शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

घर-घरमा खानेपानी पुर्‍याउने बारेकोटको योजना, सडक निर्माणमा सक्रियता

images
आइतबार, साउन १३ २०८१
images
घर-घरमा खानेपानी पुर्‍याउने बारेकोटको योजना, सडक निर्माणमा सक्रियता

चालु आवमा पालिकाका सबै ठाउँमा खानेपानीका धारा पुर्‍याउने योजना सफल बनाइने गाउँपालिकाले जनाएको छ।

images
images

सुर्खेत- जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ। ‘मानव, पशु अलग घर’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा यी कार्यलाई निरन्तरता दिएको हो।

images
images
images

मानव र पशुचौपाय एकै घरमा रहँदा मानव स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिइ काम थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए।

images
images

वर्षौँदेखि पशु चौपाय र मानिसहरु एकै घरमा रहँदै आएकामा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै अब पशुघर (गोठ) अलग बनाउनुपर्ने नीति कार्यान्वयनमा ल्याइएको उनले बताए। स्वास्थ्य तथा सरसफाइका हिसाबले पनि यो सकारात्मक पहल रहेको उनको भनाइ छ।

images
images

आर्थिक अवस्था कमजोर भएका, गोठ अलग बनाएर पशुपालन गर्न नसक्ने स्थानीय पालिकाले सहयोग गर्ने जनाएको छ। विद्यार्थीलाई सुरक्षितरुपमा बस्नका लागि ५१ वटा सामुदायिक विद्यालयमा फर्निचर उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

सडक निर्माणमा सक्रियता

पालिकाले आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ५० मिटर नयाँ सडक निर्माण गरेको प्रगति विवरणमा उल्लेख छ। दुई हजार पाँच सय मिटर सडक स्तरोन्नति, एक सय ५० मिटर सडक आरसिसी ढलान गरिएको अध्यक्ष गिरीले जानकारी दिए। उनका अनुसार ५० मिटर सडकमा मेसिनरीवाल र एक हजार पाँच सय ७० ठाउँमा ग्याविनजाली लगाइएको छ। 

'पालिकामा विद्युतीकरण गर्न ५० ठाउँका सडकको छेउछाउमा फलामे पोल गाडेर विद्युत् सेवा सञ्चालन गरिएको छ। भेरी करिडोरबाट नलगाड नगरपालिका हुँदै आउने खण्डले बारेकोटलाई जोड्दछ', अध्यक्ष गिरीले भने, 'खलंगा हुँदै कुशे गाउँपालिकाको पाँचकाटियाँबाट नलगाडका केही वडा जोड्दै बारेकोटको रामीडाडाँबाट अर्को सडक जोडिन्छ। बारेकोटको सबै पालिकामा यातायातको पहुँच विस्तार भएको छ।'

सुत्केरीलाई निःशुल्क यातायात सेवा

गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ। एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए। सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्बुलेन्स प्रदान गर्ने नीति लिएको छ।

सुत्केरीलाई न्यानो कपडा र पोसिलो खाना उपब्ध गराउन पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले बताए। प्रदेश सरकारसँगको समन्वयमा पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था जाँच्ने नीति लिएको छ।

दीर्घरोगी र जटिल प्रकृतिका रोग लागेर उपचार गर्न नसक्नेलाई आर्थिक सहायता उपलब्ध गराउनेनीति लिइएको बताउँदै अध्यक्ष गिरीले पालिकाको कार्यविधिमा भएको व्यवस्थाअनुसार सहयोग गरिने उल्लेख गरे। यातायातको सहज पहुँच वृद्धिसँगै नागरिकको उपचारमा पहुँच पुर्‍याउन यस्तो नीति लिइएको उनको भनाइ छ।

खानेपानीका मुहान संरक्षणमा जोड 

बारेकोट-१, २, ५ र ७ मा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत चार सय ६५ घरमा धारा जडान गरेको तथ्यांक पालिकाले प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ। चालु आवमा पालिकाका सबै ठाउँमा खानेपानीका धारा पुर्‍याउने योजना सफल बनाइने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पानीका मुहान संरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ। ठाउँठाउँमा सडक निर्माण तथा जंगल फँडानी भएपछि पिउने पानीका मुहानमा समस्या परेको भन्दै पालिकाले मुहान संरक्षणका लागि नीति बनाइ काम थालेको अध्यक्ष गिरीले जानकारी दिए। 'जल उत्पन्न प्रकोप व्यवस्थापन नीति पालिकाले निर्माण गरेको छ। पालिकाले सबैका घरमा शुद्ध पानी पिउने वातारण सिर्जना गर्न लागेका छौँ', उनले भने।

प्रथम पञ्चवर्षीय योजना पूरा भएको जनाउँदै अध्यक्ष गिरीले अधुरा काम कार्यान्वयन गर्न नयाँ योजना निर्माण गरिने बताए। बारेकोटमा नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका साथै नलगाड नदीको उद्गमस्थल पर्दछ। जंगल, जमिन र जडीबुटीको सम्भावना रहेको बारेकोट जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलमा रुपमा परिचय बनाउँदै आएको छ।

कुल ४९ करोड २३ लाख रकम बजेट विनियोजन गरेको बारेकोट गाउँपालिकाले हालसम्म २१ ऐन, एउटा नियामावली, ३४ कार्यविधि, १४ निर्देशिका र तीनवटा नीतिनिर्माण गरेको जानकारी दिएको छ। अन्य कानून निर्माण जारी रहेको अध्यक्ष गिरीले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend