शुक्रबार, असोज १८ गते २०८१    
images
images

घरको छतमै ढाका उद्योग चलाइरहेकी प्यारीमाया वार्षिक गर्छिन् चार लाखभन्दा बढी मुनाफा

images
सोमबार, साउन १४ २०८१
images
images
घरको छतमै ढाका उद्योग चलाइरहेकी प्यारीमाया वार्षिक गर्छिन् चार लाखभन्दा बढी मुनाफा

आफूले तालिम दिएका सबैले आफूलेजस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउँछिन्।

images
images

झापा- पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ। विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिइ व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ।

images
images
images

प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति-४ मन्दिरचोकमा ढाकाको उद्यम गर्छिन्। एपीएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छिन्।

हालसम्ममा उनले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न संघसंस्थामार्फत तीनसयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छिन्। उनी भन्छिन्, 'तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन।'

images

बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन गर्नुपरेको उनी बताउँछिन्। ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन, घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेका उनी बताउँछिन्।

images

उनले घरकै छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाउँदै आएकी छिन्। उनले भनिन्, 'वार्षिक चार लाख रूपैयाँभन्दा बढी रकम मुनाफा हुन्छ।' तीनजना बहिनीलाई काम पनि दिएको छु, यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो, घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उनले बताइन्। उनले भनिन्, 'साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग बिताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो। '

उनको एपीएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको उनी बताउँछिन्।

ढाका उद्यमको सुरुवात

विसं २०६१ तिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिएकी प्यारीमायाले त्यहीबाट पाँच हजार रूपैयाँमा तान किनेर ल्याइ आफ्नै घरमा ढाकाको काम सुरु गरेकी हुन्। 'सुरु समयमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु हुन्छ। दुवैजना मिलेर बिस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षसम्म साझेदारीमा काम गरेँ। पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन। त्यहीँबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौँ', प्यारीमायाले भनिन्।

विसं २०६५ तिर घरबाट अनमी पढ्नुपर्छ भन्ने कुरा उठेपछि मैले पढ्ने सोच बनाएको प्यारीमायाले बताइन्। चार वर्षमा खर्च कटाएर दुवैजनालाई दुई लाख रूपैयाँ र चारवटा तान भागमा पर्‍यो। आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडौं गएको प्यारीमाया बताउँछिन्। उनका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैँले ढाकाको काम गर्दा बचत भएको पैसाबाट पूर्ति भयो।

अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो। बिहेपश्चात कन्काइ अस्पतालमा प्यारीमायाले जागिर सुरु गरिन्। तर त्यसबाट सन्तुष्ट हुन नसकिएकोउनी बताउँछिन्। 'बिहानदेखि सँझसम्म काम गर्‍यो, आवतजावत गर्न बस भाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक-दुई हजारमात्र बचत हुन थाल्यो। घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेसामा फर्किनुपरेको हो', प्यारीमायाले भनिन्।

आफैले घरमा राखेको एउटा तानबाट फेरि काम सुरु गरेकी प्यारीमायाले घरेलु, स्थानीय पालिकाअन्तर्गत लघु उद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको बताइन्। विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरिन्। यो काममा मेरा श्रीमानको पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ।

उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउँछिन्। घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै प्यारीमाया प्रश्न गर्छिन्। आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउँछिन्। रासस


प्रकाशित : सोमबार, साउन १४ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend