कञ्चनपुर- बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ।
बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर पर्याप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो। निकुञ्जमा भाले पाटेबाघ १२, पोथी १६ र अन्य आठ गरी ३६ वटा बाघ रहेका कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। उनका अनुसार ३६ मध्ये २८ बाघ क्यामेरा ट्रयापिङमा देखा परेका हुन्।
सन् २०१९ अघिसम्म पाटेबाघको सङ्ख्या निकुञ्जमा १७ थियो। त्यसपछि बाघको सङ्ख्या बढदै गएर दोब्बर भएको ऐरले बताए। थोरै क्षेत्रफल भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा रहेको सूचना अधिकारी मनोज ऐरको भनाइ छ।
'निकुञ्जको कोर क्षेत्रमा रहेको शुक्लाफाँटमा सबैभन्दा बढी बाघको घनत्व रहेको छ', उनले भने, 'त्यसपछि निकुञ्जको चौधर नदी आसपासको क्षेत्र, शिकारी ताल क्षेत्र बाघको बासस्थानका रुपमा रहेको छ।' अनुगमनका क्रममा चुरे क्षेत्रमा पनि एउटा पाटेबाघ देखापरेको उनले जानकारी दिए।
ऐरका अनुसार पाटेबाघको आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ। निकुञ्जमा ५५ बढी सानाठूला प्राकृतिक ताल छन्।
'निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्दछ। बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिलेकाही बाघको सङ्ख्या कमबढी देखिन्छ। पाटेबाघ भारतीय लग्गा वग्गा नेशनल पार्क हुँदै पिलिभितसम्म ओहरदोहर गर्ने गरेको पाइएको छ', ऐरले भने। उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु (अनुसूची १०) मा पाटेबाघ सूचीकृत छ।
सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण गर्न थालिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पाटेबाघ मार्ने तथा यसका अंगको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ।
बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रूपमा रहेको छ। रासस