शनिबार, असोज ५ गते २०८१    
images
images

१२० विद्यार्थीलाई छात्रवृत्ति र निक्षेपदेखि सेयरसम्म लगानी गर्ने नेपाल ट्रष्टको कार्यविधि दराजमै थन्कियो

images
मंगलबार, पुस २० २०७८
images
images
१२० विद्यार्थीलाई छात्रवृत्ति र निक्षेपदेखि सेयरसम्म लगानी गर्ने नेपाल ट्रष्टको कार्यविधि दराजमै थन्कियो

छात्रवृत्ति दिँदा आर्थिक अपचलन बढी हुने सम्भावना हुने हुँदा बरु कार्यालयले सामुदायिक विद्यालयको संरचना बनाइदिने तथा जग्गा भाडामा सहजता गरिदिने विषय ठीक हुने सिग्देल बताउँछन्।

images
images

काठमाडौं- झन्डै एक वर्षअगाडि नेपाल ट्रष्टको कार्यालयले आफ्नो सम्पत्तिबाट आयआर्जन भएको  रकम शिक्षा क्षेत्रदेखि सेयरसम्ममा लगानी गर्नेगरी कार्यविधि तयार पारेको थियो। तर कार्यविधि अहिले दराजमै थन्किएको छ। कार्यविधिकाे विषयमा कार्यलय नै बेखबर बनेको छ।

images
images
images

कार्यालयले आर्यआर्जन गरेको सम्पत्ति नेपाल ट्रष्टको कानून २०६४ को उद्देश्यअनुरुप लगानी गर्न भन्दै सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वधार)सम्बन्धी कार्यविधि र नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७ को  मस्यौदा तयार पारेको थियो।

कार्यालयले तयार पारेको दुईवटै कार्यविधिको मस्यौदा एक वर्षअगाडि नै ट्रष्ट सञ्चालक बोर्डले सरोकार राख्ने कानून मन्त्रालयदेखि अर्थमन्त्रालयसँग राय माग गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुरुप कार्यालयले विभिन्न निकायसँग राय मागेको थियो। तर अहिले यो विषयया कुनै पनि प्रक्रिया अगाडि नबढेको नेपाल ट्रष्टका सचिव गोपाल बहादुर सिग्देलले स्वीकार गर्छन्।

‘कार्यविधिको खाका बनको सुनेको थिएँ’ उनले भने, ‘ यो विषयमा अहिले केही निर्णय भएको छैन। कार्यालयले आफ्नो सम्पत्तिको संरक्षण सम्बन्धित नियमित काम गरिरहेको छ।’

images

कार्यालयले छात्रवृत्ति दिने विषय सान्दर्भिक पनि नभएको उनको भनाइ छ। छात्रवृत्ति दिँदा आर्थिक अपचलन बढी हुने सम्भावना हुने हुँदा बरु कार्यालयले सामुदायिक विद्यालयको संरचना बनाइदिने तथा जग्गा भाडामा सहजता गरिदिने विषय ठीक हुने सिग्देल बताउँछन्।

नेपाल ट्रष्टले गरेको आयआर्जनबाट शैक्षिक क्षेत्रमा लगानी गर्ने विषय कानूनमा स्पष्ट रुपमा उल्लेख भएको छ। तर आर्यआर्जन गर्न थालेको १४ वर्ष हुँदासम्म शैक्षिक क्षेत्रमा ट्रष्टले रकम लगानी नगरेको भन्दै विरोध भएको थियो।

ट्रष्टको खातामा १ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। सोही रकमबाट शिक्षामा लगानी गर्नेदेखि बैंकमा निक्षेपमा रकम राख्ने र सेयरमा समेत लगानी गर्ने भन्दै २०७७ मा ट्रष्टका तत्कालीन सचिव सुरेश आचार्य र सहसचिव भिष्म भुसालको नेतृत्वले दुईवटा कार्यविधि बनाएको थियो। सचिव तथा सहसचिव दुवै कार्यालयबाट सरुवा भएसँगै फाइल पनि दराजमै थन्किएको हो।

कार्यालयले बनाएको शिक्षामा लगानी गर्ने कार्यविधिमा पहिलो चरणमा नेपालको प्रचलित कानूनबमोजिम दर्ता भएर सञ्चालनमा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक शैक्षिक गुठीअन्तर्गत रही सञ्चालन भएका माध्यमिक विद्यालयलाई सहयोग गर्नेगरी विषय समावेश गरिएको थियो।

यसैगरी नेपाल ट्रष्ट ऐन २०६४ को दफा ५, उपदफा २ को  खण्ड (क) मा विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्ने विषय समेत कार्यविधिमा उल्लेख थियो। कार्यविधिमा दुर्गम, पिछडिएका क्षेत्र, दलित, अति विपन्न, सीमान्तीकृत तथा उपेक्षित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन छात्रवृत्ति उपलब्ध गराई न्यायपूर्ण समाजको स्थापना गर्न योगदान गर्ने उद्देश्य  लिएको थियो।

अन्य विशेषता

  • नेपाल ट्रष्टको स्वामित्व भएका जग्गामा सञ्चालनमा रहेका सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका) विद्यालयमा विज्ञान, गणित र सूचना प्रविधि र व्यवस्थापन विषयमा शिक्षण सिकाइमा प्रभावकारिता हासिल गर्न शिक्षकलाई क्षमता अभिवृद्धि कार्यक्रममा सहयोग गर्ने
  • दुर्गम, पिछडिएको क्षेत्र, दलित, अति विपन्न, सीमान्तीकृत तथा उपेक्षित समुदायबाट छनोट भएका वार्षिक १२० जना बालबालिकालाई आवासीय अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने
  • छात्रवृत्ति सुविधा कक्षा ५ देखि १० सम्म अध्ययन गर्नेका लागि मात्रै हुने
  • छात्रवृत्ति वापतको अनुदान शैक्षिक सत्र २०७८ का लागि प्रतिव्यक्ति प्रतिमहिना १० हजार रुपैयाँ र पाठयपुस्तक तथा स्टेशनरी वापतसमेत रकम उपलब्ध गराउने
  • त्रवृत्तिका लागि ७७ वटै जिल्लाबाट १/१ जना, उच्च हिमाली जिल्ला, सबैभन्दा कम साक्षरता  दर भएका ३० जिल्लाबाट थप १/१ र विद्यालय रहेको नगरपालिका क्षेत्रबाट १ जना गरी १ सय २० जना विद्यार्थी छनोट गर्ने
  • कम साक्षरता दर भएका जिल्ला र उच्च हिमाली जिल्ला दोहोरिन गएमा दोहोरिन नदिई १०औं पछिको क्रममा रहेका न्यून साक्षरतायुक्त जिल्लाबाट विद्यार्थी छनोट गर्ने
  • विद्यालयमा प्रयोगशाला, छात्राबास, खेलकुद सामग्री तथा अन्य शैक्षिक पूर्वाधारका लागि विद्यालयले ट्रष्टको कार्यालयमा प्रस्ताव पेस गर्न सक्ने

यसैगरी कार्यालयले नेपाल ट्रष्टको ऐन २०६४ को दफा २५ को उपदफा (२) बमोजिम ट्रष्टले लगानी कार्यविधिको मस्यौदा तयार पारेको थियो। नेपाल ट्रष्ट कोष लगानी कार्यविधि पनि कार्यालयकै दराजमा थन्किएको छ। 

तत्कालीन समयमै कार्यविधिको प्रस्तावित मस्यौदा सञ्चालक समितिबाट पास भइसकेको थियो। मस्यौदामा ट्रष्टले आयआर्जन गरेको रकम सबै प्रकारका वित्तीय उपकरणमा लगानी गर्न सक्ने उल्लेख थियो। बैंक निक्षेपमा पैसा राख्नेदेखि सेयरमा लगानीसम्म गर्न सक्ने गरी कार्याविधि गरिएको थियो।

कार्यविधिमा उल्लेख केही विषय

  • कुनै बैंक वित्तीय संस्था वा अन्य कुनै पब्लिक लिमिटेड कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर खरिद गरी त्यस्तो कम्पनीको संस्थापक सेयरधनी हुने गरी लगानी गर्न सक्ने।
  • बैंक वा वित्तीय संस्था, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट प्रवर्द्धन गरिएको जलविद्युत उत्पादन तथा प्रसारण परियोजना जस्ता सीमित दायित्व भएको कम्पनीमा संस्थापक सेयर, हकप्रद सेयर र अग्राधिकार सेयरमा लगानी गर्न सकिने।
  • ट्रष्टका कार्यक्रम सञ्चालन गर्न तत्काल आवश्यक नभएको रकम प्रचलित कानून बमोजिमका 'क' वा 'ख' वर्गका बैङ्क वा वित्तीय संस्थामा ट्रष्टको नाममा मुद्दती निक्षेप वा दीर्घकालीन प्रकृतिका निक्षेप खाता खोली जम्मा गर्ने सक्ने।
  • नेपाल राष्ट्र बैंकबाट जारी हुने विभिन्न ऋणपत्रमा लगानी गर्न र त्यस्ता ऋणपत्रहरू खरिद वा बिक्री गर्न सक्ने।
  • म्युचुअल फन्ड तथा अन्य स्थिर सम्पत्तिमा लगानी गर्न सक्ने।
  • दोस्रो बजारको लगानी गर्न सक्ने।
  • हकप्रद सेयरमा समेत लगानी गर्न सक्ने तर यसका लागि सेयरको बजार मूल्य सो सेयरको अंकित मूल्यभन्दा कम्तीमा बीस प्रतिशतले बढी हुनु पर्ने।


प्रकाशित : मंगलबार, पुस २० २०७८०२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend