शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

गोरखाको अजिरकोटमा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

images
बिहीबार , साउन १० २०८१
images
images
गोरखाको अजिरकोटमा विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

स्वास्थ्य बीमा गराउन सबै वडामा एक-एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ।

images
images

गोरखा- गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ।

images
images

चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न थालनी गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।

images
images

'स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दलित तथा विपन्न घरपरिवारमा सहज स्वास्थ्य उपचार सेवा पुर्‍याउन पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने कार्यक्रम अगाडि बढाएको हो', उनले भने, 'यसबाट पालिकाभित्रका करिब ६ सय दलित तथा विपन्न घरपरिवार लाभान्वित हुनेछन्।'

images
images
images

स्वास्थ्य बीमा गराउन सबै वडामा एक-एकजना बीमा दर्ता सहयोग परिचालन गरिएको छ। गाउँपालिका-१ र २ मा निःशुल्क स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु भइसकेको र अन्य वडामा केही दिनभित्रै कार्यक्रम सुरु हुने उनको भनाइ छ।

गाउँपालिकाले दलित घरपरिवारमध्ये रोजगारीमा रहेका वा सार्वजनिक पद धारण गरेका व्यक्तिका परिवारले भने आफैले बीमाबापतको रकम बुझाएर अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ।

आर्थिक अवस्था कमजोर भएका एवं सामान्यदेखि जटिल स्वास्थ्य समस्यामा परेका समुदायका नागरिकहरुमा सहज स्वास्थ्य सुविधाको पहुँच विस्तार गर्न पालिकाले निःशुल्क बीमा कार्यक्रम ल्याएको हो।

गाउँपालिकाले संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य उपचारको मौलिक हक कार्यान्वयन गर्न निःशुल्क बीमा कार्यक्रमको थालनी गरेको अध्यक्ष देवकोटाले बताए।

'आफैले बीमा गर्न नसक्ने अवस्थामा रहेका सबै विपन्न तथा दलित घरपरिवारको गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिनेछ', उनले भने, 'यो कार्यक्रम पूर्णरुपमा कार्यान्वयन भएपछि आर्थिक अवस्था कमजोर भएका अजिरकोट गाउँपालिकाभित्रका कोही पनि दलित तथा विपन्न समुदायका नागरिकहरु अब स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन।'

गाउँपालिकाले निःशुल्क बीमा गरिदिन सुरु गरेपछि लक्षित समुदायका घरपरिवार पनि खुसी भएका छन्। विपन्न एवं दलित घरपरिवारलाई स्वास्थ्य निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउन गाउँपालिकाले मुटु फाउन्डेसनसँग पनि सहकार्य गरेको छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend