गर्‍यो।

सोहीअनुरुप केही महिना अगाडी मात्रै उडानयोग्य रहेको जहाजमध्ये एउटा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङगरमा लगेर  सी-चेक सम्पन्न गरिएको थियो। त्यसपछि गएको ९ गते दुर्घटना भएको जहाज दुर्घटनाअघि ल्याण्डिङ गियरमा समस्या आएर काठमाडौं विमानस्थलमा ग्राउन्डेड थियो।

ल्याण्डिङ गियर मर्मत गरेर जहाज यही साउन ९ गते सी-चेकका लागि पोखरा लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। जहाजमा सवार एयरलाइन्सकै १६ जना र एकजना कर्मचारीकी श्रीमती र बच्चासमेत गरी १८ जनाको निधन भयो। दुर्घटनामा घाइते भएका पाइलटको भने उपचार भइरहेको छ। 

एयरलाइन्स यो अवस्थामा आइपुग्नुमा विभिन्न प्राविधिक कारण होला। जहाज दुर्घटना जाँचबुझ आयोगले केही निष्कर्ष निकाल्ने नै छ। तर जहाज दुर्घटनासम्म आइपुग्नुको पछाडिको प्रमुख कारणमध्ये एक एयरलाइन्सको वित्तीय अवस्था हो। सौर्यको वित्तीय अवस्था कमजोर रहेको विषय उसको गतिविधिबाट नै स्पष्ट हुन्छ।

सौर्य एयरलाइन्स सुरुमा एउटा जहाज भित्र्याउँदै चार्टर उडानबाट आन्तरिक हवाई उडानमा प्रवेश गरेको थियो। पछि जहाज थप्दै नियमित उडानका आएको थियो। कम्पनीले तीनवटा जहाज भित्र्याएको थियो। तर कम्पनीले तीनवटै जहाज सँगसँगै एकदिन पनि नियमित उडानमा ल्याउन सकेको थिएन।

एउटा जहाज त ५/६ वर्षदेखि ग्राउन्डेड नै छ। जहाज उडानयोग्य छैन। उक्त जहाजमा भएको काम लाग्ने पार्टपुर्जा सबै झिकेर अरु जहाजमा प्रयोगमा ल्याइएको छ। कम्पनी वित्तीय रुपमा सफल थियो भने अर्बौं रुपैयाँ हालेर ल्याएको जहाज मर्मत गरेर नियमित उडानमा ल्याउने थियो।

सौर्य एयरलाइन्स वित्तीय रुपमा कमजोर भएकै कारण एउटा जहाज ग्राउन्डेड भइरह्यो। भएका दुईवटा जहाज पनि कमभन्दा कममात्रै उडान गरिरहेको थियो।

एयरलाइन्सको व्यापारमा सबैभन्दा पहिलो प्राथमिकता नै सेफ्टी हो। सेफ्टीका लागि एयरलाइन्स कम्पनी वित्तीय रुपमा मजबुत हुन आवश्यक छ। वित्तीय रुपमा कमजोर भएकै कारण सौर्यको जहाज दुर्घटनासम्मको अवस्था निम्तिएको प्राधिकरणका कर्मचारी तथा हवाई विज्ञहरू बताउँछन्। 

आर्थिक संकट हुँदा सेफ्टीमा कसरी असर गर्छ त्यो विषय अन्य केही प्रतिनिधि घटनाबाट पनि थाहा हुन्छ। 

आर्थिक संकटको चंगुलमा फसेको गुण एयरलाइन्सको २०७९ फागुन १ गतेदेखि उडान बन्द छ। गुण एयरलाइन्सको 'एओसी'समेत निलम्बन भइसकेको छ। संकटमा रहेको एयरलाइन्सले फेरि उडानमा फर्कने प्रयास गर्दै छ। उसले इजाजत नवीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ६ करोड रुपैयाँभन्दा बढी बक्यौता तथा कर्मचारीको बाँकी तलब भुक्तानी गरेर गुण एयरलाइन्स इजाजत नवीकरणमा जुटेको छ।

एयरलाइन्सका मालिक राजेन्द्र शाक्यले गुण ग्रुपको लाजिम्पाटमा रहेको कर्पोरेट अफिस बेचेर विमानस्थलको बक्यौता तिरेका हुन्। यस्तो अवस्थामा फेरि १८ महिनादेखि बन्द रहेर उडानमा नै नरहेका जहाजलाई उडानयोग्य बनाउन पनि ठूलै खर्च हुन्छ। एयरलाइन्सले कसरी वित्तीय व्यवस्थापन गरेको छ त्यसमा अध्ययन आवश्यक छ।

