शुक्रबार, असोज १८ गते २०८१    
images
images

मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न पर्वत प्रशासनको ताकेता

images
आइतबार, साउन १३ २०८१
images
images
मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न पर्वत प्रशासनको ताकेता

मोदीवेणीधाममा वार्षिक ठूलो आम्दानी हुने गरेको भएपनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशंका बढेको स्थानीय बताउँछन्।

images
images

पर्वत- पवित्र कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीधामको सम्पत्ति विवरण सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले तकेता गरेको छ। 

images
images
images

जिल्लाको कुश्मा नगरपालिका-५ स्थित मोदीवेणीमा रहेको नृसिंह मन्दिर र गुठीका नाममा सयौँ रोपनी जग्गा र करोडौँ रकम रहेको भए पनि अहिलेसम्म सम्पत्ति सार्वजनिक हुन नसकेको भन्दै प्रशासनले पत्र काटेको हो।

डेढ दशकयता छ/सातपटक लगाइएका छ महायज्ञबाट संकलित रकम, दैनिकजसो दर्शनाथी तथा भक्तजनबाट संकलन हुने भेटी र विभिन्न संघसंस्थाले गर्दै आएको आर्थिक सहयोग तथा जिन्सी सामग्रीको लगत अहिलेसम्म सार्वजनिक हुन नसकेकाका सम्पत्ति सार्वजनिक गर्न मोदीवेणीधाम व्यवस्थापन समितिका नाममा पत्र काटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।

images

गुठीका नाममा जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा स्याङ्जाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालगायत विभिन्न स्थानमा रहेको दुई सय ५० रोपनी जग्गाको विवरणसमेत सार्वजनिक हुन सकेको छैन। लामो समयदेखि सरोकार भएका निकायले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे पनि मोदीवेणीधाम व्यवस्थापन समितिले आनाकानी गरेपछि प्रशासनले परिपत्र गरेको उनले बताए।

images

एक वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले परिपत्र गर्दा समितिले अटेर गरेपछि पुनः प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले पत्र पठाएका हुन्। प्रशासकीय अधिकृत शर्माले गुठीका नाममा रहेको चल/अलच सम्पत्ति के कति छ, कसरी व्यवस्थापन भइरहेको छ भन्ने विवरण उपलब्ध गराउन पत्र पठाइएको जानकारी दिए। सरकारी तथा गुठीका नाममा रहेको सम्पत्ति संरक्षणको दायित्व प्रशासनको भएकाले एक साताभित्र विवरण उपलब्ध गराउन भनिएको उनले बताए।

तोकिएको समयभित्र विवरण नआएमा अन्य प्रक्रिया थाल्ने प्रशासकीय अधिकृत शर्माले बताए। प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने भक्तजनको आश्रयस्थलका रुपमा रहेको मोदीवेणीमा दुई दशक अघिसम्म नेपालका साथै भारतीय पर्यटकको समेत उत्तिकै चहलपहल हुन्थ्यो।

मोदीवेणीधाममा वार्षिक रुपमा ठूलो आम्दानी हुने गरेको भए पनि अहिलेसम्म सार्वजनिक हुन नसक्दा हिनामिना भएको आशंका बढेको स्थानीय ८५ वर्षीय हरिप्रसाद आचार्यले बताए। 'यस क्षेत्रको सबैभन्दा ठूलो धार्मिकस्थल मोदीवेणी हो। यहाँ पर्वत, बागलुङ र स्याङ्जालगायत जिल्लाका साथै भारतीय तीर्थयात्री आउँछन्। यात्राका क्रममा तीर्थयात्री यहीँ बास बसेर मुक्तिनाथ जान्छन्', स्थानीय हरि सापकोटाले भने, 'सीमित परिवारले यसको हिनामिना गरेका हुनसक्छन्। यथाशीघ्र सम्पत्ति विवरण सार्वजनिक गरेर सरकारले आवश्यक संरक्षणमा ध्यान दिनुपर्दछ।'

मोदीवेणी नृसिंह धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले सदियौँदेखि मन्दिरको व्यवस्थापन बैरागी परिवारले गर्दै आएको बताउँदै यहाँ रहेको जग्गा र अन्य सम्पत्ति हिनामिना नभएको दाबी गरे। उनले पुजारी तथा पुजाकर्म व्यवस्थापन, मर्मतसम्भार, रङ्गरोगन, तीर्थयात्रीलाई खानपान, सरसफाइलगायत व्यवस्थापकीय काममा मन्दिरमा हुने आम्दानी खर्च हुने गरेको जानकारी दिए।

सम्पत्ति विवरण सार्वजनिक गर्न प्रशासनले ताकेता गरेपछि विवरण तयारीमा लागेको जनाउँदै अध्यक्ष बैरागीले यहाँको सम्पत्ति विवरणमा कुनै अपारदर्शिता नभएको दाबी गरे।

मोदीवेणीधाममा रहेको घाटमा पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र स्याङ्जाको अर्जुनचौपारी र आँधीखोलागाउँपालिकाबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन्। यहाँ हरेक एकादशीका साथै हरिशयनी, हरिबोधनी एकादशी, माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रीलगायत पर्वमा ठूलो मेला लाग्ने गर्दछ।

पछिल्लो समय कुश्मादेखि मोदीवेणीसम्म सहज सडक यातायात र कालीगण्डकी लोकमार्गअन्तर्गत मोदीवेणीधामबाट ‘ट्र्याक’ खुलेपछि यहाँ मेला भर्न तथा दाहसंस्कारका लागि आउनेहरुलाई सहज भएको छ। रासस


प्रकाशित : आइतबार, साउन १३ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend