बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

‘कुन मल कति मात्रामा प्रयोग गर्ने किसानलाई जानकारी छैन’

images
बिहीबार , साउन १० २०८१
images
‘कुन मल कति मात्रामा प्रयोग गर्ने किसानलाई जानकारी छैन’

'बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन। सल्लाह अनुसारमात्र गर्न आवश्यक छ।'

images
images

टीकापुर- कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन्। किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ।

images
images
images

टीकापुर-१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाएकी छिन्। धानबाली तङग्रिँदै गएकाले उनले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थालेकी छिन्। उनलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन। भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आएकी छिन्।

images
images

'मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमानले मल किनेर ल्याउनुभएको छ', उनले भनिन्, 'मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु। सके जति हाल्ने हो।' 

images
images

किसानले धानको उत्पादन बढाउन समयमै प्रांगारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन्। मलखाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ। 

किसानले अहिले धान खेतमा युरिया मल टप ड्रेसिङ (थप मलखाद छर्ने काम) गरिहेका छन्। धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन्।

प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फास्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरु टप ड्रेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन्। टप ड्रेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताए।

'कृषि विभागले अहिले स्थान विशेष मलखाद सिफारिस गरेको छ। स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ', चौधरीले भने, 'सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्रांगारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सुक्ष्म तत्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ।'

यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उनको सुझाव छ। किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप ड्रेसिङ अर्थात् थप मलका रुपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग किराको प्रकोप देखापर्ने जोखिम बढ्छ। कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका किराको प्रकोप बढेको अवस्था छ। यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखापर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउँछिन्।

'थप मल प्रयोग गर्दा बाली हर्लक्क बढ्छ। युरिया मल पाएका बेला धानका बोट नरम हुने भएकाले यो बेला गवारो किरा लाग्ने जोखिम रहन्छ', उनी भन्छिन्, 'मलखाद प्रयोग गरिरहेका बेला र पछि पनि बालीको नियमित अनुगमन आवश्यक हुन्छ। समयमै जानकारी पाएमा बाली जोगाउन सकिन्छ। बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन। सल्लाह अनुसारमात्र गर्न आवश्यक छ।' रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend