आइतबार, भदौ २३ गते २०८१    
images
images

पहिरोले नहर पुरिँदा पाँचसय हेक्टर जमिन बाँझो

images
शनिबार, साउन १२ २०८१
images
images
पहिरोले नहर पुरिँदा पाँचसय हेक्टर जमिन बाँझो

चापाकोट नगरपालिका-४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिरोले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो।

images
images

स्याङ्जा- पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँचसय हेक्टर जमिन बाँझो भएको छ।

images
images
images

चापाकोट नगरपालिका-४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिरोले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो। गत असार २२ गते अविरल वर्षासँगै आएको पहिरोले ठूला ढुंगा ल्याइ नहर पुरिएको थियो।

अहिले पनि नहरबाट पहिरो हटाउन नसकिएकाले पानी सञ्चालन गर्न नसकिएको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए। 'गत असार २२ गते विभिन्न ठाउँमा नहरको माथिल्लो भागबाट ठूला ढुंगासहितको पहिरो आएर पुरिएको छ', उनले भने, 'ससाना पहिरोहरु त हटायौँ तर ठूला ढुंगासहितको पहिरो हटाउन पटकपटक प्रयास गरिएता पनि सकिएको छैन।'

नहरको छ किमी तीन सय मिटरको दुरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दुरीमा रहेको डाङ्ग्रेपानी भन्ने ठाउँमा ठूला ढुंगासहितको पहिरोले नहर अवरुद्ध भएको उनले बताए।

images

'स्थानीय खोला खोल्साको पानीले करिब पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ', उनले भने, 'बाँकी रहेको पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ गर्नका लागि नहर चल्नैपर्छ, वर्षा नभएमा र नहर नचलेमा अहिले रोपिएको धान खेतमा धाँजा फाट्छन्।'

पहिरोले नहरमा ठूला ढुंगा ल्याउँदा त्यसलाई हटाउन समस्या भएको नगर प्रमुख देवबहादुर खाँणले बताए। 'पहाडको भिरालो भागमा नहरभन्दा माथिबाट ठूला ढुंगा आएर अड्किएको छ', उनले भने, 'मान्छे लगाएर, फोडेर हटाउन सकिने अवस्था छैन, त्यहाँ डोजरलगायतका साधनहरु जाने ठाउँ पनि छैन।'

नगरपालिकाको पहलमा ढुंगा हटाउनका लागि नगरस्तरीय विपद समिति, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति, गण्डकी प्रदेशका मुख्यमन्त्री, सिँचाइ, ऊर्जालगायतका मन्त्रालय र केन्द्रमा गृह, उर्जा, रक्षा मन्त्रालयहरुमा पटक-पटक जानकारी र छलफल जारी रहेको उनले बताए।

'स्थानीय स्रोत र साधनको प्रयोग गरी ढुंगा हटाउन सकिने स्थिति देखिएन', उनले भने, 'ठूला ढुंगा हटाउने एकमात्रै विकल्प भनेको विष्फोटक पदार्थको प्रयोग गरी ढुंगा फुटाल्नु हो, त्यसका लागि नेपाली सेनासित निरन्तर छलफल जारी रहेको छ।'

नेपाली सेनाले सम्बन्धित ठाउँको वस्तुस्थिति अध्ययन गरिसकेकाले अब छिट्टै ढुंगा हटाएर नहर सञ्चालन गर्न सकिन्छ। पहिरोले नहर पुरिएको स्थानमा ढुंगा फुटाल्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थसमेत हेलिकप्टरको प्रयोग गरी लैजानुपर्ने स्थिति रहेको उनले बताए।

'साउनको दोस्रो साता भइ सक्दा धान रोप्न ढिलाइ नहोस् भनेर भुङ्दी खोलाको पानीले रोप्न सुरु गर्न भनेका छौँ', उनले भने, 'अब केही दिनमा नहर सञ्चालनका लागि हामी निरन्तर लागि रहेका छौँ।'

विष्फोटक पदार्थ नेपाली सेनाबाहेक अरुले प्रयोग गर्न नपाउने र प्रक्रिया झन्झटिलो र लामो हुने भएकाले नहर सञ्चालनमा ढिलाइ भएको गण्डकी प्रदेशका पूर्वसांसद भागवतप्रकाश मल्लले बताए। विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने भएकाले त्यसको लागत स्टिमेट नेपाली सेनाले उपलब्ध गराउने र स्रोतको सुनिश्चितता गरी काम अगाडि बढाइने उनले बताए।

'नहर सञ्चालन गर्न चापाकोट नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य सरोकारवालाका तर्फबाट निरन्तर पहल भइरहेको छ', उनले भने, 'विष्फोटक पदार्थको प्रयोग गरी ढुंगा हटाउनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै नहर सञ्चालन भई रोपाइँ गर्न सकिन्छ।' रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend