आइतबार, भदौ २३ गते २०८१    
images
images

एकदिन करेक्सन देखिएको सेयर बजारमा यो साता १४३ अंकको वृद्धि, मिल्ला मौद्रिक नीतिको साथ?

images
बिहीबार , साउन १० २०८१
images
images
एकदिन करेक्सन देखिएको सेयर बजारमा यो साता १४३ अंकको वृद्धि, मिल्ला मौद्रिक नीतिको साथ?
images
images

काठमाडौं- लगातार ३२२.९९ अंकको वृद्धि भएपछि बुधबार 'करेक्सन' देखिएको सेयर बजारमा बिहीबार पुन: वृद्धि देखिएको छ। समग्रमा बजारमा यो साता १४३.७७ अंकको वृद्धि देखिएको छ। 

images
images
images

बिहीबार ३२ अंकले बढेर सेयर बजार २५६८.११ बिन्दुमा पुगेको छ। १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। ९६ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार ६१.६१ अंकले बढेर सेयर बजार सोमबार २.१५ अंकले बढेको थियो। मंगलबार ७५.३३ अंकले बढेको बजार बुधबार २७.३२ अंकले घटेको थियो। 

नयाँ सरकार गठन भएसँगै लगानीकर्ता उत्साहित देखिँदा बजारमा लगातार वृद्धितर्फ नै देखिएको छ। लगानीकर्ताले विश्वास देखाउँदा कारोबार रकमसमेत उल्लेख्य भइरहँदा बुधबार करेक्सन देखिएको थियो। बिहीबार वृद्धितर्फ नै लागेको बजार आउने साता पनि वृद्धितर्फ नै लाग्ने विश्लेषकहरूले बताएका छन्।  

images

लामो समयदेखि १८०० देखि २२०० को बिन्दुबीच उतारचढावमा रहेको बजार अहिले निरन्तर अघि बढिरहेको छ। कुनै दिन करेक्सन देखिए पनि २७०० को बिन्दुसम्म बजारले उचाइतर्फकै गति लिने विश्लेषकहरूले बताइरहेका छन्।

अब मौद्रिक नीतिको समेत साथ मिलेमा बजारले नयाँ उचाइ भेट्ने विश्लेषकहरूको भनाइ छ। सरकारले सेयर बजारमा देखिएको वृद्धिलाई उत्साहका रुपमा व्यक्त गरिरहँदा मौद्रिक नीतिले पनि साथ दिने आशमा संगठित लगानीकर्ताहरू रहेका छन्।

नीतिगत रुपमा साथ मिलेमा बजार पुन: एकपटक नयाँ उच्च बिन्दुतर्फ बढ्ने विश्लेषकहरू बताउँछन्। सम्भवत: भोलि शुक्रबार आउने मौद्रिक नीतिले नै अबको बजार कता जान्छ भन्ने यकिन हुने उनीहरूको भनाइ छ। 

मिल्ला मौद्रिक नीतिको साथ?

सुरुमा सेयर बजार र घरजग्गा कारोबारमार्फत समग्र अर्थतन्त्रको मनोबल उकास्ने र अर्थतन्त्र चलायमान बनाउने दिशामा अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरिरहेका छन्। 

उपभोक्ताको हातमा पैसा पुर्‍याएर माग बढाउँदै विगत दुई वर्षदेखि ऋणात्मक भएको आयातलाई बढाउन सेयर बजारले महत्वपूर्ण भूमिका खेल्ने निचोडमा वर्तमान सरकार पुगेको हो। यसैले पनि मौद्रिक नीतिले सेयर बजारका लगानीकर्तालाई सुखद सन्देश दिने देखिन्छ। 

सेयर कर्जामा लगाएको १२ करोड र १५ करोडको सीमा हटाउने र सेयर कर्जाको जोखिमभार घटाउन प्रधानमन्त्री ओली स्वयंले राष्ट्र बैंक नेतृत्वसँग आग्रह गरेका छन्।

सेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई कडाइ गर्न आवश्यक नरहेको आशय प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट समेत बताइसकेका छन्।

कर्जाको सीमा हटाउँदै साना लगानीकर्ताको हित र संरक्षण गर्ने दिशामा आगामी मौद्रिक नीति केन्द्रित हुने देखिएको छ। सेयर बजारमा क्याप लगाउनुको सट्टा कुल कर्जाको २ देखि ३ प्रतिशतसम्म सेयर बजारमा लगानी गर्ने लक्ष्यसहित आगामी मौद्रिक नीति ल्याउने तयारी भएको राष्ट्र बैंक स्रोत बताउँछ।

गत जेठ मसान्तसम्म सेयर बजार ८७ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ। यो कुल कर्जा प्रवाहको तुलनामा १.६९ प्रतिशतमात्रै हो।

कुल कर्जाको १.६९ प्रतिशतले कर्जा सेयर बजारमा प्रवाह हुँदैमा यसले राष्ट्र बैंकको वित्तीय स्थायित्वमा खासै ठूलो असर पार्ने देखिँदैन।

अर्कोतर्फ सेयर बजार नियमन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) छुट्टै नियामक रहेकाले यसलाई राष्ट्र बैंकले हस्तक्षेप गर्न आवश्यक नरहेको भन्दै विज्ञहरूले दिएको सुझावमा सरकार सकारात्मक देखिएको छ।


प्रकाशित : बिहीबार , साउन १० २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend