शुक्रबार, असोज १८ गते २०८१    
images
images

धादिङमा सवारी दुर्घटनामा कमी

images
सोमबार, साउन १४ २०८१
images
images
धादिङमा सवारी दुर्घटनामा कमी

तथ्यांकअनुसार पाँच वर्ष पहिलेको दुर्घटना सङ्ख्याको तुलनामा गत आबमा करिब ५७ प्रतिशतले कमी आएको छ।

images
images

मलेखु- पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ। पृथ्वीराजमार्गसहित ग्रामीण सडकहरूमा गुड्ने सवारीको चाप दिनप्रतिदिन बढ्ने क्रममा रहे पनि दुर्घटनाको सङ्ख्यामा भने कमी आएको हो।

images
images
images

आर्थिक वर्ष २०७६/७७ मा एक वर्षमा चार सय ५८ दुर्घटना भएकामा गत आव २०८०/८१ मा एक सय ९८ मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङको तथ्यांकमा देखिएको छ।

तथ्यांकअनुसार पाँच वर्ष पहिलेको दुर्घटना सङ्ख्याको तुलनामा गत आबमा करिब ५७ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

images

आव २०७६/७७ मा २७ दुर्घटनाको मुद्दा दर्ता भएको र चार सय ३१ दुर्घटना मिलापत्रबाट टुङ्ग्याइएको तथ्यांकले देखाए पनि मृतक र घाइतेको सङ्ख्या प्रहरीसँग छैन। आव २०७७/७८ मा भन्दा गत आव मा मृत्यु हुनेको सङ्ख्या पनि २५ प्रतिशतले कमी आएको देखिएको छ। पछिल्लो दुई वर्षमा भने मृत्यु हुनेको सङ्ख्या उस्तै छ। आव २०७७/७८ मा ५९, २०७८/७९ मा ७९, २०७९/८० मा ४३ र २०८०/८१ मा ४४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

images

दुर्घटनामा संलग्न ठूला तथा मझौला सवारीको सङ्ख्यामा पनि कमी आएको छ। तर दुर्घटनामा संलग्न हुने साना सवारीको सङ्ख्या भने पाँच वर्षयताको तुलनामा खासै घटेको छैन। आव २०७६/७७ मा तीन सय ३७ वटा ठूला सवारी, एक सय ८३ मझौला सवारी र दुई सय २८ साना सवारी दुर्घटनामा संलग्न भएकामा गत आव २०८०/८१ मा ८५ वटा ठूला सवारी, ७५ वटा मझौला सवारी र दुई सय १७ वटा साना सवारी दुर्घटनामा भएको छ। ठूला सवारीको दाँजोमा साना सवारी तीव्रगतिमा हुइँकिने र बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको भनाइ छ।

तथ्यांकअनुसार पछिल्लो एक वर्षमा दुर्घटनामा परेर जिल्लामा पुरुष ३५, महिला तीन र बालबालिका छ गरी ४४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार सय ३६ जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने दुवैमा पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए।

आव २०७७/७८ देखि चार वर्षमा भएको एक हजार चार सय एक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या दुई सय २५ जना पुगेको छ। ती दुर्घटनाबाट दुई हजार पाँच सय सातजना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख, प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार सवारीसाधनको चाप दिनानुदिन बढ्दो क्रममा रहे पनि सडक सुरक्षामा प्रहरीको सक्रियता बढेकै कारण दुर्घटनाको सङ्ख्यामा उल्लेख्य रूपले कमी आएको हो।

'पछिल्ला वर्षहरूमा सवारीसाधनको चाप अद्यावधिक बढेको छ तर दुर्घटना सङ्ख्या घटेको छ। यसलाई हामीले उपलब्धिका रूपमा लिएका छौँ', प्रहरी निरीक्षक श्रेष्ठ भन्छन्, 'सवारीको चाप बढेसँगै बढ्न सक्ने सम्भावित दुर्घटनालाई कम गराउन सक्नु ट्राफिक प्रहरीसहित तीनै तहका प्रहरीको उपलब्धि हो।'

जिल्लामा गत फागुन २३ गते गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा १२ र भदौ ६ गते गजुरीकै घहरामा भएको यात्रु बस दुर्घटनामा नौजना गरी दुई दुर्घटनामा मात्रै २१ जनाको मृत्यु थियो। यो नै मानवीय क्षति बढी भएको गत वर्षको सबैभन्दा ठूला दुर्घटना हुन्। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८१११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend