बिहीबार , असोज १७ गते २०८१    
images
images

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

images
मंगलबार, साउन १५ २०८१
images
images
किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

सांसद रुक्मणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताइन्। उनले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानार्कषण गराइन्।

images
images

काठमाडौं- सांसदहरुले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दूधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए। उनले दूध किसानको समस्यामा सरकारको ध्यानार्कषण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गरे।

'आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौँ। तर बडो दुःखको कुरा किसानहरुले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ', सांसद सापकोटाले भने, 'उता दुग्ध विकास संस्थान करिब विघटनको संघारमा छ। विषयको गाम्भीरता बुझेर सभामुखमार्फत रुलिङको लागि माग गर्दछु।'

images

सांसद रामकृष्ण यादवले तराई-मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गरे। सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गरे। सांसद रुक्मणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताइन्। उनले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानार्कषण गराइन्।

images

सांसद राजेन्द्र केसीले उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसाका लागि सिफारिस गर्नुभएका व्यक्तिबारे प्रश्न उठाउँदै यसबारे सदनलाई जानकारी गराउन सभामुख समक्ष आग्रह गरे। 'यी व्यक्ति फरक-फरक पेसामा आबद्ध छन्, अन्तर्राष्ट्रिय महिलाकर्मी होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन योग्य छैनन्', सांसद केसीले भने, 'कस्ता कस्ता व्यक्तिलाई सिफारिस गर्नुभयो? कुन प्रयोजन र उद्देश्यका लागि यी व्यक्ति सिफारिस गर्नुभयो। त्यसको सभामुखमार्फत जानकारीका लागि माग गर्दछु।'

सांसद रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्ला हुँदै जाने मध्यपहाडी राजमार्गमा स्थानीय किसानको जमिन परेको तर अहिलेसम्म पनि उक्त सडकमा पर्ने जग्गाको लगत कर तिर्न बाध्य भएको भन्दै तत्काल लगत कर कट्टा गर्न माग गरिन्।

'बनेपा-बर्दिवास सडक निर्माणका क्रममा स्थानीयलाई फिर्ता गर्ने भनिएका जग्गा हालसम्म फिर्ता भएको छैन। स्थानीयलाई घर बनाउन र बेच्ने वातावरण बनाउनुपर्छ', सांसद मगरले भनिन्।

सांसद भगवती चौधरीले देशभर बाढीपहिरोबाट पीडितहरुको समस्या समाधानका लागि सरकारको ध्यानार्कषण गराइन्। सांसद मंगलप्रसाद गुप्ताले कपिलवस्तु जिल्लामा बाढीले प्रभावित भएकोतर्फ ध्यानार्कषण गराउदै थप क्षति न्यूनीकरणका लागि बाधँको व्यवस्था गर्न माग गरे।

सांसद रामशंकर यावदले सिरहा  र सप्तरीमा  बलान नदीमा देखिएको समस्या समाधानको माग गरे पनि सरकारको ध्यानार्कषण नभएको भन्दै गुनासो व्यक्त गरे। सांसद भीमप्रसाद आचार्यले सुनसरी र विराटनगर जिल्लामा भन्सारको व्यवस्थापन र सञ्चालनका लागि सरकारको ध्यानार्कषण गराए।

यस्तै, सांसद मनिष झाले जहाज दुर्घटनाको अनुसन्धानका क्रममा संकलन गरिएको ‘भ्वाइस रेकर्ड’ बाहिरिएकाबारे अनुसन्धान गर्नुपर्ने बताए। सांसद महेशकुमार बर्तौलाले स्वास्थ्य बीमा कार्डमार्फत देशका जुनसुकै उपचार पाउने व्यवस्था गर्न माग गरे।

सांसद महेश बस्नेतले इलामका लोपोन्मुख लोक्पा जातिको उक्त जिल्लामा रहेको साँस्कृतिक धरोहर एवं पुरातात्विक महत्वको गुम्बा संरक्षणका लागि माग गरे। सांसद मीना तामाङ्ले अघिल्लो सरकारले उठाएको मुद्दा वर्तमान सरकारले उल्टाउने काम गरेकोमा शंका व्यक्त गरिन्।

सांसद मुक्ताकुमारी यादवले माध्यमिक शिक्षा परीक्षा(एसइई)को पुरक परीक्षाको नतिजा प्रकाशन समयमा गर्न अग्रीम ध्यानार्कषण गराइन्। सांसद मेनकाकुमारी पोखरेलले दाङ जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणको मर्मत नहुँदा बिरामीले सास्ती भोग्नुपरेको भन्दै स्वास्थ्य उपकरण खरिददेखि मर्मत सम्भारका लागि सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराइन्।

सांसद मैना कार्कीले मानसिक स्वास्थ्य विकराल बन्दै गएको तथ्यांक प्रस्तुत गर्दै यसबारे सचेतना फैलाउन र उपचारको पहुँच सबैमा पुर्‍याउनका लागि स्थानीय तहको संरचनालाई सक्रिय बनाउन आग्रह गरे।

सांसद रघुजी पन्तले संस्कृति र भाषा संरक्षणमा योगदान पुर्‍याउने साप्ताहिक पत्रिकालाई आवश्यक विज्ञापन र बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराए। सांसद रणेन्द्र बरालीले भ्रष्टाचारको मुद्दामा सरकार व्यक्ति विशेष लचिलो हुन नहुनेमा जोड दिए। सांसद राजेन्द्र बजगाइँले सांसदले सदनमा उठाएको विषयलाई नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकले सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति आपत्ति जनाए।

सांसद रामकुमार राईले सरकारले एकैपटक धेरै सचिव र राजदूत सरुवा एवं फिर्ता गर्ने गरेको निर्णयप्रति आशंका व्यक्त गरे। सांसद बिजुला रायमाझीले प्रकोपको उच्च जोखिममा महिला र बालबालिका रहेकोप्रति सचेत गराइन्।

सांसद रोशन कार्कीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षामा सम्मेलित विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप लगाइन्। '१८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएकोमा छ सय २१ जना विद्यार्थीको नतिजानै फरक परेको छ। यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाही गर्नुपर्छ ', सांसद कार्कीले भनिन्।

सांसद लक्ष्मी तिवारीले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताइन्। सांसद लालप्रसाद सावा लिम्बूले देशभर रहेका स्यानिटर प्याड तथा डाइपर उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा लगाइएको कर घटाउन माग गरे। रासस


प्रकाशित : मंगलबार, साउन १५ २०८११७:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend