काठमाडौं- विश्वव्यापी रुपमा आकर्षक र स्वास्थ्यबर्द्धक खाद्यान्नका रुपमा चर्चित हुँदै गरेको कोदोको कथामा नेपालका लागि भने कुनै उत्साह छैन।
राष्ट्र संघले सन् २०२३ लाई कोदोजन्य बाली वर्षका रुपमा मनाउने घोषणा गरेपछि विश्वभर कोदोको चर्चा चुलिएको थियो।ग्लुटनमुक्त खाद्यान्नका रुपमा यसको चर्चा धेरै भएको थियो। ग्लुटन हुने गहुँको धेरै प्रचलन भइरहेको समयमा कोदोले एकाएक विश्वव्यापी ध्यान तानेको थियो। तर नेपालको रैथाने अन्न कोदोको कथा भने उत्साहजनक छैन।
अहिलेको चीन, भारत र नेपालजस्ता ठाउँबाट घरेलुकरण भएको मानिने कोदो नेपालको रैथाने अन्न हो। नेपाली सभ्यता त्यसमा पनि सिँचाइ सुविधा पुग्नुभन्दा पहिलेको पहाडी क्षेत्रको मुख्य बालीका रुपमा कोदो रहेको थियो। तर पछिल्लो समय धान र मकैमै सीमित हुँदै गएपछि कोदो किनारामा परेको हो।
उत्पादकत्व बढाउनका लागि बीउ विकासमा गर्नुपर्ने निरन्तरको अनुसन्धानमा राज्यको बेवास्ता र उत्पादकत्व बढ्न नसकेपछि किसानले पनि उत्पादनमा रुची देखाउन छाडेका छन्।
न्यून सिँचाइ तथा पर्याप्त मेहनतबिना पनि उत्पादन हुनसक्ने यो बालीको प्रबर्द्धनका लागि भन्दै सरकारले ४० वर्षअघि नै अनुसन्धान कार्यालय खोले पनि त्यसले खासै परिणाम दिन सकेको छैन।
पछिल्लो १० वर्षमा कोदो खेती हुने जमिन घटेको छ भने उत्पादनमा सीमान्त सुधारमात्र देखिएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा कोदो उत्पादन बर्सेनि विस्तार हुन्थ्यो तर पछिल्लो दशकमा यसको विस्तार निकै सुस्त छ।
ग्रामीण क्षेत्रको जमिन कोदो खेतीका लागि निकै उपयुक्त मानिन्छ। त्यहाँका किसानले कोदो खेतीलाई भने उपयुक्त मान्न छाडेका छन्। त्यसैले अहिले कोदोका लागि योग्य जमिन त्यसै बाँझै छाडेका छन्। कोदोमा मानव स्वास्थ्यको लागि अत्यावश्यक पौष्टिक तत्व भरपुर मात्रामा पाइन्छ ।
पछिल्लो १० वर्षको तथ्यांकअनुसार नेपालमा कोदो उत्पादनमा खासै ठूलो वृद्धि भएको छैन। न घटेको छ न त बढेको छ। कोदो उत्पादन हुने क्षेत्रफल पनि स्थिर देखिन्छ भने उत्पादनमा पनि खासै वृद्धि भएको छैन।
२०७१ सालमा ३ लाख ८ हजार मेट्रिकटन कोदो उत्पादन भएको थियो। गएको वर्ष ३ लाख ६५ हजार टन उत्पादन भएको थियो।
कोदो खेती हुने क्षेत्रमा पनि विस्तार देखिएको छैन। २०७१ सालमा २ लाख ६८ हजार हेक्टरमा कोदो खेती भएको थियो। तर यो वर्ष जम्मा २ लाख ५४ हजार हेक्टरमा खेती भएको छ। खेती गर्ने जग्गाको विस्तार नहुँदा पनि उत्पादनमा झिनो वृद्धि हुनु भनेको उत्पादकत्वमा गिरावट नआउनु हो।
परम्परागत खेती प्रणाली, उन्नत बीउको अभाव तथा खेती प्रविधिको विस्तार नहुँदा परम्परागत बालीको उत्पादनमा खासै उपलब्धी भएको छैन।
कोदो नेपालको रैथाने बाली मानिन्छ। देशका अधिकांश स्थानमा खेती गरिने कोदोको उत्पादन प्रदेशगत रुपमा सबैभन्दा धेरै गण्डकीमा हुन्छ। जिल्लामा भने सबैभन्दा धेरै खोटाङमा हुन्छ।
कोदोलाई नेपालमा धान, गहुँ तथा मकैपछिको मुख्य बालीका रुपमा लिइन्छ। पोषणयुक्त बालीका रुपमा चिनिने भएपनि यसको उत्पादन वृद्धिका लागि सरकारी तथा गैरसरकारी पहलको अभाव छ।
देशको रैथाने बाली भएपनि कोदोको उत्पादन बढ्न नसक्दा यसको आयात बढ्दै गएको छ। विभिन्न प्रायोजनका लागि आवश्यक पर्ने कोदोको आयात गएको वर्ष ७ करोड रुपैयाँको भएको थियो। प्रत्येक वर्षको यसको आयात बढ्दै गएको छ।
नासिँदै रैथाने जात, विदेशी बीउमा निर्भरता बढ्दै
कोदोजन्य बालीमा कोदोसँगै कागुनो, जुनेलो लगायतका विभिन्न प्रकार हुन्छन्। ठाउँअनुसार उत्पादन हुने रैथाने जाती रहेपनि पछिल्लो समय यी सबै लोप हुँदै गइरहेका छन्।
खास रैथाने जात हराउँदै गएको छ भने विदेशमा विकास भएको बीउलाई स्थानीयकरण गर्नेमै सरकारको भूमिका सीमित भएको छ।
जिन विकास बैंकका प्रमुख बालकृष्ण जोशी पनि नेपालमा खास रैथाने कोदो खेतबाट विस्थापित भएर जिन बैंकमा सीमित भएको बताउँछन्। उनका अनुसार ७० प्रतिशत हराइसकेको छ।
नेपालमा कोदोजन्य बालीमा १२ वटा रैथाने प्रजाति रहेका छन्। यीमध्ये अधिकांश हराइसकेका छन्।
कोदोजन्य बालीमा पर्ने अन्य जातिको विविधता पूर्णत हराएको छ। कुनै पनि ठाउँमा उत्पादकत्व बढाउनका लागि स्थानीय र रैथाने जातिमाथि नै अनुसन्धान गर्नुपर्ने हुन्छ रैथाने जातिकै विकास भएमा त्यसले उत्पादन पनि दिने र जलवायुसँग पनि अनुकूलन हुने हुन्छ।
कोदोजन्य बालीलाई रैथानेमा राख्दै यसको प्रबर्द्धनका लागि भनेर सरकारले कार्यविधिसमेत बनाएको थियो। बजेटमा पनि पटकपटक सम्बोधन गरेको थियो तर अहिलेसम्म यसको कुनै पनि सुखद परिणाम देखिएको छैन।