किनभने नियमित उडानमा रहँदा ७ वटा जहाज भएपनि ४ वटाभन्दा बढी जहाज उडानमा ल्याउन नसकेको गुण एयरलाइन्सलाई फेरि २/३ वटा जहाज उडानयोग्य बनाएको भरमा उडानमा आउन दिन नहुने प्राधिकरणकै कर्मचारी बताउँछन्।

प्राधिकरणले पनि गुणलाई यही साना प्रकृति जेट स्ट्रीम जहाजबाट उडानमा फर्कन सम्भव नभएको संकेत गराइसकेको छ। तर एयरलाइन्सका मालिक भने एओसी ब्युँताउनकै लागि हवाई सुरक्षाको कुनै ख्याल नगरी उडानमा आउने तयारी गरिरहेका छन्। 

यसैगरी आन्तरिक उडानमा नै रहेको श्री एयरलाइन्सले पनि आफूसँग भएका सबै वायुयान उडानमा ल्याउन सकेको छैन। श्री एयरलाइन्ससँग ११ वटा जहाज छन्। जसमा ७ वटा 'क्यू ४०० ड्यास' जहाज छन्।

७ वटा जहाज नै श्रीले एकैपटकमा सञ्चालनमा ल्याउन सकेको छैन। श्रीसँग रहेको चारवटा जेट जहाजमध्ये दुईवटा मात्रै आलोपालोमा उडान गरिरहेको अवस्था छ। यसबाट के थाहा हुन्छ भने श्री पनि आर्थिक संकटमा नै छ भने संकेत गर्छ। श्री एयर संकटमा नभएको भए किन अर्बौं हालेर नेपाल भित्र्याएको जहाज नउडाइ थन्क्याएर राखिएको छ?

श्रीसँग यसबाहेक ७ वटा हेलिकोप्टरसमेत छ। श्री एयरले आफूभन्दा कम जहाज भएका कम्पनीको जति पनि किन उडान गर्न सकेको छैन त? यसबाट के थाहा हुन्छ भने श्री एयर आर्थिक संकटमा नै परिरहेको छ। 

यसैगरी काठमाडौंबाट पोखरा उडानकै क्रममा २०७९ माघमा एटीआर जहाज दुर्घटनासँगै आर्थिक संकटमा परेको यती एयर भने नयाँ लगानीकर्ता भित्र्याउँदै सुधारोन्मुख छ।

यती एयरलाइन्स अहिले नै वित्तीयरुपमा पूर्ण सफल भइसकेको भनेर भन्न मिल्ने अवस्था नरहेको प्राधिकरणकै कर्मचारी बताउँछन्। यती एयरलाइन्समा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ४९ प्रतिशत लगानी गरेको छ। लगानी भित्र्याउँदै एयरलाइन्सले दुईवटा जहाज पनि थपिसकेको छ।

विस्तारै यतीले गुमेको आफ्नो बजार हिस्सा कभर गर्दै छ। तर पनि एयरलाइन्सको बिजनेस भनेको अत्तिनै संवेदनशील विषय हो। वित्तीय रुपमा सोचेअनुरुप लगानीको प्रतिफल नपाएको अवस्थामा लगानी झिक्दा फेरि संकट नआउला भन्न सकिन्न।

यसबाहेक स्टलमा उडान गर्ने कम्पनीहरू पनि व्यापार घटेसँगै संटकतर्फ धकेलिएका छन्। 

प्राधिकरण कर्मचारीका अनुसार अहिले आन्तरिक उडानमा रहेका कम्पनीमध्ये वित्तीय रुपमा कुनै पनि हिसाबले समस्या नरहेको एयरलाइन्स बुद्ध एयरमात्रै हो।

आर्थिक रुपमा सफल बुद्ध एयरले सेफ्टीमा लगानी पनि बढाइरहेको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पनि सेफ्टीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनीले काम गरिरहेको र कम्पनी वित्तीय रुपमा बलियो रहेको बताएका छन्।

वित्तीय रुपमा संकट हुँदा सेफ्टीमा कसरी पुग्छ असर?

सबैभन्दा पहिला स्पष्ट हुनुपर्ने विषय हो- सन्तुलन। धेरै मान्छेको सुरक्षासँग जोडिएको व्यवसाय भएका कारण एयरलाइन्सका लागि त झन धेरै सन्तुलन चाहिन्छ। कुनै पनि कम्पनीले प्रोटेक्सन (सुरक्षा) मा मात्र ध्यान दियो र प्रोडक्सन (सञ्चालन) मा ध्यान दिएन भने पनि सन्तुलन हुँदैन। 

सबै लगानी सेफ्टीमा मात्र गयो र सञ्चालनमा ध्यान दिइएन भने कम्पनीको वित्तीय दिगोपन नै खस्किन्छ र अन्तत: कंगाल हुन्छ। सञ्चालन भनेको मानव संसाधानदेखि वित्तीय योजनासम्म पर्छन्। नाफा, लगानी र सञ्चालन यसैमा पर्छन्। जहिले पनि उड्डयनमा प्रोटेक्सन र प्रडक्सनमा सन्तुलन मिल्नुपर्छ। सन्तुलन कायम हुनेगरी एयरलाइन्स कम्पनी चल्नुपर्छ भन्ने सामान्य मान्यता नै हो।

यो कुरालाई नियामकले सुरूदेखि नै लागु पनि गरेको हुन्छ। एओसी जारी गर्नुभन्दा पहिला आवेदनसँगै वृहत डकुमेन्टेसनको चरण पार गर्नुपर्छ। सर्टिफिकेसन फेजसम्म आइपुग्दा कुनै पनि एयरलाइन्स कम्पनीले कहाँबाट जहाज ल्याउँछ, कसरी लगानी जुटाउँछ र त्यो लगानीको स्रोत के हो भन्नेसम्मको आधार हेरिन्छ।

कस्तो कर्मचारी राख्छ, कर्मचारीलाई तलब दिन सक्छ कि सक्दैन, नियमित गर्नुपर्ने अनिवार्य जहाजको परीक्षणमात्र होइन अरु पनि जाँच र सुरक्षाका काम गर्न सक्छ कि सक्दैन भनेर हेरिन्छ। कुन सेक्टरमा जहाज उडाउँछ र त्यसबाट कति र कसरी आम्दानी हुन्छ साथै त्यसले त्यो सन्तुलन कायम हुन्छ कि हुँदैन भनेर हेरिन्छ।

यसमा सघन अध्ययन हुन्छ। यदि वित्तीय स्वास्थ्य राम्रो देखिँदैन भने त उसले धेरै कुरा लुकाउँछ नै। यस्तोमा नियामक भनेको डाक्टरजस्तो मात्र हो, कुनै पनि बिरामीले सबै कुरा ठीक छ भनेर भनेपछि डक्टरले थप जाँचमा जबरजस्ती गर्दैन।

एयरलाइन्स कम्पनीले देखाएको तथ्यांकमै नियामक भर पर्नुपर्छ। तर यदि उसको अवस्था बिग्रिएको छ भने त कमजोर वित्तीय अवस्थाको असर सेफ्टीमा पर्छ। त्यस्तोमा उसले समयमै जहाजको मर्मत गर्न सक्दैन, कर्मचारीलाई समयमा तलब दिन सक्दैन। यसो भएमा कर्मचारी रुष्ट हुन्छन्। 

कर्मचारी रुष्ट भएपछि त्यसको असर काममा देखिन्छ। उनीहरूले कामको गुणस्तरमा सम्झौता गर्न सक्छन्। तीन घण्टा लाग्ने काम एक घण्टामै टिपनटापन गरेर टार्न सक्छन्। भोको पेटमा सेफ्टी कायम हुनै सक्दैन। पाइलटले भोको भेटमा जहाज उडान त गर्न सक्दैन नि। यसमा मनोवैज्ञानिक प्रभाव पर्छ। मानवीय पक्षदेखि लिएर प्राविधिक कुरासम्ममा असर पर्छ। 

एयरलाइन्सको वित्तीय अवस्था राम्रो नभएपछि मेसिन (जहाज), कर्मचारी, प्राविधिकसम्म कुनै पनि कुरा समयमै हुन सक्दैन। कुनै पनि कम्पनीको वित्तीय अवस्था खराब भएमा त्यसले सेफ्टीमा असर गर्छ नै।

यदि सेफ्टी बिग्रियो भने त्यसले ठूलो जोखिम ल्याउँछ। तर वित्तीय रुपमा कमजोर भएर जहाज ग्राउन्डेड राखे पनि कम्पनीको जहाजको रजिष्ट्रेसन खारेज गर्न अधिकार छैन। तर अब एयरलाइन्स कम्पनीको वित्तीय अवस्थालाई सुक्ष्म रुपले अध्ययन गर्ने आवश्यक भने भइसकेको छ।


प्रकाशित : शुक्रबार, साउन १८ २०८११०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend