आइतबार, भदौ २३ गते २०८१    
images
images

नगरकोटको सीमा समस्या सुल्झाउन जुटे चार स्थानीय तह

images
बुधबार, साउन ९ २०८१
images
images
नगरकोटको सीमा समस्या सुल्झाउन जुटे चार स्थानीय तह

नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाको संगमस्थल हो।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा वर्षौँदेखिको सीमांकन समस्या समाधा गर्न चार नगरका जनप्रतिनिधिले छलफललाई तीव्रता दिएका छन्। उनीहरुले केही महिनामै उक्त समस्या सुल्झाउने तयारी गरिरहेका छन्।

images
images
images

यसअघि चार नगरका जनप्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित ‘सीमा समस्या समाधान’ समिति गठन गरिएको थियो। गठित समितिले अनुगमन निरीक्षण गरी सीमांकन समस्या समाधानका उपाय र विकल्पबारे प्रतिवेदन बुझाएपछि छिट्टै समस्या सुल्झाउने तयारीमा लागेको जनाएका छन्।

समितिले बुझाएको प्रतिवेदनको आधारमा सीमा समस्या सुल्झाउन चार नगरका जनप्रतिनिधिले तीनपटक संयुक्त छलफल गरिसकेको काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले बताए।

उनका अनुसार तीन महिनाभित्र सीमा समस्या समाधान गर्न चारै नगरका जनप्रतिनिधिले तयारी गरेका छन्। नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा तथा भक्तपुरको चाँगुनारायण र शङ्खरापुर नगरपालिकाको संगमस्थल हो।

images

नापी विभागका नापी अधिकृत डिल्लीप्रसाद दाहालको संयोजकत्वमा चारै नगरका वडाअध्यक्षलगायत जनप्रतिनिधि तथा काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाका नापी कार्यालय प्रमुख एवं प्रतिनिधि, सम्बन्धित स्थानीय तहका नापी शाखा प्रमुख तथा प्राविधिक सम्मिलित समिति गठन गरिएको थियो। वाइबाका अनुसार समितिले सीमा समस्या समाधानका उपाय र विकल्पलाई आधार मानी तयारी थालिएको छ।

समितिले समाधानको विकल्पमा विसं २०१७/१८ मा गरिएको नापीलाई आधार मान्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको वाइबाले बताए। 'हामी समितिको प्रतिवेदनकै आधारमा समस्या समाधन गर्ने तयारीमा लागेको हौँ, दुईदेखि तीन महिनासम्ममा समाधानतर्फ लाग्नेछौँ',उनले भने।

समस्या समाधानका लागि मण्डनदेउपुर नगरका प्रमुख वाइबा, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, शङ्खरापुरका नगर प्रमुख रमेश नापित र चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीले छलफललाई तीव्रता दिएका छन्। यसअघि नगरकोटमा ‘पानी ढलो’का रुपमा काभ्रेपलाञ्चोक र भक्तपुर पर्ने बताइँदै आइएको थियो। 

नगरकोटका ठूला होटलले सार्वजनिक जग्गा हडपेर भवन बनाएर होटल सञ्चालन गरेको विषयमासमेत विवाद हुँदै आएकाले सबै समस्या समाधान गर्ने र त्यस स्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले दुई वर्षअघि चाँगुनारायणका नगर प्रमुख खत्री र मण्डनदेउपुरका नगर प्रमुख वाइबासहितको टोलीबीच सहमति भएको थियो।

विसं २०७९ पुसमा भएको सहमतिमा नगरकोटको सीमांकन गर्ने, सार्वजनिक जग्गा पहिचान गर्दै संरक्षण गर्ने र यस स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्णय गर्दै गुरुयोजना निर्माण गर्न दुवै नगरले १०-१० लाख बजेटसमेत विनियोजन गरेका थिए। नगरकोटको जमिन होटल रिसोर्ट तथा अन्य व्यक्तिले मिचेको विषयमा दुई नगरले नापी कार्यालयको सहयोगमा आन्तरिक अनुमगन निरीक्षण गरिरहेको वाइबाले बताए। उनका अनुसार पहिला दुई जिल्लाको सीमा समस्या समाधान गरेपछि आ-आफ्नो जिल्लाको नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा जमिन हडपेको विषय खोजी गर्ने सहमति भएको छ।

यसअघि नगरकोटको पर्यटन विकासका लागि दुवै जिल्लाका सिमाना जोडिएका नगरले सार्जवनिक जग्गा दुरुपयोगबारे संयुक्त बजेट लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। लामो समयदेखि सिमानामा रहेको सार्वजनिक जग्गा दुरुपयोग हुनाका साथै पर्यटन शुल्कमासमेत भक्तपुरको चाँगुनारायण नगर र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरबीचको विवाद समाधान गरिएको थियो।

भक्तपुरस्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको प्रतिवेदन अनुसार नगरकोटमा सञ्चालित होटलमध्ये वन तथा सार्वजनिक जग्गा क्लब हिमालय होटलले १३ रोपनी  अतिक्रमण गरिएको जनाइएको छ। त्यसैगरी द फोर्टले पाँच रोपनी, रूपेस माउन्टेनले एक रोपनी, होटल भ्यू प्वाइन्टले दुई रोपनी र मधुवन होटलले एक रोपनी जग्गा अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ। लस्ट होराइजन, घर छाप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतले जग्गा अतिक्रमण गरेको जनाइएको छ।

नगरकोट काठमाडौं उपत्यका नजिक ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित प्रसिद्ध रमणीयस्थल हो। समुद्री सतहदेखि दुई हजार ७५ मिटर उचाइमा नगरकोटबाट धौलागिरि हिमशृङ्खलादेखि कञ्चनजंघा हिमशृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमालका साथै सर्वोच्च शिखर सगरमाथाको दृश्य हेर्न सकिन्छ। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend