आइतबार, भदौ २३ गते २०८१    
images
images
नेपाल एयरलाइन्समा वेथिति

बिग्रेको जहाज एक सातादेखि कतारमा, तर अझै बसेन मर्मतको निर्णय गर्ने बोर्ड बैठक

images
सोमबार, पुस १९ २०७८
images
images
बिग्रेको जहाज एक सातादेखि कतारमा, तर अझै बसेन मर्मतको निर्णय गर्ने बोर्ड बैठक
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को एयर बस ३२० जहाज बिग्रिएर एक सातादेखि कतारको दोहामा अड्किएको छ।

images
images
images

पुस १३ गते मंगलबार नेपालबाट यात्रु लिएर कतार पुगेको नेपाल एयरलाइन्सको ३२० जहाजको इन्जिन बिग्रिँदा कतारको दोहामै ग्राउन्डेड भएको हो। जहाजको इन्जिन मर्मत नगरी उडानयोग्य नहुने भएको छ।

बिग्रिएको जहाजको इन्जिन मर्मतका लागि निगम सञ्चालक बोर्डबाट स्वीकृत हुन पर्छ। जहाज बिग्रिएको एक/दुई दिनमै सञ्चालन समितिको बैठक बसेर निर्णय गर्नुपर्ने थियो। एक सातापछिका लागि राखिएको बोर्ड बैठकसमेत सोमबार स्थगित भएको छ। बैठक स्थगितभएसँगै जहाज मर्मतको प्रक्रिया अगाडि नबढ्ने भएको छ।

निगम सञ्चालकहरूको बोर्ड बैठकक आज पुस १९ गते सोमबार साढे ४ बजे बोलाइएको थियो। तर, अन्तिम समयमा आएर बोर्ड बैठक नै स्थगित भएको एक सदस्यले बताए। ‘बैठक स्थगित गर्नु पर्ने नै थिएन’ ती सदस्यले भने, ‘आफू अनुकुल निर्णय गराउन सक्ने अवस्था नभएपछि बैठक नै स्थगित भएको छ।’ 

images

निगम सञ्चालक समितिमा ७ जना रहेका छन्। जसमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मी बस्नेत, अर्थ मन्त्रालयका सहसचिव महेश आर्चाय, पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेल, फुर ग्लेजे शेर्पा, किशोर प्रधान र ईश्वरी पौडेल छन्।

पर्यटनमन्त्री प्रेम आलेले डिम प्रकाश पौडेल, फुर ग्लेजे शेर्पा र ईश्वरी पौडेललाई सञ्चालक समितिबाट राजीनामा दिन अध्यक्ष अधिकारीमार्फत दबाब दिइरहेका छन्। यसको प्रभाव सञ्चालक समिति बैठकमा देखिने र जहाज मर्मतमा कमिसन आउने गरी निर्णय गराउन नसक्ने अवस्था आएपछि बैठक नै स्थगित भएको स्रोतको दाबी छ। 

‘अर्थ मन्त्रालयका सहसचिव अनुपस्थित हुने भन्दै बैठक किन रोकियो? के जहाज कतारमा बस्दा त्यसलाई मर्मत गरेर जति सक्दो छिटो उडानमा ल्याउनु पर्दैन?’ एक सञ्चालकले भने, ‘उनीहरूको पक्षमा तीनजना रहेको र बहुमतबाट निर्णय गराउन चार जना चाहिने भएपछि बैठक नै रद्द गरियो।’

बैठक रद्द गर्दा निगमलाई दैनिक हुने घाटाको जिम्मेवारी कसले लिन्छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने ती सदस्यले बताए। आफ्नो स्वार्थपूर्तिका लागि निगमलाई नै धराशयी बनाउन नपाइने आवाज समितिमा नै उठिरहेको छ।

नाइन एन एकेडब्लु कलसाइन भएको एयरबस ३२० जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो। बोर्ड बैठक नबस्दा इन्जिनमा समस्या देखिएसँगै जहाज मर्मत गरी नेपाल ल्याउने विषय पनि अन्योलमा परेको छ। अब जहाजको इन्जिन नै फेर्नुपर्ने छ। इन्जिन निर्माता कम्पनीले अहिलेको इन्जिन झिकेर नै मर्मत गर्नु पर्ने हुँदा अर्को इन्जिन प्रयोग गर्न सुझाव दिएको छ। 

निगमले जहाजको इन्जिन झिकेर मर्मत गर्न कम्पनीमा पठाउँदासम्म अर्को इन्जिन प्रयोग गर्नुपर्ने हुन्छ। तर निगम व्यवस्थापनले सिधै अर्को इन्जिन भाडामा लिन पाउँदैन। बिग्रिएको इन्जिन मर्मत नहुँदासम्म भाडामा इन्जिन लिने लगायतको विषयमा निगम व्यवस्थापनले सिधै निर्णय गर्न पाउँदैन।

यसका लागि निगम व्यवस्थापनले सञ्चालक बोर्डमा लगेर जहाजको इन्जिन मर्मतमा पठाउन कोटेशन मागेर अर्को इन्जिन भाडामा ल्याउन टेन्डर नै गरेर काम गर्नुपर्ने हुन्छ। यी सबै प्रक्रिया पूरा गर्न पनि निगमलाई अझै केही समय लाग्ने भएको छ।


प्रकाशित : सोमबार, पुस १९ २०७८१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend