शुक्रबार, मंसिर ७ गते २०८१    
images
images

बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

images
सोमबार, साउन १४ २०८१
images
images
बाघको सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले बताए।

images
images

चितवन- नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन्। लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो। यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

images
images
images

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा वयस्क बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो सङ्ख्या एक सय २८ रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

images

पाटेबाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोबर बनाउने प्रतिबद्धता गरेको थियो।

images

तत्कालीन समयमा नेपालमा एक सय २१ बाघ थिए। सन् २०२२ मा आइपुग्दा यो सङ्ख्या दुई सय ४२ पुर्‍याउने लक्ष्य लिइएकामा लक्ष्यअनुसारको सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ। यो देशकै लागि सफलता मानिए पनि यसपछिका चुनौतीहरु भने थपिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले गत आर्थिक वर्षमा निकुञ्जमा आठवटा बाघ मरेका जानकारी दिए। बाघ मरेको कम थाहा हुने भन्दै उनले निकुञ्ज सुरक्षाको क्रममा बढी गस्ती गरिएकाले बाघ धेरै मरेका हुनसक्ने बताए।

बासस्थानका लागिसमेत बाघहरु एकआपसमा लडेर मृत्यु हुने गरेको तिवारीको भनाइ छ। 'यो अवधिमा चारजनाको बाघको आक्रमणबाट मृत्यु भएको छ। निकुञ्जभित्र र बाहिर यस्ता घटना हुने गरेका छन्। एक जनाको निकुञ्जभित्रको कोर क्षेत्रमा र अन्यको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो', उनले भने।

सूचना अधिकारी तिवारीले केही वर्ष अघि गरिएको अध्ययनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक सय ७५ बाघका लागि बासस्थान पुग्ने देखाएको थियो। बासस्थान व्यवस्थापनमा सुधार गरेमा अरु थप बाघ रहन सक्ने देखिएको उनको भनाइ छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एकआपसमा जोडिएका छन्।

बाघको आहार प्रजाति पर्याप्त नहुँदा शिकारका लागि बाघ बाहिर बस्तीमा प्रवेश गर्ने र घटना हुने गरेको छ। निकुञ्जभित्र र आसपासका क्षेत्रमा बाघ हिंस्रक बनेसँगै नियन्त्रणमा लिएर राख्ने गरिएको छ। निकुञ्जको मुख्यालय कसरा र भरतपुरको देवनगरमा पाँच वटा बाघ खोरमा राखिएको छ। कसरामा तीनवटा छन् भने देवनगरमा दुईवटा छन्।

सौराहामा खोर मर्मत हुँदै गरेकाले अहिले बाघ नराखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए। नियन्त्रणमा लिएर राखिएका बाघको हेरचाहका लागि समेत कठिनाइ हुने गरेको उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको बताए। बासस्थानको व्यवस्थापन गर्न नसक्दा मानव बस्तीमा बाघ प्रवेश गरेर द्वन्द्व बढाएको उनले उल्लेख गरे। सरकारले बासस्थान व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गरेर निकुञ्जभित्र आहारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

अध्यक्ष ढुंगानाले बाघको आहारा प्रजाति मानव बस्तीमा आएर बालीनाली खाइदिने र उनीहरुको सिकारका लागि बाघ पनि मानव बस्तीमा आउने गरेको बताए। मध्यवर्ती क्षेत्रमा निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत विनियोजन गरेर मेसजाली, कम्पाउन्ड वाल, मध्यवर्तीमा भौतिक पूर्वाधार र संरक्षण शिक्षाका कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा बजेट न्यून आएसँगै थप समस्या भएको उनले जानकारी दिए। संकलन भएको राजस्वको २० प्रतिशतभन्दा तल मध्यवर्तीमा बजेट आएको भन्दै उनले यसले थप द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुंगानाले बाघको सङ्ख्या बढेसँगै आहारा प्रजाति बढाउनुपर्नेमा जोड दिए। निकुञ्जभित्र बासस्थानको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए। बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने भन्दै महानिर्देशक डा ढुंगानाले सङ्ख्या थपिएसँगै सेञ्चुरी निर्माण गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताए। विचरण गर्न सक्ने ठूलो खुल्ला खोर (सेञ्चुरी) निर्माण गर्ने योजनामा विभाग रहेको उनले जानकारी दिए।

कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक ढुंगानाले बताए। यसबाट अन्य देशहरुमा मित्रता बढाउन सहयोग पुग्ने उनको भनाइ छ। बाघलाई मानव बस्तीमा आउन नदिने गरी भित्रै व्यवस्थापन गर्ने विषयमा विभागको ध्यान गएको महानिर्देशक ढुंगानाले बताए। उनले भने, 'आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान, पानीपोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउने योजनामा छौँ।' रासस


प्रकाशित : सोमबार, साउन १४ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend