पर्सा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकासबिना मुलुकमा समृद्धिको आकांक्षा पूरा गर्न नसकिने बताएका छन्।
वीरगञ्ज महानगरपालिका-३१ स्थित हुलास स्टिलको युनिट-२ शुभारम्भ गर्दै मन्त्री भण्डारीले कोभिड-१९ को महामारीपछि औद्योगिक क्षेत्र नराम्रोसँग थलिएकाले उठाउन गाह्रो भइरहेको बताए।
'हाम्रा उद्योगका उत्पादन घट्दै गइरहेको छ। औद्योगिक क्षेत्रमा रोजगारीका अवसर गुम्दै गएका छन्। उद्योगधन्दा एकपछि अर्काे समस्यामा परिरहेका छन्। क्रमशः बैंक ब्याजदरको चपेटामा उद्योग पर्यो,' उनले भने, 'वर्तमान सरकार बनिसकेपछि पहिलो मन्त्रिपरिषद्को बैठक र त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा व्यक्त गर्नुभएको विचारले स्वदेशी उद्योग तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गर्ने विचार हामीले सुनिसकेका छौँ।'
उद्योगमन्त्री भण्डारीले मुलुकका उद्योगधन्दा खस्किँदा समस्यामा परेको धारणा राखे। 'आज देशको उद्योग यस्तो अवस्थामा पुग्यो कि हामी उत्पादकका रुपमा नभइ उपभोक्ताका रुपमा रह्यौँ', उनले भने, 'नेपालको व्यापार घाटा यति चुलियो कि हामी उपभोग्य वस्तुमात्रै आयात गर्ने ठाउँमा पुगेका छौँ।'
उद्योगमन्त्री भण्डारीले पछिल्लो समय घाटा चुलिएको बताउँदै नेपालको आयात र निर्यात तथ्यांकले नेपालको उद्योग क्षेत्रको स्पष्ट तस्बिर देखाएको बताए। 'करिब १६ खर्बको आयात र दुई खर्बको निर्यातले हाम्रो उद्योगको तस्बिर देखिन्छ,' उनले भने, 'सरकारले अत्यावश्यकबाहेक अन्य वस्तु स्वदेशमा उत्पादन र उपभोग गर्ने परिपाटीको विकास गर्न जरुरी छ।'
मन्त्री भण्डारीले गत आर्थिक वर्षमा करिब एक खर्बको फलफूल र तरकारी आयात भएको तथ्यांक प्रस्तुत गर्दै मधेस प्रदेशमा तरकारी र फलफूल उत्पादन गरेर विदेशी मुलुकबाट हुने आयात रोक्न सकिने उल्लेख गरे।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले बारा, पर्साको औद्योगिक करिडोरमा हजारौँ उद्योगधन्दा रहे पनि उद्योगमा काम गर्ने कामदार नरहेको जानकारी दिए। 'मधेस प्रदेशका युवाहरु रोजगारीको अवसर नपाएर तेस्रो मुलुकमा जानुपर्ने बाध्यता छ। यहाँका उद्योगधन्दामा आवश्यक जनशक्तिहरुलाई मधेस सरकार र उद्योगी व्यवसायीले तालिम तथा क्षमता अभिवृद्धि गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बेला छ,' उनले भने, 'मधेस सरकारका तर्फबाट जस्तोसुकै सहयोग गर्न तत्पर छौँ।'
उनले दक्ष जनशक्ति तयार पार्ने र उद्योगी व्यवसायीले स्वदेशी युवालाई प्रथामिकतामा राख्न अनुरोध गरे। उनले जनकपुरलाई औद्योगिक करिडोरका रुपमा अघि बढाउनुपर्ने बताए। रासस